मुकुन्द गैरे
काठमाडौं, माघ २४ गते । इपिएस प्रणालीबाट रोजगारीको लागि दक्षिण कोरिया गएका नेपाली कामदारले अत्याधिक मात्रामा आत्महत्या गरेर ज्यान गुमाउँदै गएको पाईएको छ ।
वैदेशिक रोजगार विभागले प्रकाशन गरेको आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक प्रतिवेदनमा कालगति, सडक, कार्यस्थल दुर्घटना भन्दा आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या धेरै बढेको एक तथ्याङ्कले देखाएको हो ।
विभागको तथ्याङ्क अनुसार इपिएस प्रणालीबाट वि.सं.२००८ देखि २०१९ सम्म ६५ हजार ८४५ जना नेपाली रोजगारीमा गएकोमा १०५ जनाले ज्यान गुमाइसकेका छन् ।
तथ्याङ्का आधारमा मृत्युको कारण नखुलेको संख्या ३४, सुतेको अवस्थामा २५ र आत्महत्या गरेर मर्नेको संख्या २० रहेको छ । त्यसैगरी, कालगतिले मृत्यु भएको संख्या तीत छभने सडक दुर्घटनामा आठ र कार्यस्थलमा ज्यान गुमाउनेको संख्या १३ जना रहेका छन् ।
कोरियामा आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या बढ्ने क्रम रहेको वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताउनुहुँदै यस विषयमा बोर्डले सम्बन्धित निकायसँग छलफल गरेर अनुसन्धान गरिरहेको स्पष्ट पार्नुभयो ।
आत्महत्या गरेर मर्ने घटना कोरियामा जटिल समस्या बन्दै गएको बताउँदै उहाँले यसबारे अध्ययन गरेर चाँडै कारण पत्ता लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
कोरियास्थित नेपाली दुतावाससँग यस बिषयमा कुरा गर्दा सामाजिक लगायत विभिन्न कारण बताइए पनि एकिनका साथ भन्ने अवस्थामा नरहेको बताउँदै यो समस्या अनुसन्धानको विषय भएको उहाँ बताउनुहुन्छ ।
कमाईको हिसाबले दक्षिण कोरिया आकर्षक गन्तव्यका रुपमा मानिए पनि मानसिक तनाव, कामको चाप, डिप्रेसनको अवस्थाका कारण आत्महत्या हुने गरेको मनोविश्लेषकहरु बताउँछन् । दक्षिण कोरियाले भाषा परीक्षा उत्तीर्ण पछि नेपाली श्रमिकलाई कृषि र औद्योगिक क्षेत्रमा रोजगारीका लागि लाने गरेको छ ।
खाडी मुलुकमा कम पारिश्रमिकमा धेरै काम गर्नुपर्ने वाध्यता भन्दा कोरियामा श्रम अनुसारको पारिश्रमिक राम्रो हुने भएकाले कोरिया नेपाली कामदारको पहिलो रोजाईमा पर्दै आएको छ ।
यता, वैदेशिक रोजगार विज्ञ मधुविलास पण्डितका अनुसार कोरियामा धेरै पढेका नेपाली कामदारले सामान्य पढेकासँग एउटै स्तरको काम गर्नुपर्दा धेरै पढेका कामदारलाई डिप्रेसन भएर आत्महत्या हुने एउटा कारण भएको छ ।
उहाँले वैदेशिक रोजगारीमा जानुअघि जाने देशको कामलगायत सबै पक्ष बुझेर मात्र जान उहाँको सुझाव रहेको छ ।
त्यसैगरी, वैदेशिक रोजगार विज्ञ डा. गणेश गुरुङले कोरियामा नेपालीले आत्महत्या गरेको विषयमा एक वर्ष अघि एउटा गोष्ठी समेत भएको जानकारी दिनुभयो ।
अरु देशको तुलनामा कोरियाका नागरिकले पनि आत्महत्या गर्ने गरेको बताउनुहुँदै त्यहाँका नागरिकको देखासिकी र वातावरणका कारणले नेपालीले आत्महत्या गरेको हुनसक्ने उहाँ अनुमान गर्नुहुन्छ ।
रोजगारीको लागि अन्य मुलुकबाट त्यहाँ गएका कामदारले गर्ने आत्महत्यालाई समयसापेक्ष तुलनात्मक अध्ययन गरेर पनि कारण पत्ता लगाउनसक्ने उहाँको विश्वास रहेको छ ।
यस बारेमा विस्तृत अनुसन्धान गर्न जरुरी रहेको बताउँदै उहाँले कोरियामा रहेको नेपाल राजदुतावासले विभिन्न परामर्श सम्बन्धि अभिमुखिकरण कार्यक्रम गर्नुपर्नेमा जोड दिनुभयो ।