logo
२०७९ श्रावण २५ बुधवार



काँग्रेस निर्माणमा युवाशक्ति

महाधिवेशनको परिणाम युवामय हुने आधार देखिएको छ

विचार/दृष्टिकोण |


काँग्रेस निर्माणमा युवाशक्ति


धर्मेन्द्र झा
नेपाली काँग्रेस चौधौँ महाधिवेशनको प्रक्रियामा आजदेखि औपचारिक रूपमा होमिएको छ । पार्टीको विधानअनुसारको वडा समितिको अधिवेशन आजबाट आरम्भ भएको छ । यसपछि क्रमशः गाउँ/नगर, क्षेत्र, जिल्ला, प्रदेशको अधिवेशन हुँदै अन्त्यमा मङ्सिर ९ देखि १३ गतेसम्म केन्द्रको महाधिवेशन हुने कार्यतालिका तय गरिएको छ ।
यस पटकको महाधिवेशन धेरै कारणले महत्त्वपूर्ण हुने देखिन्छ । नेतृत्वमा को पुग्छ, त्यो अर्थपूर्ण हुन्छ नै तर सबैभन्दा महìवपूर्ण कुरो त के भने, यो महाधिवेशनका माध्यमबाट काँग्रेसको पुनर्संरचनाको पक्षमा आवश्यक वातावरणको निर्माण हुनसक्ने विश्वास पनि हो । धेरैले अपेक्षा गरेको कुरा हो, काँगे्रसमा परिवर्तन हुन्छ । तर कुन रूपमा ? सकारात्मक वा नकारात्मक, त्यसको भविष्यवाणी अहिले नै गर्न त सकिँदैन तर केही अनुमान भने निश्चय पनि गर्न सकिन्छ । काँग्रेसमा परिवर्तन आउनसक्ने सबैभन्दा ठूलो आधार हो– चौधौँ महाधिवेशनमा युवाको सम्भावित उल्लेख्य सहभागिता ।
युवा सहभागिता विगतको तुलनामा यस पटक बढ्ने अनुमान गरिएको छ । त्यसो त अहिले नै महाधिवेशनमा सहभागी हुने प्रतिनिधिका बारेमा यकिन गर्न सकिँदैन । तर जसरी क्रियाशील सदस्यता प्राप्तिमा युवाको आकर्षण देखिएको छ, यस आधारमा महाधिवेशनको परिणाम पनि युवामय रहने बलियो आधार देखिन्छ ।

काँग्रेसका जिम्मेवार नेताका अनुसार यस पटक नौ लाखको हाराहारीमा क्रियाशील सदस्य पुग्ने अनुमान गरिएको छ । यसो हो भने, यो शतप्रतिशत वृद्धि हो । १३ औँ महाधिवेशनताका पार्टीमा करिब साढे चार लाखको सङ्ख्यामा क्रियाशील सदस्य थिए । यसको सोझो अर्थ हो, अघिल्लो पटकको तुलनामा यस पटक दोब्बरले नेतृत्व चयन प्रक्रियामा सहभागिता जनाउने छन् । कुल क्रियाशील सदस्यको करिब आधा सङ्ख्या काँग्रेस नेतृत्व चयनको प्रक्रियामा पहिलो पटक सहभागी हुनेछ । अनुमान त के पनि छ भने, नयाँ थपिएका क्रियाशील सदस्यमध्ये करिब ७५ देखि ८० प्रतिशत सङ्ख्या युवाको छ । यो सङ्ख्याले स्वविवेकले निर्णय गर्ने अवसर पाएछ भने पार्टीका सबै तहको नेतृत्वमा आमूल परिवर्तन आउने निश्चित छ । एक अनौपचारिक अध्ययनअनुसार यस पटक कुल क्रियाशील सदस्य सङ्ख्याको झण्डै ३५ देखि ४० प्रतिशत युवा छन् । यसलाई आधार मान्ने हो भने काँग्रेसको विभिन्न तहका नेतृत्वका साथै महाधिवेशन प्रतिनिधिमा पनि यसैको हाराहारीमा युवा उपस्थितिको सम्भावना रहन सक्छ । यो अलग कुरा हो, यस्ता युवाको पृष्ठभूमि के हो भन्ने अध्ययनको अलग विषय हुनसक्छ । प्रश्न उठ्छ, यस्ता युवा आस्था र समर्पणका दृष्टिले वैचारिक रूपमा कति सुदृढ छन् ? निश्चय पनि यो प्रश्नको उत्तरले काँग्रेसको भावी पुनर्संरचना कसरी र कुन रूपमा हुने भन्ने कुराको निक्र्योल गर्नेछ । अहिलेलाई शङ्काको लाभ लिन सकिन्छ र यो पुनर्संरचना सकारात्मक नै हुने अपेक्षा गरिनु अनुचित हुँदैन । भनिन्छ, युवा परिवर्तनका संवाहक हुन् । जुन देशमा युवाको सङ्ख्या जति बढी हुन्छ, त्यस देशले त्यत्तिकै द्रुत गतिमा विकास गर्ने अपेक्षा गरिन्छ ।

सुखद संयोग मान्नै पर्छ, नेपाल युवाको देश हो । यस आधारमा यहाँको विकासले गति लिइसक्नुपथ्र्यो तर त्यसो हुन सकेको छैन । आखिर कारण के त ? उत्तर हुन सक्छ, नीति–निर्माणको मूल ठाउँमा युवाको न्यून र अर्थहीन उपस्थिति । नेपालको कुल जनसङ्ख्याको बनोटमा ४० देखि ४५ प्रतिशतको हाराहारीमा युवाको हिस्सेदारी छ । यस आधारमा भन्ने हो भने यहाँ प्रौढ र ज्येष्ठ नागरिकको सङ्ख्या अल्पमतमा छ । तर नीति–निर्माण तहमा भने तिनैको हालीमुहाली छ । जनसङ्ख्याको यस बनोटको प्रभाव समाज र देशका विभिन्न सन्दर्भमा पर्नु अत्यन्तै स्वाभाविक छ । नेपाली काँग्रेसको क्रियाशील सदस्यको सङ्ख्याको विश्लेषणले पनि यसै कुराको पुष्टि गर्छ । क्रियाशील सदस्यता वितरण प्रक्रियामा संलग्न एक अधिकारीकाअनुसार कुल क्रियाशील सदस्यमध्ये ६० कटेका व्यक्तिको उपस्थिति २० देखि २५ प्रतिशतको हाराहारीमा मात्र छ । दुर्भाग्य, वर्षौं भइसक्यो नेपाली काँग्रेसको मूल नेतृत्व ६० वर्ष कटेकाहरूकै हातमा छ । काँग्रेस पार्टी मात्र होइन, नेपालका अन्य पुराना पार्टी र सरकारको नेतृत्वमा पनि यही प्रवृत्ति हावी भएको देखिन्छ । नेपाली काँग्रेसका वर्तमान सभापति र प्रधानमन्त्री शेरबहादुर देउवा अपवाद हुनुहुन्छ । होइन भने, ०४६ को जनआन्दोलनपछि बनेका सबै प्रधानमन्त्री ६० को उमेर कटेपछि मात्र प्रधानमन्त्री बन्नुभएको हो । देउवा पहिलो पटक ५०/५२ वर्षको उमेरमा पहिलो पटक प्रधानमन्त्री बन्नुभएको थियो । यस्तै, यस अवधिमा बनेका नेपाली काँग्रेसका सभापतिहरूका हकमा पनि यही प्रवृत्ति दोहोरिएको छ । देउवा नेपाली काँग्रेस (प्रजातान्त्रिक) को सभापति ६० वर्षको उमेरमा टेक्नुभन्दा निकै पहिले हुनुभएको हो । अन्य पुराना पार्टीको हकमा केही अपवादबाहेक यस्तै अवस्था विद्यमान छ भनेर भनियो भने त्यो अनुचित हुने छैन ।

नेपाली काँग्रेसको इतिहासको अध्ययन गर्दै गएका खण्डमा ०४६ सालभन्दा पहिले यो पार्टी युवाले नै हाँकेको पाइन्छ । तर ०४६ पछिका दिनमा यो अवस्थाले निरन्तरता पाउन सकेन । यसपछिका दिनमा पार्टीमा युवाको हस्तक्षेप निकै कमजोर बन्दै गएको वा बनाइएको पाउन सकिन्छ । इतिहास साक्षी छ, बीपी ३३ वर्षको उमेरमा पार्टीको कार्यवाहक सभापति र ४० को उमेरमा सभापति बन्नु भएको हो । यस्तै, मातृकाप्रसाद कोइरालाले ३७ वर्षको उमेरमा पार्टी हाँक्ने अवसर प्राप्त गर्नुभएको हो । सुवर्ण शमशेर र गणेशमान सिंहले पार्टी नेतृत्वका लागि प्रतिस्पर्धा गर्दा दुवै जना ४५ वर्षको उमेरभन्दा कमको हुनुहुन्थ्यो । कृष्णप्रसाद भट्टराईले २७ वर्षको उमेरमा सभामुख भएर संसद् चलाउनुभएको थियो । ५० वर्षको उमेरसम्ममा रामचन्द्र पौडेल सभामुख र मन्त्री बनिसक्नुभएको थियो ।

पछिल्ला दिनमा भने यस्ता सुखद संयोगको निर्माण हुन सकेन । यो सत्य हो, पार्टीभित्र युवाले सशक्त उपस्थिति जनाउन सकेनन् । उनीहरूको हस्तक्षेप निकै कमजोर हुन पुग्यो र पार्टीमा युवाका सम्बन्धमा एक किसिमको सदावहार भाष्य निर्माण भयो, यिनको बेलै भएको छैन । यिनले अहिले चुनौती बेहोर्न सक्दैनन् । यिनले पार्टी चलाउन सक्दैनन् । अचम्म त के छ भने युवाले पनि यी कुरा सहर्ष स्वीकार गरे । यसो नहुँदो हो त युवाले आफ्नो अपरिहार्यता प्रमाणित गर्थे होलान् । नेतृत्वका लागि सामूहिक हस्तक्षेपको रणनीतिको निर्माण र कार्यान्वयनमा जुट्थे होलान् । तर यसो हुन सकिरहेको छैन । कारण के त ? कि त युवामा आत्मविश्वासको अभाव छ, कि त युवा तोडफोडमा अग्रजहरूको नीति सफल भएको छ । सत्य यो दुवैमध्ये जेसुकै होस्, परिणाम देश र जनताले बेहोर्न बाध्य हुनुपरेको छ ।
प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्सटाइनले एक ठाउँ भनेका छन्, कुनै समस्याको समाधानका लागि अपनाइएको उपाय असफल हुन्छ भने त्यही उपाय बारम्बार अपनाउनुको कुनै अर्थ हुँदैन । समस्याको समाधान चाहने हो भने विविध उपायहरूको खोजी आवश्यक छ । नेपालको वर्तमान राजनीतिको विश्लेषण गर्ने हो भने आइन्सटाइनको उपर्युक्त भनाइसँग तुलना गर्न सकिन्छ ।

नेपालकोअपेक्षित विकास किन भएन भन्ने प्रश्नको उत्तर खोज्ने कि नखोज्ने ? नेपालको विकासका लागि अपनाइएका रणनीतिहरू कहाँनिर असफल भए भन्ने कुराको मूल्याङ्कन गर्ने कि नगर्ने ? हामीकहाँ यस्ता उत्तर खोज्ने र मूल्याङ्कन गर्ने परिपाटीको नितान्त अभाव छ । ०४६ पछि देश र यहाँका पार्टीको नेतृत्वमा पटक–पटक तिनै व्यक्ति हावी भएको पाइन्छ, जसको परीक्षण पहिले अनेक पटक भइसकेको छ । यस अवस्थामा परिवर्तन नहुञ्जेल देशको विकासले अपेक्षित गति लिन सक्दैन र यस्तो परिवर्तन युवाबाट मात्र सम्भव छ ।
नेपाली काँग्रेसका हकमा यस पटक अनुकूल अवसर उपलब्ध छ । करिब ४० प्रतिशतको अनुपातमा रहेका युवा क्रियाशील सदस्यको सकारात्मक सक्रियताले सबै तहको नेतृत्व चयन प्रभावित हुन सक्छ । केन्द्र पनि अपवाद हुन सक्दैन । यति मात्र हो कि, नयाँ काँग्रेस निर्माणका लागि युवाले सकारात्मक हस्तक्षेपको सोच विकसित गर्नु जरुरी छ । 



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?