धर्बेन्द्र झा
जनकपुरधाम, मङ्सिर १५ गते । सीताराम विवाहपञ्चमी महोत्सव नजिकिदै गर्दा प्रदेश २ को राजधानी जनकपुरधाममा बुधबार जानकी मन्दिरको आयोजनामा बृहत् सरसफाइ अभियानको आयोजना गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाले समयमै फोहाेर व्यवस्थापन नगरेपछि दुर्गन्धित बनेको जनकपुरधामको विभिन्न क्षेत्रमा बृहत् सरसफाइ अभियान आयोजना गरी विवाहपञ्चमीको विभिन्न कार्यक्रमहरु हुने स्थानमा थुपारिएर राखिएको फोहाेर व्यवस्थापन गरिएको छ । सिताराम विवाहपञ्मी महोत्सव अन्तर्गत भगवान राम र जगतजननी सीताको स्वयम्वर हुने ठाउँ जनकपुरधामको बारह विगाहा रंगभूमि मैदानवाट आयोजना गरिएको छ । सरसफाइ कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह, उपप्रमुख रिता झा, जानकी मन्दिरका उतराअधिकारी महन्थ राम रोशन दाससहित विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता थियो ।
मुख्यमन्त्री राउतसहितका व्यक्तिहरुले आफै नगरको विभिन्न स्थानमा कुचो लगाएर आफनो घर वरपर सरसफाई गर्न नगरवासीलाई सन्देश दिनुभएको छ । सरसफाई अभियानमा सहभागिहरुले जनकपुरधाम उपमहानगरपालिकाले समयमा फोहाेर व्यवस्थापन नगरेका कारण यसप्रकारको अवस्था आएको भन्दै विवाहपञ्चमी अगाडि नै नगरको फोहर व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
जनकपुर नगरक्षेत्रमा देखिएको फोहर व्यवस्थापन नभएपछि विवाहपञ्चमीमा आउने तीर्थयात्रीहरुलाई असहज परिस्थितिको सामना गर्नुपर्ने भएकाले बृहत् सरसफाइ अभियानको आयोजना गरिएको जानकी मन्दिरका उत्तराअधिकारी महन्थ दासले बताउनुभयो । अभियान अन्तर्गत आज औपचारिक रुपमा कार्यक्रमको आयोजना गरिए पनि सफाईको कार्यक्रम भने निरन्तर जारी रहने उत्तराअधिकारी महन्थ दासले बताउनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री राउतले सञ्चारकर्मीसँग कुरा गर्दै जनकपुरधामको विश्वमा छुट्टै पहिचान भएको भन्दै पहिचानलाई कायम राख्न सबैको सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले भारत र नेपालका विभिन्न भागवाट आउने तीर्थयात्रीलाई कुनै किसिमको समस्या नहोस् त्यसका लागि सम्बन्धित सबै पक्षलाई तदारुकतासाथ तयार भएर काम गर्न आग्रह गर्नुभयो ।