logo
२०८१ मंसिर १४ शुक्रवार



खीरबाजे शेरबहादुरको जाँगर उस्तै

खुला |


खीरबाजे शेरबहादुरको जाँगर उस्तै


हिक्मत सिंह

डडेल्धुरा, माघ २० गते । अपराध कर्ममा नाम मिल्दा धेरैले अनेकौँ दुःखपीडा खेप्नुपर्छ तर डडेल्धुरामा दुई जना शेरबहादुर देउवा हुँदा भने रमाइलो भएको छ ।
डडेल्धुराका ६८ वर्षीय शेरबहादुर देउवा जिल्ला र गाउँठाउँमा खीरबाजेको नामले प्रख्यात हुनुहुन्छ । तर उहाँको नाम पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग मिल्दा उहाँकहाँ खीर खान पुग्नेका लागि रमाइलो प्रसङ्ग बन्ने गरेको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१, साहुँखर्कका शेरबहादुर देउवाले धनगढी–डडेल्धुरा, भीमदत्त राजमार्ग छेउमा एउटा सानो कटेरोमा खीरको व्यापार गर्दै आउनुभएको छ । ३१ वर्षदेखि खीरको व्यापारमा निरन्तर लागेको उहाँ बताउनुहुन्छ । उहाँको आफ्नै घरमा अहिले १० वटा गड्डी भैँसी छन् । आफ्नै घरका भैँसी र पूरै गाउँका भैँसीको दूध सङ्कलन गरेर खीर पकाउने गरेको देउवाले बताउनुभयो ।
उमेरले ६८ वर्ष पुगे पनि खीरबाजेको जोशजाँगर घटेको छैन । “काम गर्न उमेरले छेक्दैन भन्ने उहाँबाट सिक्नुपर्छ”, खीर खाँदै गर्दा भेटिनुभएका कैलालीका दीर्घ जोशीको भनाइ छ ।
०० काँग्रेस सभापति देउवा गोठाले साथी
भीमदत्त राजमार्ग किनारमा रहेको पसलमा दैनिक खीर पकाउने र बेच्ने उहाँको दैनिकी नै बनेको छ । पूर्वप्रधानमन्त्री देउवा उहाँको बालसखा पनि हुनुहुन्छ । देउवासँग गाउँमा बाल्यकालमा सँगै गोठालो जाने गरेको पनि उहाँ स्मरण गर्नुहुन्छ ।
सभापति देउवा गाउँ छाडेर काठमाडौँ गएपछि आफू पनि तराई झरेको तर तराईमा बस्ने घर ऐलानीमा परेपछि पुनः पहाड उक्लिएर सडकको किनारमै तीनवटा भैँसी पाली खीर बेच्ने काम सुरु गरेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “पूर्वप्रधानमन्त्री देउवा पनि डडेल्धुरा आउँदा मेरो पसलमा छिरेर खीर खाएरै जानुहुन्छ । ”
सेतो कपाल, झुस्स दाह्री र गाला चाउरी परेका देउवाले चिया र खीर बनाउन दैनिक ७० लिटर दूध खपत गर्दै आउनुभएको छ । खीरको आम्दानीले दुई छोरा, बुहारी र नातिनातिना गरी १० जनाको परिवार पालेको उहाँले बताउनुभयो ।
बाजेको खीर पसल रातदिन खुला रहन्छ । बाजेको पसलमा धनगढी–डडेल्धुरा, भीमदत्त राजमार्गमा हिँड्ने सैयाँै गाडीका यात्रु नै ग्राहक हुने गर्छन् । रातिको यात्रा गर्नेले पनि खीर र चियाको स्वाद लिन पाउँछन् । खीर खान पुग्नेहरू उहाँको नाम सुन्नेबित्तिकै पहिला धीत मरुन्जेल हाँस्छन् अनि थप कुरा कोट्याउँदै खीर खाने गर्छन् । उहाँद्वारा सिकेर उहाँको पसल वरपर धेरैले खीर पसल खोलेका छन् तर उहाँकैमा खीर खानेको भीड देखिने गरेको छ । खीर पसलमा अहिले घरपरिवारको सहयोग त छँदै छ, थप विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले दूधका नयाँ परिकार बनाउनेदेखि आधुनिक रूपमा गड्डी भैँसी पालनमा सहयोग गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र डडेल्धुराका प्रमुख खडक शाहले बताउनुभयो । बाजे खीरसँगै मिठाई र घिउ पनि बेच्नुहुन्छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?