गाईघाट समाचारदाता
गाईघाट, माघ २४ गते । उदयपुरको त्रियुगा नगरपालिकाले बहुद्देश्यीय त्रियुगा औद्योगिक ग्राम निर्माण सुरु गरेको छ । नगरपालिकाले वडा नं. १२ स्थित बिसनपुरमा करिब ७० बिघा क्षेत्रफलमा सौर्य ऊर्जा, कृषि अनुसन्धान केन्द्र, आधुनिक प्रशोधनसहितको फोहोरमैला व्यवस्थापन र साना तथा लघुउद्यम विकासका लागि औद्योगिक ग्राम निर्माण सुरु गरेको हो ।
नगरप्रमुख बलदेव चौधरीले औद्योगिक ग्राममा अस्पताल, विद्यालय, खेलमैदान, खानेपानी सुविधासहितका संरचना निर्माण गरिने बताउनुभयो । उहाँले गाईघाट बजार तथा तरकारी बजारबाट उत्पादित फोहोरलाई आधुनिक तरिकाले मल तथा अन्य उपयोगी वस्तु उत्पादन गर्ने गरी योजना तर्जुमा गरिएको बताउनुभयो ।
नगरपालिकाले त्रियुगा सभ्यता र विकासको अभियानअन्तर्गत त्रियुगा कोरिडोर निर्माण गरिने र त्यसका लागि त्रियुगा नदी नियन्त्रणमा मात्रै छ अर्ब ८४ करोडको डीपीआर तयार गरी काम प्रारम्भ गरिएको र औद्योगिक ग्रामको चारैतर्फ तत्कालका लागि जस्तापाताले घेराबेरा गरेर काम गर्न सुरु गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो ।
औद्योगिक ग्राममा बिसनपुरवासीलाई अवसरको पहिलो प्राथमिकता राखेर रोजगारी दिइने र विकासको अभियान सञ्चालन गर्दा स्थानीयवासीसँग सहकार्य र समन्वय गरेर काम गर्ने परिपाटी बसालिएकाले स्थानीय बासिन्दाले चिन्ता गर्नु नपर्ने भन्दै चौधरीले औद्योगिक ग्रामको नाममा बिसनपुरको कोही पनि विस्थापन हुन नपर्ने र हरेक घरलाई रोजगारीको ग्यारेन्टी गरिने बताउनुभयो ।