logo
२०७९ जेष्ठ १३ शुक्रवार

  बहसमा गाँजा खेतीको बैधानिकता  



गाँजाको बहुगुण पहिचान गरी सदुपयोग गर्न जरूरी

अर्थ |
पढ्नै पर्ने |
समाज |


गाँजाको बहुगुण पहिचान गरी सदुपयोग गर्न जरूरी



काठमाडौं, माघ ८ गते । नेपालमा गाँजाको नियन्त्रित प्रयोग र खेतीलाई वैधानिक मान्यता दिनुपर्ने माग उठ्दैआएको छ । गाँजा नियन्त्रणसम्बन्धी विधेयक संसदमा विचाराधीन अवस्थामा रहेका बेला यसको सकारात्मक पक्षबारेमा बहस चलेको हो ।

अनुसन्धानहरूले रक्सी र सूर्तीभन्दा गाँजा कम हानिकारक अम्मलकारी रहेको प्रमाणित गरेको छ । पूर्व कानुनमन्त्री तथा प्रतिनिधिसभा सांसद शेरबहादुर तमाङका अनुसार गाँजाको सकारात्मक सदुपयोगले आयआर्जनमा बढोत्तरी गर्न सकिन्छ । रक्सी र सूर्ती पनि कम हानिकारक अम्मल होइन, तर बजारमा खुला छ । गाँजा प्रतिबन्धित किन ? उहाँले जिज्ञासा गर्नुभयो । नेपाली समाजमा यसको सकारात्मक पक्षको बारेमा सचेतना जगाउने कार्यक्रम अत्यन्त न्यून रहेको उहाँको भनाइ छ । नेता तमाङले भन्नुभयो, ‘विश्वमा गाँजालाई सकारात्मक रुपले लिनेहरुको संख्या धेरै छ, नेपालमा पनि त्यस्तो हुन जरुरी छ ।’ एक दिन संसदबाट ९९ प्रतिशतले विधेक पारित हुनेमा उहाँ विश्वस्त हुनुहुन्छ । नेपालमा उत्पादित गाँजा विश्वमै उत्कृष्ट मानिए पनि त्यसको सदुपयोग गर्न नसकिएको उहाँले बताउनुभयो । सही सदुपयोगले नेपालको आर्थिकस्तर बढ्नेमा नेता तमाङ ढुक्क हुनुहुन्छ ।

कुनै पनि वस्तुको गलत प्रयोगले हानि हुन्छ । चिनीको उदाहरण दिँदै उहाँले भन्नुभयो, ‘धेरै चिनी खाएमा त्यसले पनि हानि गर्छ, रोग निम्त्याउँछ । तर सहीरुपमा प्रयोग गरेमा फाइदा गर्छ । दुरुपयोग गरे त्यसले नकारात्मक असर गर्छ ।’ गाँजा नेपाली संस्कार र संस्कृतिसँग जोडिने भएकाले गाँजाको प्रतिबन्धलाई खुला गर्दा नियमन भने अनिवार्य हुनुपर्ने नेता तमाङको सुझाव छ । ‘गाँजाको बोट प्रत्येक घरमा लगाउने चलन छ । शिवकालदेखि नै औषधिको रुपमा प्रयोग हुँदैआएकाले नेपाली समाजमा गाँजा बहुउपयोगी वनस्पति हो भन्ने मनोविज्ञान छ,’ उहाँले भन्नुभयो ।

महिलाको यौनजीवनमा सन्तुष्टि, यौन उत्तेजना, चरमोत्कर्ष, तरलता, यौन सम्पर्कका बेला हुने पीडा आदिसँग गाँजाको कस्तो सम्बन्ध रहन्छ भनी खोजी गरिएको छ । अध्ययनले त्यसबेला गाँजाको सेवनले फाइदा पुग्ने बताएको छ । यौन सम्पर्कअघि महिलाले गाँजा सेवन गर्दा बहुउपयोगी सावित हुने अध्ययनको निचोड भएको उहाँले बताउनुभयो ।

कुनैबेला परम्परागत रूपमा नेपालमा गाँजाबाट बनाइएको आयुर्वेदिक औषधि प्रयोग हुन्थ्यो । ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि शीघ्र स्खलन, नवप्रसूतिलाई पुनःस्थापना, अनिद्रा, नाकबाट पानी बग्ने, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोगजस्ता समस्यामा गाँजाको प्रयोग राम्रो औषधि रहेको उहाँले बताउनुभयो । सो विषयलाई आयुर्वेदले पनि पुष्टिगरेको उहाँको दावी छ ।

चिकित्सकीय गुण
महिलाको यौन जीवनमा सन्तुष्टि, यौन उत्तेजना, चरमोत्कर्ष, तरलता, यौन सम्पर्ककावेला हुने पीडा आदिसँग गाँजाको कस्तो सम्बन्ध रहन्छ भनी खोजी गर्ने कोशिसमा अमेरिकाको सेन्ट लुइसस्थित एकेडेमिक सेन्टरको एब्स्टेट्रिक्स र गाइनोकोलोजी विभागमा ३७३ जना महिलामा गरिएको सर्वेक्षणमा १२७ जना अर्थात् ३४ प्रतिशत महिलाले यौन सम्पर्क शुरू गर्नुभन्दा पहिले गाँजा सेवन गरेको उल्लेख छ ।

कुनैबेला परम्परागत रूपमा नेपालमा गाँजाबाट बनाइएको आयुर्वेदिक औषधि प्रयोग हुन्थ्यो । ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि शीघ्र स्खलन, नवप्रसूतिलाई पुनर्स्थापना, अनिद्रा, नाकबाट पानी बग्ने, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोगजस्ता समस्याको उपचारमा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखले भनेको छ ।

सिंहदरबार वैद्यखानाका निर्देशक डा.सुबरी साहका अनुसार आयुर्वेदीय प्रयोजनका लागि गाँजा गुणस्तरीय बोट हो । यसको सही सदुपयोगले औषधीय गुणको प्रभावकारिता बढ्छ । ‘ औषधि उत्पादन गर्न सिंहदरबार वैद्यखानाले पहिले गाँजाको प्रयोग गर्थ्यो, यसको गलत प्रयोग बढेपछि नेपालमा गाँजा प्रतिबन्धित भएसँगै वैद्यखानाले औषधी बनाउने छोडेको हो,’ उहाँले भन्नुभयो,‘ गाँजा प्रयोग गरी बनाइएका मृत संजीवनी, रातोबरी, भोग सुन्दरी नामक औषधी स्वास्थ्यको लागि एकदमै लाभकारी औषधी हो, तर अहिले गाँजा प्रतिबन्धित छ ।’ गाँजामाथिको प्रतिबन्ध नेपाली धर्म, सांस्कृति र औषधीय उपयोगमाथिको हस्तक्षेप रहेको उहाँको बुझाइ छ ।

गाँजालाई कानुनी मान्यता दिनु अगाडि भविष्यमा पार्न सक्ने आर्थिक तथा सामाजिक असरको गहिरो अध्ययन तथा विश्लेषण हुनु आवश्यक रहेकाले यससम्बन्धी कानुनी व्यवस्थाको प्रभाव र नेपालमा सामाजिक, आर्थिक, राजनीतिक तथा सुशासनका दृष्टिले यसको सम्भावनाको विषयलाई नियाल्नु जरुरी रहेको निर्देशक साहले बताउनुभयो ।

बिरामी लठ्याउन वा पीडा कम गर्न ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नभएका बेला गाँजाकै प्रयोग पहिले गरिन्थ्यो । तर पछि गाँजा प्रतिबन्धित भएसँगै वैद्यखानाले पनि यस्ता औषधि उत्पादन गर्न छोडेको थियो ।

नेपाली समाजमा बहुगुणी गाँजा विभिन्न स्वरुपमा प्रयोग हुँदैआएको पाइन्छ । यौन जीवनको सुधारका लागि बिस्कुट, कुकिज, क्यान्डी, अचार, चिया, जुस आदिमा पनि गाँजा मिसाएर प्रयोगमा ल्याउन सकिने एमाले तमाङले भन्नुभयो, ‘गाँजाको तेल बनाएर अन्य तेल, क्रिमसँग मिसाई शरीरमा मसाज गर्न सकिन्छ । युवा पुस्ताले अधिक मात्रामा सेवन गर्ने बियर एवं रक्सीमा समेत गाँजाको प्रयोग गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ ।’

अन्तर्राष्ट्रियरुपमा यूएनको एउटा फोरमले नै गाँजा हानिकारक लागूऔषध होइन, गाँजा बहुयपयोगी गुण भएको वनस्पति रहेको सूचीमा सूचीकृत गरेको छ । नेता तामाङले भन्नुभयो, ‘त्यो सूचीकृत गर्ने बेला नेपालले पनि पक्ष राष्ट्र भएर भोट हालेको छ । त्यसैले पनि संसदबाट यो विधेक पास हुने प्रबल सम्भावना छ ।’ पहिले हानिकारक गुण भएको वनस्पतिमा थियो गाँजा । अहिले औषधीय गुण भएको वनस्पतिमा समावेश भएको उहाँको बुझाइ छ ।

गाँजाको दुव्र्यसनले धेरैको जीवन बर्बाद बनाएको भन्ने सत्य नभएको भन्दै नेता तमाङले भन्नुभयो, ‘यो दुव्र्यसन होइन अन्य लागूपदार्थको दुव्यसनलाई रोक्ने एउटा अस्त्र हो, यसको प्रयोगले अरु लागूपदार्थ नेपाल छिर्न रोकिन्छ ।’ यसको व्यापक औषधीय गुण हुँदाहुँदै पनि यसलाई नशालु पदार्थ वा लागूपदार्थको रूपमा मात्र बुझिनु गलत भएको उहाँको सुझाव छ ।

गाँजाको प्रयोग खुला गर्नुपर्छ
गाँजा प्रतिबन्धित गर्नु भनेको नेपाली परम्परा, संस्कृति, सामाजिक मान्यता र आयुर्वेदिक विश्वासविरुद्ध रहेको उहाँको बुझाई छ । फागु पूर्णिमा, होली र शिवरात्रिमा गाँजालाई घोट्टा (दूधको परिकार) वा मिठाईमा राखेर खाने खुवाउने चलन रहेको उहाँले बताउनुभयो । अथर्ववेदमा गाँजालाई पाँच पूज्य वनस्पतिको रूपमा समेत उल्लेख गरिएको बताउनुभयो । मानवको दुष्कर्मलाई काट्न सक्ने गुण गाँजामा रहेको उहाँको भनाइ छ ।

विद्यमान कानुनी व्यबस्था
नेपााल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका प्रहरी निरीक्षक जीवन निरौलाले गाँजा लागूऔषधभित्र पर्ने भएकाले घरमा २५ वटा गाँजाको बोटसम्म लगाएमा तीन महिना कैद र तीन हजार जरिवाना र त्योभन्दा बढी जति बोट भए पनि तीन वर्ष कैद र पाँचदेखि २५ हजारसम्म जरिवाना हुने व्यवस्था रहेको बताउनुभयो । उहाँकाअनुसार गाँजाबाट चरेस बन्छ त्यसको मुद्दा पनि एउटै प्रकृतिको हुन्छ । गाँजा अहिले कानुनी तवरबाट प्रतिवन्धित भएकाले सेवनमा खुला गर्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । संसदबाट नयाँ कानुन बनाएर खुला भएमात्र त्यसको प्रयोगमा सहज हुने उहाँले बताउनुभयो ।

विद्यमान कानुनअनुसार २५ ग्रामसम्म गाँजा वा चरेस फेला परेमा तीन महिना कैद र तीन हजार जरिवाना हुन्छ । २५ ग्रामदेखि आधा किलोसम्म फेला परेमा एक महिनादेखि एक वर्षसम्म कैद र एक हजारदेखि पाँच हजार रुपियाँसम्म जरिवाना, आधा किलोदेखि दुई किलोसम्म छ महिनादेखि दुई वर्षसम्म कैद र दुईदेखि दश हजार जरिवाना, दुईदेखि दश किलोसम्म भएमा एकदेखि तीन वर्षसम्म कैद र पाँचदेखि २५ हजारसम्म जरिवाना हुने व्यवस्था छ । त्यस्तै, दश किलोदेखि माथि जति भएपनि दुईदेखि दश वर्ष कैद र १५ हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना हुन्छ । उहाँकाअनुसार नेपालमा प्राकृतिकरुपमै धेरै ठाउँमा गाँजा उत्पादन हुनेगर्छ ।

अरु देशबाट नेपाल आउने हिरोइन, कफिन, कोकिनजस्ता लागूऔषध फेला परेमा कडा सजायको व्यवस्था छ । २५ ग्रामभन्दा कम हिरोइन, कोकिन र कफिन फेला परेमा पाँचदेखि १० वर्ष कैद र पाँचदेखि २५ हजार जरिवाना, २५–१०० ग्रामसम्म १०–१५ वर्ष कैद र ७५ हजारदेखि दुई लाखसम्म जरिवाना, सय ग्रामदेखि माथि जतिसुकै भएमा १५ वर्षदेखि जन्म कैद र पाँच लाखदेखि २५ लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

गाँजा औषधि निर्माण, वैज्ञानिक अनुसन्धान तथा अन्य खाद्य, व्यवसायीक तथा औद्योगिक प्रयोजनका लागिसमेत गुणस्तरीय भएकाले गाँजा खेतिलाई नेपालमा खुल्ला गरी यसको माध्यमबाट कृषकको आर्थिकस्तर बढाउन गाँजा खेतीलाई नियमित तथा व्यवस्थित गर्नुपर्ने धेरैको सुझाव छ । गाँजाको गैर कानूनी उत्पादन, बिक्री वितरण तथा उपयोगलाई नियन्त्रण गर्न तथा त्यसको दूरुपयोग नहुनेगरी नयाँ ऐन बन्न जरुरी रहेको व्यवसायीहरुको सुझाव छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?