logo
२०८० चैत्र १६ शुक्रवार



मेलम्ची मर्मतको काम सुरु भएन, चैतमा पानी झार्न कठिन

मुख्य समाचार |
समाज |


मेलम्ची मर्मतको काम सुरु भएन, चैतमा पानी झार्न कठिन


काठमाडौं, मङ्सिर २१ गते । गत असार १ गते गएको बाढीपहिरोले क्षति पुर्‍याएपछि मेलम्चीको पानी काठमाडौँ ल्याउन थप समस्या भएको छ । मेलम्ची खानेपानी आयोजनाले बाढी र पहिरोले क्षति गरेको क्षेत्रमा अस्थायी मर्मतपछि चैत भित्र पानी ल्याउने लक्ष्य राखेको थियो । मर्मतको काम सुरु नहुँदा लक्ष्य पूरा हुन कठिन हुँदै गएको छ । केही समय पहिले खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको मुहानसम्मै निरीक्षण गरेर अस्थायी रुपमा काम गरेर भए पनि तत्काल उपत्यकामा पानी ल्याउन निर्देशन दिनुभएको थियो ।

मुहान क्षेत्रमा मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीले शुक्रबार गरेको निरीक्षणमा ठूला आकारका ढुङ्गा धेरै र साँघुरो क्षेत्र भएकाले तत्काल मर्मत गरेर चैतसम्ममा पानी ल्याउन सक्ने सम्भावना कम भएको निष्कर्ष निकालेको छ ।

मेलम्ची खानेपानी विकास समितिले मुहानसम्म पुग्ने सडक मर्मत भइसकेकाले पानी ल्याउन सकिने बताएको छ । तर, सरकारले अस्थायी मर्मतका लागि निर्देशन नदिएपछि काम सुरु गर्न नसकिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । पुरानै ठेकेदार अथवा नयाँ ठेकेदार प्रयोग गर्ने भन्नेमा स्पष्ट भइसकेको छैन । मर्मतको काम अस्थायी गर्ने या स्थायी रुपमा अघि बढ्ने भन्ने स्पष्ट नहुँदा काम अघि बढाउन नसकिने उहाँले बताउनुभयो ।

तत्काल अस्थायी काम गरेर चैतभित्र उपत्यकामा पानी ल्याए पनि फेरि असार, साउनमा बाढीपहिरोबाट क्षति पुग्ने सम्भावना उत्तिकै रहेको उहाँले जानकारी दिनुभयो । अस्थायी मर्मतका लागि मात्र ९० करोड रुपियाँ लागत लाग्ने अनुमान समितिले गरेको छ ।

यता एसियाली विकास बैंकको सहयोगमा मेलम्ची मुहान माथिबाट आउने पहिरोको दीर्घकालीन समाधानका लागि अध्ययन सुरु भएको समितिले जनाएको छ । अध्ययन पछिको प्रतिवेदन अनुसार दीर्घकालीन योजना तयारी गरी काम गरेमा मेलम्ची खानेपानी आयोजना प्रभावकारी हुने समेत प्रवक्ता पन्तले बताउनुभयो । तर, मन्त्रीले तत्काल अस्थायी उपायबाट पानी ल्याउन निर्देशन दिइसक्नुभएको छ । सरकारले मर्मतको काम अगाडि बढाउन निर्देशन दिए सोही अनुसार काम अघि बढाउने पक्षमा समिति रहेको जनाएको छ । छ दशक अघिदेखिको उपत्यकावासीको पानी पिउने सपना पूरा हुने सम्भावना अझै पनि कमै देखिएको छ ।

बाढीपहिरोले मेलम्ची खोलामा खनिएको सुरुङ क्षेत्रको ड्याम आसपास क्षति हुँदा एक अर्ब ८८ करोड रुपियाँको नोक्सान भएको समितिको ठहर छ । हालसम्म करिब ३५ अर्ब लगानी भइसकेको यो आयोजनाले २०७७ चैत १५ गते मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीको धारामा परीक्षणस्वरुप वितरण गरेको थियो । २०७७ चैत २० गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट मेलम्चीको पानी काठमाडौंमा धाराबाट खसालेर उद्घाटन गर्नुभएको थियो ।

पहिलो चरणमा १७ करोड लिटर पानी दैनिक रुपमा वितरण गर्ने लक्ष्य समितिको छ । मेलम्ची खोलाबाट २७ किलोमिटर लामो सुरुङ खनेर २०७७ फागुन १० गते सुरुङमा पानी बगाएर सफल परीक्षण गरिएको थियो । सरकारले याङ्ग्री र लार्केबाट १७÷१७ करोड लिटर गरी जम्मा ३४ करोड लिटर पानी थप गरी जम्मा ५१ करोड लिटर पानी उपत्यकामा वितरण गर्ने लक्ष्य राखेको छ ।

२०५५ सालदेखि मेलम्ची खानेपानी विकास समिति गठन भइ निरन्तर काम भए पनि काठमाडौं पानी आइपुग्न २२ वर्ष लागेको थियो । समितिले २०७७ फागुन २२ गते सुन्दरीजलमा पानी ल्याएको थियो । २०२९ खानेपानी आपूर्तिका लागि सम्भाव्य स्रोतको पहिचान गर्न अध्ययन सुरु भएको थियो । २०६४ मा नेपाल सरकार र प्रमुख दाता एसियाली विकास बैंकबीच आयोजना पुनःसंरचना गरी ६ वर्षभित्र सम्पन्न गर्ने सहमतिसहित काम अघि बढेको थियो । मेलम्ची खानेपानी आयोजनाका लागि ३३ प्रतिशत नेपाल सरकार, ४६ प्रतिशत एसियाली विकास बैंक र बाँकी अन्य दातृनिकायबाट प्राप्त रकम खर्च गरेको समितिले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?