वसन्त पराजुली
मुग्लिन (चितवन), माघ २९ गते । नारायणगढ– मुग्लिन सडक पुनःनिर्माण भई हस्तान्तरण गरिएको एक वर्ष नहुँदै भासिन थालेको छ । राजमार्गको सत्र किलो भन्ने ठाउँमा ४० मिटर र छब्बिस किलो भन्ने ठाउँमा ७० मिटर सडक भासिएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिवप्रसाद खनालले बताउनुभयो । अन्य केही ठाउँमा पनि सडकको छेउबाट भासिनेक्रम जारी छ ।
“सिङ्गो सडक नै चिरिएर भासिएको छ”, उहाँले गोरखापत्रसँग भन्नुभयो, “सडक भासिएको ठाउँमा एकोहोरो सवारी सञ्चालन गरेर यातायातका चलाइरहेका छौँ । जसका कारण नारायणगढ– मुग्लिन सडकमा अहिले दैनिक ट्राफिक जामको समस्या भोग्नुपरेको छ ।”
सन् २०१५ को अप्रिलमा सम्झौता भई पुनःनिर्माणको काम सुरु भएको उक्त सडकमा दुई लेनको विस्तार गरी तीन चरणमा हस्तान्तरण गरिएको थियो । २०१९ जुन १० देखि पछिल्लो पटक २०१९ अगस्ट ९ सम्म निर्माण गरी हस्तान्तरण गरिएको नारायणगढ–मुग्लिन सडकको ३६ किलोमिटर दूरी पुनःनिर्माणका लागि विश्व बैङ्कले तीन अर्ब ३६ करोड रुपियाँ खर्च गरेको छ तर अहिले सडक ठाउँठाउँमा भासिन थालेपछि यसको कारण पहिचान गर्न जरुरी रहेको
प्राविधिक बताउँछन् ।
“२०६० सालमा आएको अविरल वर्षाका कारण नारायणगढ–मुग्लिन सडक भासिएको थियो । त्यो बेला बनाइएको सत्र किलोको स्ट्रक्चर वाललाई त्रिशूलीले कटान गर्दा अहिले बाटो चिरिएको हो”, इन्जिनियर खनालले भन्नुभयो, “कतिपय ठाउँमा त भौगोलिक समस्या पनि छ । छब्बिस किलोको हकमा १५ वर्ष अगाडि बनाएको त्रिशूलीदेखि भाँचिदा अहिले सडक चिरिएर भासिन पुग्यो ।” उहाँले पुनःनिर्माणका क्रममा सडकको संरचना कस्तो छ भन्ने अध्ययन नगर्दा अहिले छिट्टै समस्या भोग्नुपरेको बताउनुभयो ।
भासिएको सडक मर्मत सुधार र भाँचिएको एङ्गल वाल निर्माण गर्नु आवश्यक भए पनि सानो र अप्ठ्यारो ठाउँ भएकाले काम गर्न कठिन छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारी नारायणगढ–मुग्लिन सडकको पाँच ठाउँमा भासिएको वा भासिने जोखिम रहेकाले नियन्त्रण प्रयास सुरु गरिएको बताउनुहुन्छ ।
“नारायणगढ–मुग्लिन सडक पहिलेदेखि नै पहिरोको जोखिम भएको क्षेत्र रहेछ, अहिले पनि समस्या बढेको देखिन्छ”, उहाँले भन्नुभयो, “अहिले राजमार्ग नै भासिएका क्षेत्रमा एकोहोरो सडक सञ्चालन र चिरिएको भागलाई फालेर मर्मत सुधारको प्रक्रिया अगाडि बढाइएको छ ।”
पुल पनि जोखिममै !
नारायणगढ–मुग्लिन सडकका १५ वटा पुल निर्माणमा ढिलाइ हुँदा जोखिम बढेको छ । साँघुरा र रेलिङ भत्किएर जीर्ण बनेका पुलको मर्मत सुधार नहुँदा जोखिम बढेको हो । “एक हप्ताअघि मात्रै चिसेन्जी पुलको वालबाट मालबाहक ट्रक त्रिशूली किनारमा खस्यो”, इन्जिनियर खनालले भन्नुभयो ।
पुल निर्माणका लागि बजेट विनियोजन भए पनि निर्माण प्रक्रिया ढिला हुँदा राजमार्गका पुल जीर्ण र पुलका बार भत्किएका छन् । अहिले साँघुरा पुलमा बार डोरी, प्लास्टिक लगायतले बाँधेर राखिएको छ । नारायणगढ–मुग्लिन सडकमा १९ वटा पुल पुनःनिर्माण गर्नुपर्ने छ । जसमध्ये तीन वटाको पुनःनिर्माण गरिएको छ । जलवीरेको पुल निर्माण हुँदै छ, बाँकी १५ वटा पुल निर्माणका लागि अझै ठेकेदारसँग सम्झौता भएको छैन । सडक विभाग पुल महाशाखाका प्रमुख दीपक भट्टराई पुल निर्माणको काम प्रक्रियागत रूपमा अगाडि
बढिरहेको जनाउनुहुन्छ ।
“सुरुमा झन्झटिलो कानुनी प्रक्रियाका कारण समस्या भयो, यसलाई गत साउन ६ गतेको मन्त्रिपरिषद्को बैठकले सहज बनाइ दियो । अहिले ठेक्का प्रक्रियामा केही ढिलाइ भइरहेको छ”, महाशाखा प्रमुख भट्टराईले भन्नुभयो । व्यस्त राजमार्ग भएकाले यहाँका पुललाई ‘डिजाइन एन्ड बिल्ड’का आधारमा निर्माण गर्नुपर्ने र यो प्रक्रियाका लागि मन्त्रिपरिषद्को निर्णय कुर्दा ढिला भएको बताइन्छ । मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै ‘डिजाइन एन्ड बिल्ड’का आधारमा पुल निर्माणको ठेक्का फागुन १५ भित्रै लाग्ने उहाँले जनाउनुभयो ।
सडकमा रहेका जीर्ण पुलहरू निर्माण गर्न विश्व बैङ्कबाट करिब दुई अर्ब २० करोड रुपियाँ प्राप्त भए पनि पुल निर्माणका लागि प्रक्रियागत रूपमा अगाडि बढ्न सकेको थिएन । अब बढ्दो महँगीसँगै उक्त रकमले पुल निर्माण गर्न नपुग्ने भएपछि पुनः मूल्याङ्कन गर्ने योजनामा पुल महाशाखा छ ।