गोरखापत्र समाचारदाता
काठमाडौँ, माघ १८ गते । आर्यघाट ताम्रगङ्गा छेउमा थप एक विद्युतीय शवदाह यन्त्र जडान हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले जडान गर्न दुई करोड ५१ लाख रुपियाँ निकासा गरिसकेको छ । हाल घाटमा दुई यन्त्र
चालू छन् ।
वि. सं. २०७२ माघ १० गते यी दुई यन्त्र चालू गरिएको थियो । शवदाहका लागि चाप बढ्दै गएको र यन्त्रतर्फ आकर्षणसमेत बढेपछि यो थप यन्त्र जडान हुन लागेको हो ।
यन्त्रमा शव जलाउन नभ्याइएपछि परम्परागत दाउरा बालिने ११ चितामा पनि त्यत्तिकै शवदाह हुँदै आएका छन् । शवदाह गृहका प्रशासकीय अधिकृत कुमार थापामगरका अनुसार दुई यन्त्र चालू भएयता हालसम्म १८ हजार शव यन्त्रबाट दहन भएका छन् । शवको चाप अनुसार यन्त्रलाई आलोपालो गरेर चलाउँदा पोस्टमार्टम गरिएका शवलाई सवा घण्टा, मोटा जिउ भएकालाई एक घण्टा र सालाखालाका लागि ४५ मिनेटमा शवदाह गर्न समय लाग्ने गरेको छ ।
शवदाह गर्न पालो कुर्नुपर्ने भएकाले पनि थप यन्त्र जडान हुन लागेको थापामगर बताउनुहुन्छ । परम्पराको चितामा शवदाह गर्ने मजदुर नाइके चन्द्र ढकालका अनुसार परम्पराका ११ चितामा पनि उत्तिकै शव दहन हुँदै आएका छन् । जाडोयाममा दैनिक सरदर ३५ शव दाउराबाट जलाइने गरिएको छ । यन्त्रले थेग्न नसकेपछि शव दाउरातर्फ ल्याइने गरिएको छ ।
विद्युतीय शवदाह यन्त्रमा ल्याइएका शवबाट हालसम्म सङ्कलन भएका एक हजार १६० नानी दृष्टिविहीनमा प्रत्यारोपण गरिएको तीलगङ्गा आँखा केन्द्रका नानी सङ्कलक परामर्शदाता सुन्दर महतले जानकारी दिनुभएको छ ।
यन्त्रतर्फबाट महिनामा सालाखाला ३० नानी सङ्कलन भइरहेका छन् । परम्परागत चितामा ल्याइएका शवका मलामीभन्दा यन्त्रतर्फ ल्याइएका शवका मलामी आफन्तका नानी दान गर्नुपर्छ भन्ने भावबाट प्रेरित रहेको पाइएको महत बताउनुहुन्छ । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापाले वाग्मती आर्यघाटको स्वच्छ र स्वस्थ वातावरणका लागि पनि यन्त्र थपको योजना पारित भएको जानकारी दिनुभयो । उहाँका अनुसार यन्त्र छिट्टै जडान हुन्छ ।