गोकर्ण दयाल
बैतडी, माघ २५ गते । राजनेता तथा तत्कालीन प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र तत्कालीन राजा महेन्द्रले मन पराएका व्यक्तित्व कृष्णलाल (किशनलाल) लेखकले २०१८ सालमा बैतडी जिल्ला सदरमुकाममा खानेपानी पु¥याउनुभयो । सदरमुकामबासीले उतिबेला उहाँको जयजयकार गरेका थिए रे । तर यतिबेला उहाँको परिवारकै घरमा खानेपानीको धारो छैन । लेखकको निधनपछि उहाँकी विधवा पत्नी चरम गरिबी र आर्थिक अभावमा जीवनका अन्तिम क्षण गुजारिरहनुभएको छ ।
कृष्णलाल लेखकको मृत्यु भएको ५४ वर्ष भइसक्यो तर उहाँको मृत्युको अभिलेख नेपाली काँग्रेससित छैन । उहाँको सम्झनामा अहिलेसम्म कतै वार्षिकी मनाउने वा कार्यक्रम गर्ने गरिएको छैन । तर पनि किशनलाल बैतडीबासीका मन–मस्तिष्कमा रहिरहेको नाम हो ।
किशनलाल खोज्दै गोरखापत्रकर्मी २०७६ माघ १७ गते उहाँको घर बैतडीको दशरथचन्द नगरपालिका–५, मल्लीआइत पुग्दा उहाँका ९० वर्षीया र ७० वर्षीया दुईवटी श्रीमती भेटिनुभयो । ९० वर्षीय जेठी श्रीमती पद्मा लेखक र ७० वर्षीय तारा लेखक आँगनमा टोलाइरहनुभएको थियो । उहाँहरूका छोराछोरी छैनन् । जेठी श्रीमतीको मानसिक सन्तुलन बिग्रिएको छ । बिरामी पर्दा छिमेकमा रहेका भतिजो नाता पर्ने जनकराज लेखकले हेरचाह गर्दै आउनुभएको छ ।
आफू पनि विभिन्न रोगको उचार गराइरहेको बताउँदै जनकराजले अरू सहयोग गर्न नसके पनि आफ्नो घरको धाराबाट पानी भर्न दिएको बताउनुहुन्छ । खानेपानी त उहाँहरू कुवाबाटै भरेर खानुहुन्छ तर घरायसी सरसफाइ गर्न नजिकै पानीको धारा नभएकाले मैले पानी दिने गरेको छु, जनकराजले भन्नुभयो ।
किशनलालका बारेमा जान्न खोज्दा उहाँकी कान्छी श्रीमती तारा लेखक भन्नुहुन्छ– “बीपी कोइराला २०१३ सालतिर बैतडी आउँदा किशनलालकै अगुवाइमा पार्टीको सङ्गठन विस्तार भएको हो । कोइराला बैतडी आउँदा उहाँलाई नै खोज्नुहुन्थ्यो । पछि राजा महेन्द्र आउँदा पनि किशनलालकै खोजी हुन्थ्यो । २०२२ साल असोज ९ गते किशनलालको टिबी रोग लागेर काठमाडौंँको वीर अस्पतालमा मृत्यु भयो । अब त उहाँको सम्झना गर्ने कोही छैन । हाम्रो बारेमा पनि कसैले खोजी गरेको छैन ।”
किशनलालको मृत्युपछि तत्कालीन राजा महेन्द्रले त्यो बेला दुई हजार रुपियाँ सहयोगस्वरूप पठाएको तारा लेखक सम्झिनुहुन्छ । त्यसपछि तत्कालीन राजा वीरेन्द्र सुर्खेत आउँदा पनि थप दुई हजार रुपियाँ पठाएको उहाँलाई सम्झना छ ।
“बाँचुन्जेल सधैँ चमेलियामा पुल, बैतडी सदरमुकाममा हाइस्कुल, बैङ्क र खानेपानी हुनुपर्छ भन्नुहुन्थ्यो । खानेपानी पनि आयो तर पहिले अरूलाई पानी खुवाउनुपर्छ भनेर त्यो बेला आफ्नो घरमा खानेपानीको धारा जोडिएन’, श्रीमान्को सम्झना गर्दै उहाँकी धर्मपत्नी तारा लेखक अगाडि भन्नुहुन्छ– ‘उहाँ बितेको पनि यतिका वर्ष भइसक्यो । अहिले बैतडी सदरमुकाममा अरू सबैका घरमा खानेपानीका धारा भए पनि हाम्रो घरमा धारा छैन । हिँडेरै कुवाबाट पानी बोकेर खाने गरेका छौंँ ।’
बीपी कोइराला बैतडी आउँदा किशनलाल ज्यान दिएर नेपाली काँग्रेसको सङ्गठन बनाउन लाग्नुभएको थियो । काँग्रेसले किशनलालको मृत्युको अभिलेखसमेत नराखे पनि बीपी कोइराला बैतडी आउँदा किशनलालले सङ्गठन विस्तार गरेको त्यो बेलाको अभिलेख भने गोरखापत्रले फेला पारेको छ ।
बीपी कोइराला बैतडी आउँदा नेपाली काँग्रेसको सङ्गठन निर्माणमा लेखकले बैतडी जिल्लाका गाउँगाउँमा नेपाली काँग्रेसका उपशाखा गठन गरेको समाचार अभिलेखमा भेटिएको छ ।
२०१५ सालमा जननिर्वाचित सरकार अपदस्थ गरेर तत्कालीन राजा महेन्द्रले २०१७ सालमा एक दलीय पञ्चायती व्यवस्था प्रारम्भ गरेपछि २०१८ सालमा बैतडी भ्रमणमा आउँदा जननिर्वाचित सरकार अपदस्थसँगै जनताले चाहेका विकास अवरुद्ध भएको कुरा किशनलालले भाषण गर्नुभएको थियो । राजा महेन्द्र उपस्थित भएको कार्यक्रममै भाषणमा किशनलालले बैतडी सदरमुकाममा खानेपानी नभएको, बैङ्क नभएको, चमेलिया नदीमा पुल नभएको र हाइस्कुल नभएको र प्रजातन्त्र अपहरण भएको कुरा राखेपछि किशनलाल लेखकबाट महेन्द्र प्रभावित बन्नुभएको उहाँका धर्मपत्नीको भनाइ छ ।
किशनलालको भाषण सुनेपछि राजा महेन्द्रले बैतडी सदरमुकाममा खानेपानी, बैङ्क, हाइस्कुल र चमेलिया नदीमा पुल हाल्ने प्रतिबद्धता गरेअनुसार सोही वर्ष बैतडीबासीको माग पूरा भएको बैतडीका पुराना समाजसेवी पुष्पराज लेखक बताउनुहुन्छ ।
किशनलालको समाज सेवाप्रतिको मोह देखेर राजा महेन्द्रले २०२१ सालमा लेखकलाई राष्ट्रिय पञ्चायत सदस्यमा मनोनित गरेका थिए । दुई पटक राजनीतिक लाभको पदमा पुगे पनि किशनलालले अन्य सुविधाको त कुरै भएन, आफ्नो घरमा निजी धारोसमेत जोड्नु भएन ।
बैतडी, दशरथचन्द नगरपालिका–४ का ७८ वर्षीय वीरबहादुर चन्द किशनलाल लेखक एक निस्वार्थ आदर्शवादी व्यक्ति भएको बताउनुहुन्छ । किशनलाल नभएको भए २०१८ सालमा बैतडी सदरमुकाममा खानेपानीको योजना नै आउने थिएन भन्नुहुन्छ चन्द ।
नेता किशनलाल कति आदर्शवादी नेता हुनुहुन्थ्यो भन्ने कुरा सरकारी सेवाबाट निवृत्त हुनुभएका बैतडीका ७७ वर्षीय पुष्पराज लेखक रोचक सन्दर्भ सुनाउनुहुन्छ ।
किशनलालका बारेमा पुष्पराज भन्नुहुन्छ– “२०२१ सालमा दूरसञ्चारमा नोकरीका लागि मेरो नाम निस्क्यो । तालिम गर्न धनगढी जानुपर्ने थियो तर खर्च थिएन । मेरै गाउँका एक कर्मचारीले घर भत्केको निवेदन दिएपछि सरकारले तीन सय रुपियाँ दिन्छ । वडाहामिकसित गएर निवेदन गर भने । पैसा पाउने लोभमा मैले बडाहाकिमकहाँ निवेदन दिएँ । बडाहाकिमले माननीय किशनलाल लेखकको सिफारिस बनाएर ल्याउन भने ।’ सिफारिस माग्न किशनलाल लेखककहाँ जाँदाको स्मरण गर्दै पुष्पराजले अगाडि भन्नुभयो, घर भत्केको सिफारिस गरिदिन किशनलाल लेखकलाई के भनेको थिएँ, उहाँले मेरो सातोपुत्लो जानेगरी हकार्नुभयो– ‘तिमी नोकरी नखाँदै यस्तो गलत काम गर्ने ? त्यो पनि मकहाँ आएर सिफासिर माग्ने ? म त्यस्तो मान्छे हो ?’ उहाँले त्यसो भनेपछि मैले त्यो निवेदन त्यहीँ च्यातेर ऋण निकालेर तालिम लिन धनगढीतिर लागेँ ।
किशनलालको जस्तो राजनीतिक आदर्श र नैतिकता अहिले कोही समाजसेवीमा पाउन मुस्किल पर्ने नागरिक समाज बैतडीका अगुवा प्रकाश चन्द बताउनुहुन्छ । २०२१ सालमा राजा महेन्द्रले किशनलाललाई राष्ट्रिय पञ्चायतमा मनोनित गरेपछि नेपाली काँग्रेसले उहाँको योगदानलाई बिर्सेर राजासँग मिलेको आरोप लगाए पनि किशनलालले नेपाली काँग्रेस गठन गर्दा गरेको सङ्घर्षको राजनीतिक दस्तावेज हेर्दा भने उहाँ समाजवादी र उच्च नैतिकवान् व्यक्ति भएको पुष्टि हुने चन्द बताउनुहुन्छ ।
बीपी र राजा महेन्द्र दुवैले मनपराएको व्यक्ति चानचुने त पक्कै पनि थिएनन् होला तर किशनलालको योगदानलाई नेपाली काँग्रेसले भुलेको नागरिक अगुवा चन्दको बुझाइ छ । किशनलालका बारेमा उहाँकी धर्मपत्नी तारा लेखकले मर्नुअघि बैतडीमा आँखा अस्पताल बनाउन जग्गा दान गर्नुभयो । जग्गा दान गरे पनि अस्पताल बनाउन ढिलो भएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।