logo
२०८१ बैशाख ८ शनिवार



काँंग्रेस महाधिवेशनको मूल कार्यभार

विचार/दृष्टिकोण |


काँंग्रेस महाधिवेशनको मूल कार्यभार


धर्मेन्द्र झा

नेपाली कांँग्रेसको १४औँ महाधिवेशन आजदेखि प्रारम्भ हुँदै छ । नयाँ नेतृत्वका लागि निर्वाचनबाहेक यस महाधिवेशनको अन्य कुनै पनि कार्य नहुने जानकारी पहिले नै सार्वजनिक भइसकेको अवस्थामा महाधिवेशन प्रतिनिधिले यसलाई कसरी लिन्छन् भन्ने कुराको चर्चा गर्नु अहिले कल्पना मात्र हुनेछ । यस पटकको महाधिवेशनमा नीति, सिद्धान्त, विचार, योजना र कार्यक्रम आदि कुनै पनि सन्दर्भमा छलफल हुने छैन । यस्तोमा स्वाभाविक रूपले एक प्रश्न उठ्छ, के यस्तोमा कांँग्रेसले नयाँपन प्राप्त गर्न सम्भव छ ? यस प्रश्नको उत्तर लामो सङ्घर्षपछि महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिले नै दिनेछन् । हो, एक अर्थमा यस पटकको महाधिवेशनको प्रक्रिया नयाँ ठहरिएको निश्चित हो । त्यो हो– प्रदेश एकाइको संरचना । काँग्रेसले पहिलो पटक आफ्नो प्रादेशिक संरचनालाई निर्वाचनबाट पूर्णता दिएको छ । प्रदेश २ को निर्वाचन प्रक्रिया हाललाई स्थगित भएको छ ।

यसमा कुनै दुईमत छैन कि हिजोआज सबै राजनीतिक दलभित्र अनिवार्य तìवका रूपमा गुटको उपस्थिति रहेको देखिन्छ । यस्ता गुटको व्यवस्थापन गर्दै दल सञ्चालन गर्नु कुशल नेतृत्वबाट मात्र सम्भव हुनसक्छ । राजनीतिलाई विद्वान्हरूले कला पनि भनेका छन् । दलभित्रका यस्ता समूहबीचको सन्तुलन राख्ने कुरा त्यही कलाको अभिव्यक्ति मानिन्छ । यस सन्दर्भमा मुलुकको जेठो र ठूलो पार्टी नेपाली कांँग्रेस अपवाद छैन । काँग्रेसभित्रको एउटा प्रमुख समस्या भनेको गुटको व्यवस्थापन क्षमताको अभाव हो ।
यो दल कुनै पनि खाले समस्याबाट आक्रान्त हुनुको अर्थ देशकै लोकतान्त्रिक प्रणाली प्रभावित हुनु हो । काँग्रेसभित्रको समस्याप्रति चिन्ताको कारण यही नै हो । आन्तरिक व्यवस्थापनको अभावमा कांँग्रेस व्यवहारमा जति ठूलो शक्ति हुनुपर्ने हो, त्यो हुन सकेको छैन । यो यथार्थ हो । जतिसुकै राम्रो लक्ष्य लिइएको भए पनि त्यसलाई कार्यान्वयन गर्ने सङ्गठन सबल, व्यवस्थित, आफ्नो लक्ष्य प्राप्तिको रणनीतिमा स्पष्ट र कार्यकर्ताले सधैँ स्वाभिमानको अनुभूति गर्ने परिस्थिति निर्माण हुन सकेन भने आफूले लिएको लक्ष्य प्राप्तिका लागि निष्काम कर्म गर्न त्यो सङ्गठन असफल हुन्छ । पछिल्लो अवस्था हेर्ने हो भने कांँग्रेसले यो महत्त्वपूर्ण सवाललाई दृष्टिगत गरेर आफूलाई व्यवस्थित गर्ने सवालमा गम्भीरतापूर्वक प्रस्तुत हुनुपर्ने जरुरी देखिएको छ । आशा गरौँ, १४औँ महाधिवेशनले काँगे्रसको जीवनमा नयाँ रक्तसञ्चार गर्नेछ र गुटहरूको प्रभावबाट मुक्त गरेर पार्टीलाई एकाकार बनाउन मार्गनिर्देश गर्नेछ ।

गुटगत प्रतिस्पर्धालाई दलमा ऊर्जा थप्ने अवसरका रूपमा स्थापित गर्दै दल व्यवस्थापन र सन्तुलनमा विशेष योगदान पु-याउन सक्ने नीति बनाउने काम महाधिवेशनले नै गर्ने हो । १४औँ महाधिवेशनले यस दिशामा निश्चय पनि निर्णायक भूमिका निर्वाह गर्ने विश्वास गर्नु अनपेक्षित हुने छैन । यो महाधिवेशनले दलमा गुटले पारेको प्रभावको समीक्षा गर्दै त्यसलाई सन्तुलित गराउने रणनीति निर्माण गर्ने एजेन्डा बोक्न सक्नुपर्दछ ।
काँग्रेस ‘मास वेस’ दल हो । यस्तो प्रकृतिको दललाई सम्पूर्ण रूपमा एकताबद्ध गराएर कम्युनिष्ट दलझैँ ‘चेन अफ कमान्ड’को शैलीमा सञ्चालन गर्न सकिँदैन तर पनि ‘मास वेस’ दलका केही मूल्य र मान्यता हुन्छन् । ती दलका कार्यकर्ताका पनि नैतिकता र कार्यक्षेत्रका बारेमा केही आधार हुन्छन् र नेतृत्वले कार्यकर्तालाई कसरी अनुशासित राख्ने र उनीहरूको मूल्याङ्कन कसरी गर्ने भन्ने कुराको निश्चित आधार हुन्छन् । यो दायित्व नेतृत्वको हुन्छ । दलको संरचनाभित्र रहेर दलको अहित गर्नेलाई अनुशासनको कारबाही गर्ने सामथ्र्यसहितको नेतृत्व र कार्यकर्ताको सही मूल्याङ्कन हुने ढङ्गको संरचना निर्माणको अभावमा कांँग्रेसजस्तो ‘मास वेस’ दललाई व्यवस्थित गर्न सकिँदैन । दल व्यवस्थित हुन सकेन भने आफ्नो लक्ष्य प्राप्तिको साधनका रूपमा रहनुपर्ने दल केही टाठाबाठा व्यक्तिको स्वार्थ सिद्ध गर्ने संरचनामा सीमित रहन सक्ने खतरालाई अस्वीकार गर्न सकिँदैन ।

आफूलाई व्यवस्थित राख्न र समयसापेक्ष बनाउन नसकेका कारण धेरै शक्तिशाली र लोकतन्त्रप्रति विश्वास गर्ने संस्था तथा सङ्गठन इतिहासमा सीमित हुन पुगेका छन् । नेपालको राजसंस्था, कुनै बेलाको शक्तिशाली मानिने चिनियाँ दल कोमिन्ताङदेखि नेपालकै प्रजा परिषद् तथा भारतमा राममनोहर लोहिया र जयप्रकाश नारायणका दलहरूको अवस्थालाई यहाँ स्मरण गर्नु सान्दर्भिक हुन्छ । यी सन्दर्भबाट काँग्रेसले पाठ सिक्नुपर्दछ । यस दिशामा काँग्रेसले आफूलाई अग्रसर गराउने उपयुक्त मौका अहिले आएको छ । १४औँ महाधिवेशनको अवसरलाई छोपेर काँग्रेसले आफूलाई व्यवस्थित गर्ने विशेष अभियान चाल्न सक्नुपर्दछ ।“अनुशासित कार्यकर्ता र मूल्याङ्कनको सुनिश्चितता भएको दलका रूपमा उभ्याउन काँग्रेसले केही महìवपूर्ण निर्णय लिन सक्नुपर्ने समय आएको छ । अब पनि आफ्नो सिद्धान्त र इतिहासको बलमा मात्र दललाई सञ्चालन गर्छु भन्नु काँग्रेसका लागि दुर्भाग्य हुनेछ ।”

कांँग्रेसले स्थापना कालदेखि नै भोग्दै आएको एउटा समस्या भनेको स्वार्थी र अनुशासनहीनहरूको समस्या हो तर उसले त्यस्ता व्यक्तिलाई कारबाही गर्न सकेको छैन । इतिहासको कुनै कालखण्डमा कसैलाई कारबाही भए पनि ‘आममाफी’का नाममा सहजै कारबाही फुकुवा हुने गरेका थुप्रै दृष्टान्त छन् । जसले गर्दा अनुशासन उल्लङ्घन गर्दा आफ्नो भविष्यका बारेमा दोहोरिएर सोच्नका लागि कोही कार्यकर्ता बाध्य छैनन् । अझ गहिरिएर हेर्ने हो भने प्रत्येक निर्वाचनमा १५ देखि २५ सिट काँग्रेसले यस्तै कार्यकर्ताका कारण गुमाउँदै आएको छ । २०१५ सालको निर्वाचनमा यो सङ्ख्या कम होला तर प्रजातन्त्र पुनस्र्थापनापछिका सबै चुनावलाई हेर्ने हो भने यो तथ्याङ्क पाउन सकिन्छ । २०१३ सालमा बीपी कोइरालाले आफ्ना एक कार्यकर्तालाई लेखेको पत्रमा “दलले चुनाव लड्ने अनुमति नदिए स्वतन्त्र लड्ने कुरा गर्ने कार्यकर्तालाई दलबाट निस्कासन गर्नुपर्ने” आशय व्यक्त गर्नुभएको थियो । यसबाट त्यतिबेला पनि विद्रोहको धम्की दिएर टिकट माग्नेहरू थिए भन्ने बुझ्न सकिन्छ ।

कार्यकर्ताको मूल्याङ्कनको कुनै आधार तयार नहुनु कांँग्रेसको अर्को समस्या हो । पुरानो दल भएका कारण पुराना मान्छेहरू यसमा स्वाभाविक रूपमा छन् । “पहिलेदेखि काम गरेको मान्छे भएकाले” भन्ने रेडिमेड जवाफबाहेक व्यक्ति चयनको अर्को आधार कसैले प्रस्तुत गर्न सक्दैन । पुस्तान्तरणबारे कांँग्रेस नेतृत्वले बुझ्न नचाहेको प्रतीत हुन्छ । वास्तवमा विश्लेषण गर्ने हो भने कांँग्रेसमा आबद्ध भएर राजनीति गर्न खोज्ने पहिलो पुस्ताको कार्यकर्ताले (अपवादबाहेक) सहज स्वीकृति प्राप्त गर्न सकेको पाइँदैन । यो भनेको योग्यता र क्षमतालाई स्वीकार गर्नेभन्दा पनि दिन गन्तीका रूपमा र कपाल फुलेको वा नफुलेका रूपमा कार्यकर्ताको मूल्याङ्कन गर्ने परिपाटी हो ।

दलभित्र विज्ञ र योग्यको अनुपस्थितिमा सापेक्षित रणनीति निर्माण गर्न समस्या हुन्छ भन्ने कुरा काँंग्रेस नेतृत्वले बुझ्न सकेको छैन । यी कुरालाई दृष्टिगत गर्दै मूल्याङ्कनको नयाँ आधार निर्माण गर्दै पुस्ता, वर्ग, समुदाय, क्षमता र विशेषज्ञता एवं दल तथा समाजलाई सापेक्षित रूपमा जोड्ने चातुर्यताजस्ता विशेषतालाई ध्यान दिनु आवश्यक छ । जहाँ अनुशासन हुँदैन र मूल्याङ्कनको पद्धति हुँदैन , त्यहाँ संस्था कमजोर हुन्छ र व्यक्ति हावी हुन्छन् । गुटका नाममा अयोग्यलाई स्थापित गर्ने र ‘एस म्यान’को खोजी गर्दै दलको निष्ठाप्रति प्रतिबद्ध कार्यकर्तालाई निरुत्साहित गर्ने प्रवृत्तिले कांँग्रेस कमजोर भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?