लुम्बिनी समाचारदाता
बुटवल, फागुन २ गते । गोरखापत्र संस्थानको कोहलपुर प्रकाशन सम्बन्धमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग संस्थानको नेतृत्वले भेटघाट गरेको छ ।
बिहीबार बुटवलस्थित उहाँको निवासमा भएको भेटघाटमा मुख्यमन्त्री पोखरेलले मोफसलमा प्रकाशन विस्तार गरेर गोरखापत्र संस्थानले प्रशंसनीय काम गरेको बताउनुभयो । संस्थानका प्रकाशनहरूमा पहिलेभन्दा धेरै कुरामा सुधार आएको चर्चा गर्दै उहाँले अबका दिनमा पत्रिकाले प्रादेशिक विशेषताका सामग्रीलाई प्राथमिकता दिने आशा व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले भाषाको मानक रहेको गोरखापत्र तथ्यको पनि मानक हुने विश्वास व्यक्त गर्दैै प्रादेशिक प्रकाशनलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
प्रदेश ५ सहित तीनवटा प्रदेशका लागि बिहीबारबाट बाँकेको कोहलपुरबाट गोरखापत्र दैनिक र यसको सहप्रकाशन दि राइजिङ नेपालको परीक्षण संस्करण सुरु भएको छ । प्रकाशनको औपचारिक सुरुवात भने फागुन ७ गते हुने छ ।
संस्थानले गत असोज ३ गतेदेखि नै प्रदेश १ र २ लाई लक्षित गरेर विराटनगर संस्करण सुरु गरिसकेको छ ।