गोकर्ण दयाल
बैतडी, माघ ११ गते । बैतडीमा जङ्गली बँदेलले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । सोमबार साँझ गाउँमै पसेर बँदेलले आक्रमण गर्दा बैतडीको दोगडाकेदार गाउँपालिका–१, घोरडी गाउँको पिपला टोलका ६५ वर्षीय मनोरथ जोशी (मन्नाम) को मृत्यु भएको छ । जोशीको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बँदेलको आक्रमणमा परी दोगडाकेदार–१, कै ४५ वर्षीय बलबहादुर कार्कीको अवस्था पनि गम्भीर छ । उहाँको डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको छ । त्यस्तै सोही गाउँका ५५ वर्षीय हरिदत्त जोशी र ४५ वर्षीय वीरभान सार्की सामान्य घाइते हुनुभएको छ । उहाँ दुबै जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
सोमबार साँझ ६ बजेतिर गाउँ पसेको जङ्गली बँदेल स्थानीयलाई आक्रमण गरेर घाइते बनाएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताउनुभयो ।
अध्यक्ष कार्कीले भन्नुभयो, “गाउँ गाउँमा बँदेल आतङ्क बढेको छ । किसानको बालीनाली खान जङ्गली बँदेल गाउँ पस्ने गरेका छन् । नियम कानुनले बाँदेल मार्न पाईँदैन । धपाउन गए मानिसमाथि आक्रमण गरेर ज्यानै लिने गरेको छ ।”
जङ्गली बँदेलको आक्रमणमा परि दोगडाकेदारमा गतवर्ष पनि एक जना युवा गम्भीर घाइते भएको गाउँपालिकाले जानकारी दिएको छ ।
मृतकलाई १० लाख राहत
बैतडीमा मानव र वन्यजन्तुबीच लामो समयदेखि द्वन्द्व चलिरहेकोले वन्यजन्तुको आक्रमणमा परी ज्यान गुमाएका परिवारलाई १० लाख रुपियाँ राहत उपलब्ध हुने व्यवस्था रहेको डिभिजन वन कार्यालय बैतडीले जानकारी दिएको छ ।
मावन र वन्यजन्तुबीचको द्वन्द्व घटाउन वन कार्यालय र स्थानीय सरकारले काम गर्नुपर्ने अवस्था आएको बताउनुहुँदै डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले वन्यजन्तुको बासस्थानमा खलल पु¥याउँने काम रोक्नु पर्ने बताउनुभयो ।
कार्यालय प्रमुख कँडेलले भन्नुभयो,“डोजरले जथाभावी बाटो खन्दा वन्यजन्तुको वासस्थान साँघुरिएको छ । यस्तो बेलामा वन्यजन्तु गाउँ पस्नु स्वाभाविक हो । मुख्य कुरा वन्यजन्तुको वासस्थान कसरी सुरक्षित राख्न सकिन्छ भन्ने कुरा नै महत्वपूर्ण हो ।”
बैतडीमा विगत आठ वर्षको अवधिमा चितुवा, भालु र बँदेलको आक्रमणमा परी २६ जनाको मृत्यु भइसकेको डिभिजन वन कार्यालयको तथ्याङ्क छ ।