डा. गोविन्दप्रसाद कुसुम
कोरोना भाइरसले संसारका सबै राष्ट्रहरूलाई यसरी सङ्कटमा पारेको छ कि यसबाट मुक्ति पाउन लामो समयसम्म कुर्नुपर्नेछ । यो भाइरसको सङ्क्रमण र अनिष्टबाट जोगिन नेपाल सरकारले समय छँदै लकडाउन (स्थान बन्द) गरेकोले प्रत्येक सङ्क्रमण हुने सङ्ख्यात्मक गति सामान्यतः सुस्त छ तर पनि अवस्थामा विस्फोटक परिणाम आउनसक्छ । मानिसहरूको अनभिज्ञता र हेलचेक्र्याइँका कारणले सङ्क्रमितको सङ्ख्या बढ्छ र बढिरहेको छ पनि ।
लकडाउनका कारणले आम मानिसको दैनिकी व्यवस्थापनमा निकै गाह्रो परेको छ । दैनिक ज्यालादारीमा काम गर्ने श्रमिक वर्ग र निम्न आय भएको समूहलाई सबैभन्दा बढी समस्या परेको छ । आर्थिक क्रियाकलाप बन्द छ, पर्यटन उद्योग शून्यसरह छ, कृषिक्षेत्र कमजोर छ, विपे्रषण ज्यादै न्यून छ । यो स्थितिले नेपालको आर्थिक वृद्धिलाई निकै तल झार्ने देखिन्छ भने सामाजिक अवस्थामा खलल पुग्ने सम्भावना पनि उत्तिकै बलियो छ । यो यथार्थका बीचमा मुख्य सवाल अगाडि आउँछ । त्यो हो– अमेरिका, इटाली, स्पेन, इरान, बेलायत, चीन र यस्तै अन्य मुलुकको जस्तो विशाल सङ्ख्यामा भएको मानवीय क्षति भोग्नुपर्ने नियतिबाट नेपाललाई कसरी सुरक्षित राख्ने ? यी देशहरूको अर्थतन्त्र ज्यादै माथि रहेकोले यिनीहरूले यसलाई आ–आफ्नै सबल पक्षको आधारमा ढिलोचाँडो व्यवस्थापन गर्नेछन् । तर नेपालमा लकडाउनको माध्यमबाट कोरोना सङ्क्रमणलाई काबुभित्र ल्याउन सकिएन भने अन्य कुनै उपायबाट यो सङ्क्रमणसँग लड्नसक्ने बलियो साधन हामीसँग छैन ।
हाम्रो क्षमता पाँचमध्ये चारमात्र राम्रो छ । पाँच पक्ष हुन्– रोकथाम, प्रवद्र्धन, उपचारात्मक, पुनर्वास र पुनर्मिलन ।
उपचारात्मक पक्षमा हाम्रा सीमितता छन् । कोरोना भाइरसको कुनै औषधि छैन, कुनै भ्याक्सिन छैन । यस्तो अवस्थामा सङ्क्रमणबाट बिरामी भएकालाई उपचार गर्ने विश्व स्वास्थ्य सङ्गठनले निकालेको प्रक्रियागत प्रोटोकललाई हुबहु कार्यान्वयल गर्ने सवालमा स्वास्थ्य उपकरण, डाक्टर÷स्वास्थ्यकर्मी र अस्पताल लगायतको कमी छ । यो कमीलाई तत्कालै पूरा गर्न सकिँदैन । मानौँ पन्ध्र बीस जना डाक्टर नर्सहरूमात्र भाइरसको सङ्क्रमणमा परे भने त्यसले पार्ने असरको व्यवस्थापन गर्न ज्यादै कठिन हुन्छ । भेन्टिलेटरको व्यवस्था गर्न सक्ने स्थिति हुनेछैन– फेरि, स्वास्थ्योपचारको यो प्रक्रिया ज्यादै खर्चिलो हुन्छ ।
त्यसैले हाम्रो सबल पक्ष भनेको रोकथाम र प्रवद्र्धनको कार्य नै हो । त्यसपछि सङ्कटापन्न अवस्थाका व्यक्तिहरूको पुनर्वास र पुनर्निर्माणको काम आउँछ । यी सबै पक्षलाई व्यवस्थापन गर्ने कार्यमा आम नागरिकको सहयोग आवश्यक पर्छ । सरकारले गरिदिएको लकडाउन जुन रोकथामको अनिवार्य शर्त हो, त्यो सफल हुन्छ भन्ने होइन । यो त हरेक नागरिकले लकडाउनसम्बन्धी सरकारले गरेको निर्णय अनुसार पालना गरेपछि मात्र सफल हुन्छ । लकडाउनको पालना गर्नु भनेको आफ्नो, आफ्नो परिवारको र समाजका प्रत्येक व्यक्तिको जीवन बचाउनु हो । किनकि भाइरसको सङ्क्रमणले च्यापिसकेपछि त्यसबाट उम्किनु भनेको ज्यादै कठिन कार्य हो । अर्को शब्दमा भन्नुपर्दा सङ्क्रमणले च्यापेपछि मर्नुपर्छ । अमेरिका, स्पेन, इटाली, बेलायत जस्ता ज्यादै धनी राष्ट्रले आफ्ना नागरिकलाई बचाउन सक्ने थिएनन् ? बचाउँथे होला नि ! त्यसैले शारीरिक दूरी कायम गर्नु बाहेक अरू औषधि छैन । रोग लाग्नुभन्दा रोग लाग्न नदिनु नै ठूलो र प्रभावकारी औषधि हो ।
निकास
नेपाल कोरोना सङ्क्रमणको दोस्रो चरणमा छ । तेस्रो चरणलाई अहिलेसम्म छोएको छैन तर छुँदैन भन्न पनि सकिन्न । जसरी मानिसहरूले यसलाई सामान्य रूपमा बुझेका छन् वा बुझ्छन् त्यसकै आधारमा यो तेस्रो चरणमा प्रवेश गर्ने, नगर्ने टुङ्गो लाग्छ । यसको अर्थ हो– लकडाउनको पूर्णपालना र सरकारले यसबारेमा सूचित गरेका विषयबारे संवदेनशील भएर गर्न नहुने भनेका कुनै काम नगर्ने ।
ल्यापटप, सेलफोन, टेलिकन्फरेन्सको दुनियाँमा रहेका बौद्धिक, विश्लेषक र ज्ञान कामदार (नलेज वर्कर्स) हरूले घरमै बसेर काम गरिरहेका छन् । तर उत्पादनमूलक कारखाना र कम्पनीमा काम गर्नेहरूको एउटा दबाब अगाडि आएको छ – काम नगरी कसरी खाने ? प्रश्न जायज छ तर लकडाउनबाट कहिले र कसरी निकास लिने भन्ने विषय पनि अगाडि आएको छ ।
वैशाख २५ गतेसम्म लकडाउन छ । त्यसपछि के ? यसका लागि हामीले छिमेकी भारतको अवस्था हेर्नुपर्छ । खुला सिमानाका कारणले आउने जाने क्रम चलिरहँदा सङ्क्रमण पनि आवतजावत गरिरहन्छ । त्यसैले भारतले लकडाउनलाई यथावतै राख्यो भने हामीले पनि यथावतै राख्नुपर्छ । भारतले लकडाउन खोल्यो भने के गर्ने ?
पहिलो कुरा, भारतले लकडाउन खोल्यो भने भारतबाट नेपाल आउनेको ताँती लाग्छ । किनकि भारतभन्दा नेपाल अपेक्षाकृत सुरक्षित मानिएको छ । त्यसैले पाहुना लाग्न जाने आउने दुवै परिपाटीलाई बन्द गर्नैपर्छ ।
हाम्रो लकडाउनको निकास चरणबन्द रूपमा हुनुपर्छ एकैपटक होइन । यसका लागि नेपाललाई सङ्क्रमणको हिसाबले भूगोल, जनसङ्ख्या, आर्थिक क्रियाकलाप, सामाजिक अवस्थाका आधारमा क्लस्टरिङ् (क्षेत्रगत) गर्ने । कुन क्षेत्र कुन समुदाय र कुन क्रियाकलाप गर्नेमा बढी सङ्क्रमण पाइएको छ, त्यसको सही तथ्यगत नक्साङ्कन (म्यापिङ) गर्नुपर्छ । त्यसमा सङ्क्रमणको सङ्ख्या र इन्टेन्सिटी (गहनता) हेरेर रातो र हरियो जोनिङ (वर्गीकरण) गर्ने । रातो अवस्था– जहाँ सङ्क्रमण बढी छ र त्यहाँ सङ्क्रमण हुने जोखिम धेरै छ । यस्तो वर्गीकरणमा औषधि, अस्पताल, डाक्टर, नर्स र स्वास्थ्यकर्मीहरूको सहज उपलब्धता गराउनुपर्छ । त्यसभित्रका प्रत्येक व्यक्तिको स्वास्थ्य प्रोफाइल तयार गर्नु जरुरी हुन्छ । यस्तो क्षेत्रमा पाँच हजारदेखि एक लाखसम्मको जनसङ्ख्यालाई लिन सकिन्छ । यो क्षेत्रभित्र पूरै लकडाउन हुन्छ र त्यो ठाउँबाट अन्यत्र जान दिइँदैन । आपूर्ति व्यवस्था (सप्लाई चेन) सहज बनाउनुपर्छ ।
हरियो क्षेत्र त्यो ठाउँ हो, जहाँ सङ्क्रमण छैन । त्यहाँका व्यक्तिहरूले आफ्नो व्यवसाय सामाजिक दूरी कायम गरेर सञ्चालन गर्न सक्छन् । सुरक्षाका सबै प्रोटोकललाई व्यवहारमा उतारेर कार्य गर्न पाइन्छ यहाँ । यस्तो क्षेत्रभित्र पनि क्लस्टरिङ्को वर्गीकरण गर्नुपर्छ । जसबाट आयातित सङ्क्रमणले कसैलाई छोयो भने त्यो फैलिन नपाओस् । उत्पादनमूलक कारखाना पनि सञ्चालनमा ल्याउन सकिन्छ ।
हेक्का राख्नुपर्छ कि ‘हरियो क्षेत्र’ मा कुनै पनि समय ‘रातो क्षेत्र’ आउनसक्छ । त्यसैले क्षेत्र निर्धारण गर्दा सबैभन्दा प्रमुख शर्त हुन्छ– प्रत्येक व्यक्तिमा कोरोना भाइरस छ छैन भन्ने भरपर्दो टेस्टिङ (परीक्षण) । टेस्टिङ पटक पटक गरिरहनुपर्दछ । सामूहिक परीक्षण जरुरी हुन्छ । किनकि दैनिक आवश्यकताका सामान किन्ने ठाउँहरूबाट सङ्क्रमण हुनसक्ने सम्भावना धेरै रहन्छ । त्यसैले मानव सञ्जाल (ह्युमन नेटवर्क) लाई विच्छेद गर्नु जरुरी हुन्छ ।
मास टेस्टिङमा मोबाइलबाट सम्पर्क पहिचान गर्नुपर्छ । यसमा सरकारले एउटा विशेष ‘एप’ बनाउने र मोबाइल प्रयोगकर्ताहरूले सबैले उक्त ‘एप्लिेकसन’को प्रयोगबाट आफ्नो विवरण दिइराख्ने गर्नुपर्छ । यसबाट हरेक व्यक्तिको स्वास्थ्य अवस्थाको बारेमा सरकारलाई जानकारी भइरहन्छ र उसको विवरणका आधारमा सङ्क्रमण नियन्त्रण गर्न सजिलो पर्छ ।
लकडाउनलाई बोझका रूपमा होइन, रोकथामका रूपमा लिनुपर्छ । लकडाउनले स्थान बन्द गरेको मात्र हो ‘लकडाउन’ (भाग्य बन्द) गरेको होइन । जस्तो कि विश्व स्वास्थ्य सङ्गठनले सल्लाह दिएको छ– स्थान बन्दलाई तबसम्म खुकुलो बनाउनु हुँदैन जबसम्म व्यक्तिको सम्पर्क पहिचान (टे«सिङ्) र कोरोना भाइरस जाँच गर्ने प्रणाली प्रभावकारी रूपमा स्थापित भइसक्दैन । यो प्रणाली ग्रामीण स्तरसम्म पुग्नुपर्छ, प्राथमिक स्वास्थ्य केन्द्रसम्म जानुपर्छ, समयमै सहज रूपमा टे«सिङ् र टेस्टिङ् गर्न सकियोस् । यसबाट भरपर्दो एन्टीबडी जाँच गरेर बाह्य रोगसँग लड्नसक्ने क्षमता कति छ, त्यो हेरेर प्रमाणपत्र जारी गर्न सकिन्छ । जसले गर्दा त्यस्तो व्यक्ति ‘रातो जोनिङ्’ क्षेत्रबाट बाहिरतिर काममा पनि जान सकोस् । यसमा सबैभन्दा ठूलो विषय हुन्छ – स्वअनुशासन । आफैँमा अनुशासन भएन भने सरकारलाई दोष देखाउनुबाहेक अरू केही हुँदैन । सकारात्मक भाव, चिन्तन र सोचसहित लकडाउनलाई पालना गरेर महामारीबाट आफू र अरूलाई बचाउन सकिन्छ ।
(लेखक लोकसेवा आयोगका पूर्व सदस्य हुनुहुन्छ ।)