logo
२०८१ बैशाख १३ बिहीवार



भारतसँग दर्बिलो मित्रताको अपेक्षा

विचार/दृष्टिकोण |


भारतसँग दर्बिलो मित्रताको अपेक्षा


धर्मेन्द्र झा

प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीनदिने भ्रमणका सन्दर्भमा आज त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ । यस भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ तरिकाले पुनव्र्याख्या गर्ने विश्वास छ । आशा गरौँ, प्रधानमन्त्री देउवाको यो भ्रमणले दुई देशको सम्बन्धलाई थप मजबुत र प्रगाढ बनाउन महìवपूर्ण भूमिका निर्वाह गर्नेछ ।

नेपालको संसद्ले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारितपछिको चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणलगत्तै हुन लागेको प्रधानमन्त्रीको आसन्न भारत भ्रमण धेरै कारणले महìवपूर्ण छ । प्रधानमन्त्रीको यस पटकको भ्रमणबाट राजनीतिक, सामाजिक, शैक्षणिक, औद्योगिक र आर्थिक क्षेत्रमा उल्लेख्य उपलब्धि प्राप्त हुने आशा गरिएको छ । त्यति मात्र होइन, यस भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धका बारेमा पनि सकारात्मक परिणाम प्राप्त हुने विश्वास छ ।

पछिल्ला वर्षमा कूटनीतिक आधारमा नेपाल–भारत सम्बन्धबारे अनेक प्रश्न उब्जिने अवस्था सिर्जना भयो । संविधानको समर्थन, बन्दाबन्दी, नेपालको नयाँ नक्सा, १९५० को सन्धि पुनरवलोकन, यससम्बन्धी अध्ययन गर्न बनेको दुई देशीय समितिको प्रतिवेदन, कोभिड खोपको आपूर्ति, विद्युत् आपूर्ति र रेल्वे सञ्चालन आदि विषय हुन् । यिनै आधारमा दुई देशबीचको सम्बन्ध विगतको जस्तो सुमधुर रहन नसकेको टिप्पणी धेरै कुनाबाट हुने स्थिति उत्पन्न भयो, जो निश्चय पनि उचित थिएन र छैन । विगतका केही वर्ष नेपालको परराष्ट्र सम्बन्ध सन्तुलित हुन सकेन भन्ने टिप्पणी हँुदै आएको छ । यसबाट नेपाल–भारत सम्बन्ध पनि प्रभावित हुन पुगेको यथार्थ हो । यसबाहेक पनि विगतका दिनमा दुई देशबीचको पारम्परिक मधुर सम्बन्ध प्रभावित हुनुपर्ने दुईपक्षीय महìवका अनेक मुद्दा उठान भए । प्रधानमन्त्रीको यस पटकको भ्रमणले माथि उल्लिखित सबै विषयमा सम्बोधन गर्ने आम अपेक्षा छ ।

आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गर्नु र नागरिकका आवश्यकताको पूर्ति गर्नु कुनै पनि देशको सरकारको मूल काम तथा कर्तव्य हो । जब नागरिकका दैनन्दिन आवश्यकता पूरा गर्न नसक्ने अवस्था सिर्जना हुन्छ तब त्यहाँको सरकार असफलतातर्फ उन्मुख भयो भनेर बुझ्नुपर्छ । यस आधारमा मूल्याङ्कन गर्ने हो भने नेपालका सन्दर्भमा पनि विगतका दिन सुखद रहेनन् । एउटा सरकारले आफ्नो देशमा जनताका लागि आवश्यक सामग्री आफू स्वयंले उत्पादन गरेर जुटाउन नसकेको अवस्थामा उसले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गरेर भए पनि जनतालाई राहत दिने सामग्री अन्यत्रबाट पनि जोहो गर्न सक्नुपर्छ । पछिल्ला दिनमा नेपाल यस्तो कूटनीति सम्पादन गर्न पनि असफल सावित भइरहेको अनुभव गरिएको छ ।

नेपाल र भारतको सम्बन्ध शताब्दीयौँ पुरानो हो । दुई देशबीचको सम्बन्ध इतिहासभन्दा पनि पुरानो छ, त्यसैले त जनस्तरमा पनि घनिष्ठता छ । जो आपसी संस्कृतिमा आधारित छ । दुवै देशका जनताको सम्बन्ध ‘रोटी र बेटी’को हो । रक्तसम्बन्धसँग साटिएको यो सम्बन्ध सहकार्य र सहअस्तित्वको सम्बन्ध पनि हो । नेपाल र भारत दुवै देशका जनता एक अर्काको देशमा रोजगारीमा छन् भने दुवै देशका जनताबीच विवाहलगायतका विभिन्न संस्कारगत कार्य पनि हुने गरेका छन् । यस आधारमा भन्नुपर्दा नेपाल र भारतबीच विशेष सम्बन्ध स्थापित छ । यस्तो सम्बन्ध अन्य देशमा विरलै पाइन्छ ।

विगतमा विभिन्न नाममा यो सम्बन्धलाई प्रभावित गर्ने कार्य भयो । दुःखका साथ भन्नुपर्छ, यस कार्यमा नेपालको सरकार तथा विभिन्न राजनीतिक दल सक्रिय रहे । केही दल र नेताबाट त राष्ट्रियताको आवरणमा दुई देशको सम्बन्धलाई अवमूल्यन गर्ने कामसमेत भयो । प्रधानमन्त्रीको भ्रमणले यस दिशामा पनि सम्बोधन गर्ने विश्वास गर्न सकिन्छ ।

हिन्दुका आराध्य देव–देवी राम र सीताबीचको वैवाहिक सम्बन्ध यस सन्दर्भमा महìवपूर्ण मानिन्छ । पारम्परिक रूपमा विकसित दुवै देशको सम्बन्ध सहअस्तित्वका आधारमा थप विकसित हुुनुपर्छ । बेलाबखतमा विकसित हुने राजनीतिक घटनाक्रमले दुवै देशका जनतालाई झस्काउने गरेको कुरालाई अस्वीकार गर्न सकिँदैन । वास्तवमा दुवै देशका जनता, जसका बीच वैवाहिकलगायतका सम्बन्ध स्थापित छन्, लाई राजनीतिले खासै छुँदैन र छुनु पनि हुँदैन । दुवै देशमा दुवै देशका विभिन्नखाले नाता कुटुम्ब छन्, जसलाई राजनीतिले छुने अवस्थाको कल्पनासम्म गर्न सकिँदैन । खासगरी नेपालका सम्बन्धमा भन्ने हो भने स्थिति झनै संवेदनशील छ । हामी आफ्नो आवश्यकता स्वयं पूरा गर्न सक्ने अवस्थामा छैनौँ । हाम्रा आवश्यकता पूरा गर्न पनि विगतको ‘रोटी–बेटी’को सम्बन्धलाई महìव दिनुपर्ने कुरालाई ठाडै अस्वीकार गर्न सकिने स्थिति छैन ।

नेपालले आफ्ना छिमेकीबीच समदूरीको सम्बन्ध विकसित गर्न सक्नुपर्छ । नेपालको कूटनीतिक सफलता यसैमा निहित छ । नेपाल र भारतको सम्बन्धको चर्चा गर्दा धरातलीय यथार्थ बिर्सन मिल्दैन । पछिल्लो कालखण्डको विश्लेषण गर्ने हो भने नेपाल–भारत सम्बन्धलाई नुन–तेल सम्बन्धका रूपमा पनि बुझ्नुपर्ने स्थिति छ । विगत इतिहासको अध्ययन गर्ने हो भने नेपाल र भोटबीचको सम्बन्धलाई नुनका कारण विकसित सम्बन्धका रूपमा लिन सकिन्छ । भोटमा नुन उत्पादन हुन्थ्यो र त्यो नुनको बजार नेपाल हुँदै भारतसम्म विस्तारित थियो । अहिले समय परिवर्तन भइसकेको छ । अहिले भोटबाट नुन आपूर्ति हुँदैन । यसको अर्थ अहिले भोट अर्थात् चीनसँग नेपालको सम्बन्ध नै छैन भन्ने होइन । संवेदनशीलताका आधारमा सम्बन्धहरूले नयाँं स्वरूप ग्रहण गरेका छन् भन्दा अस्वाभाविक हुँदैन । आपसी सम्बन्धको विश्लेषण गर्नेहरूले नेपाल–भारत सम्बन्धलाई परिवर्तित सन्दर्भमै व्याख्या गर्नु वाञ्छनीय छ । र, अहिलेको परिवर्तित सन्दर्भ के हो भने नुन र तेलजस्ता अत्यावश्यकीय सामग्रीको उपलब्धताका लागिसमेत भारतको सहयोग बाध्यकारी छ । नुन तेलको सन्दर्भलाई यहाँ प्रतीकात्मक रूपमा मात्र ग्रहण गर्नु आवश्यक छ ।

सामान्य उपभोग्य वस्तुका लागि पनि भारतमै निर्भर रहनुपर्ने अवस्थाले नेपाल र भारतको सम्बन्धको संवेदनशीलता स्पष्ट हुन्छ । यो यथार्थलाई नेपाल र भारत दुवैले बिर्सन मिल्दैन । यो त समग्रताको विषय हो । आजको अर्को यथार्थप्रति पनि आँखा चिम्लन मिल्दैन । आजको दिनमा नेपालको तराई–मधेस र पश्चिमी सीमान्त क्षेत्रको सम्पूर्ण अर्थतन्त्र एक किसिमले भारतीय बजारमाथि नै निर्भर छ । सायद काठमाडौँले यो यथार्थ संवेदनशीलता अनुभूत गर्न सक्दैन । काठमाडौँले नेपाल भारतबीचको सम्बन्धको यथार्थ आकलन गर्न नसक्दा कहाँ के प्रभाव पर्छ, त्यो त मूल्याङ्कनको पृथक् विषय बन्ला तर तराई–मधेस तथा पश्चिमी नेपालको सामाजिक संरचनामा प्रतिकूल प्रभाव पर्ने कुरालाई नकार्न सकिँदैन । यही कुरा नयाँदिल्लीका हकमा पनि लागू हुन्छ ।

त्यसो त समान संस्कृतिमा आधारित दुवै देशबीचको सामाजिक संरचनाको यथार्थ नेपालले मात्र बुझ्ने कुरा होइन, भारतले पनि आत्मसात् गर्न सक्नुपर्छ । काठमाडौँ र नयाँदिल्लीमा पछिल्ला दिनमा सञ्चालित राजनीतिको विश्लेषण फरक ढङ्गले गर्नु आवश्यक छ । दुवै राजधानीको राजनीति फरक विषय हो र बाँकी समाजको विषय फरक हो । दुवैतर्फको समाज प्रतिकूल रूपमा प्रभावित हुने गरी कहीँ कतैबाट कुनै पनि प्रकारको राजनीति सञ्चालित हुनु हुँदैन । राजनीतिक रूपमा नेपाल र भारत दुई देश हुन् । यसको हेक्का राखेर दुवै देशले एक अर्काप्रति सम्मान र आदरको भाव व्यक्त गर्नु अपेक्षित छ ।

उपर्युक्त पृष्ठभूमिमा प्रधानमन्त्री देउवाको भारत भ्रमण निश्चय पनि महìवपूर्ण छ । रुस र युक्रेनबीचको हालको युद्धपूर्ण सम्बन्धका कारण नेपालको दैनन्दिन आवश्यकता पूर्ति प्रभावित भएको छ । यस दृष्टिले पनि अहिले नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुनु जरुरी छ । विगत लामो समयदेखि दुवै देशबीच केही मुद्दा तेस्र्याएर केहीले विवादपूर्ण अवस्था सिर्जना गरेको कुरा कसैबाट लुकेको छैन । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणमा यी सबै विषयबारे दुई देशबीच छलफल हुनेछ र दुई देशीय सम्बन्ध थप मजबुत हुनेछ ।



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?