मिठाराम विश्वकर्मा
लामो समयदेखि राजनीतिक अस्थिरताले जर्जर बनाएको नेपालमा निश्चितरूपमा राजनीतिक स्थिरता हुन जरुरी थियो । यही कारण नेकपालाई नेपाली जनताले स्पष्ट बहुमत दिएर सत्ताको भागीदार बनाए । नेकपाको आन्तरिक रणनीति के छ, बाहिरी रूपमा सत्ताको चलखेल जरुरी देखिँदैन । आन्तरिक रणनीति मिलाउने काम नेकपाकै हो, यसमा अरू दलको भूमिका रहने कुरै भएन । किनभने प्रतिपक्षमा बसेको नेपाली काँग्रेसको अवस्था अहिले सत्ताको चलखेल गर्ने छैन । उसले सबै दललाई मिलाउँदा पनि सत्तामा जाने अनुमान गर्न सकिँदैन । काँग्रेसले अहिलेको जर्जर परिस्थितामा सत्ता परिवर्तन अस्वाभाविक र समय अनुकूल नभएको भन्दै आएको छ । यसैले पनि नेकपाभित्र देखिएको अन्तरद्वन्द्व अस्वाभाविक द्वन्द्व मात्रुपर्छ । अन्तरद्वन्द्व किन भइरहेको छ, यहाँ शङ्का गर्ने ठाउँ चाहिँ अवश्य छ । प्रधानमन्त्री को हुने, नहुने भन्दा पनि मुलुकलाई कसरी नेतृत्व गर्ने भन्ने कुरा महत्वपूर्ण हो ।
नेकपाभित्रको अन्तरद्वन्द्वका कारण राष्ट्रले पनि क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ । सत्ता समीकरणका खेलहरू कति घिनलाग्दा हुन्छन् भन्ने हाम्रो विगतले देखाइसकेको छ । सत्ता टिकाइराख्न सांसदहरूको खरिदबिक्री तथा जम्बो मन्त्रीमण्डल बनाएर सत्तामा टाँसिरहने घटना हाम्रा लागि नयाँ होइनन् । यस्ता घटनाको पुनरावृत्ति नहोस्– नेपाली जनता चाहन्छन् । हिजो के भएको थियो भनेर कोट्याउनुभन्दा त्यस्ता घटना अब नदोहोरिउन् भन्नेमा सजगता अपनाउन आवश्यक छ । यसैकारणले पनि नेकपाले बहुमत प्राप्त गरेको हो ।
कोरोना भाइरसको विश्व माहामारीको चपेटामा नेपाल पनि फसेको छ । कोरोना भाइरसको महामारीभन्दा पनि भोकमरीको महामारी नआओस् भन्ने चिन्ता छ । यो बेलामा सरकारको स्थायित्वमाथि खेलवाड गरियो भने इतिहासले माफी दिनेछैन । पाँच वर्ष सरकार चलाउन स्पष्ट जनमत प्राप्त नेकपा कहीँ कतै नअलमलिई देश र जनताको हितमा काम गर्नुबाहेक अर्को विकल्प छैन । अहिले नमिलेका कुराहरू पनि मिलाउने बेला हो, जनतालाई साँच्चिकै सरकार र सत्तासीन दलले आफ्नो उपस्थिति र भरोसा देखाउने बेला हो । आ–आफ्ना स्वार्थका लागि खिचातानी गरेर जनतालाई निराश तुल्याउने बेला होइन । किनभने नेपाली जनता लकडाउनको पीडाले थिल्थिलिएको बेलामा राज्यशक्ति सत्ताको चलखेलमा अल्मलिँदा यसले जनतालाई निराश तुल्याउँछ नै ।
पार्टी फुट्दाको परिणाम तत्कालीन नेकपा एमाले र नेपाली काँग्रेसले भोगिसकेको कुरा हो । नेपाली काँग्रेसले त आफ्नो बहुमतको सरकार ढालेर मध्यावधि चुनावमा जाँदाको परिणाम पनि भोगिसकेको छ । राजनेताले पुरावृत्त कुराहरू बिर्सिहाल्नु राम्रो होइन । यद्यपि केही असहज होला तैपनि सम्भावित दूरगामी परिणामलाई सोचेर राजनेताहरू निष्कर्षमा जान जरुरी हुन्छ । राजनीति न निरपेक्षी हो न निक्षिप्त । सत्ता र शक्तिलाई दुरुपयोग गर्ने अधिकार कसैलाई पनि हुँदैन । तथापि हामीकहाँ सत्ता र शक्तिलाई दुरुपयोग गरिँदै आइएको छ ।
नेकपामा आन्तरिक झगडाको त्यति ठूलो तुक देखिदैन । सरकार परिवर्तन हुँदा पनि सरकार चलाउने नेकपा नै हो । सरकार परिवर्तन हुनासाथ चमत्कार हुनेवाला पनि छैन । बाँडीचुँडी वा पालैपालो अंशियारका रूपमा सरकार चलाउने कुरा एउटा होला तर यसले नेताहरूको नियतमाथि प्रश्न उठाइहाल्छ, किन सरकारमा आलोपालो ? सरकार व्यक्तिले चलाउने हैन, सिस्टममा चल्ने कुरा हो । सरकार संविधानले प्रबन्धन गरेका अधिकार क्षेत्रभित्र बसेर चलाउनुपर्छ ।
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको एकतालाई वामपन्थी एकताका रूपमा हेरियो । यस एकताको परिणाम पनि राम्रै हुनपुग्यो । अझ सम्पूर्ण वामपन्थी शक्तिको एउटै मोर्चा हुनुपथ्र्यो । वामपन्थी विचार एउटै हँुदा पनि किन वामशक्ति चिराचिरा भएको छ भन्ने प्रश्नको उत्तर खोज्ने हो भने वामवादीहरू व्यक्ति प्रधानतालाई महत्व दिन्छन् भत्रे स्पष्ट देखिन्छ । किनभने सैद्धान्तिक गुरु एउटै हुँदा कुन इच्छाशक्तिले यिनीहरूलाई एउटै मोर्चामा उभिन दिएन त ? यो उठिरहेको सवाल हो ।
यतिबेला धेरैजसो नेपाली वामपन्थीहरूले बहुदलीय जनवाद स्वीकार गरिसकेको अवस्था छ । वामशक्ति संसदीय पद्धतिभित्र प्रवेश गरेर स्पष्ट बहुमत ल्याउनुलाई सानो उपलब्धि मान्न मिल्दैन । संसारबाट साम्यवाद मरिसक्यो भनेर हल्ला गरिरहेको बखतमा नेपालमा हामी साम्यवादलाई मान्दैछौँ भन्दै सत्तामा जानु, चलाउनु स्वयं वामपन्थीहरूका लागि पनि चुनौतीको कुरा हो । किनभने वामपन्थी सैद्धान्तिक स्वरूप कस्तो हँुदोरहेछ त भनेर बुझ्ने यो असल मौका पनि हो । साम्यवादी धार नै नेकपाको हो भने वामपन्थीहरूले चरित्र निर्माण गर्ने बेला पनि यही हो ।
नेकपाको वर्तमान सरकारले वामपन्थी चरित्र निर्माण गर्न सकिरहेको देखिँदैन । प्रजातान्त्रिक समाजवाद वा पुँजीवादलाई खुड्किलो बनाउँदै साम्यवादको चुचुरोमा पुग्ने हो ? यसको स्पष्ट धारणा पाइँदैन तापनि विश्वमा नेपालमा वामपन्थी शक्तिले प्रजातान्त्रिक प्रक्रियाबाट स्पष्ट बहुमत लिएर सरकार बनाएको छ भन्ने सन्देश गएको छ । वामपन्थी चरित्रलाई अक्षुण्ण राख्ने, नराख्ने नेकपाले जान्ने कुरा हो । कहिलेकाहीँ वामपन्थी शीर्ष नेताहरू तथा त्यसको शीर्षस्थ तहबाट सैद्धान्तिक विचलन आएको पनि पाइन्छ । यस्तो किन हुन्छ भन्ने कुराको जवाफमा पनि व्यक्ति प्रधानता नै हावी भएको मान्न सकिन्छ । सारै मीठो तरिकाले सङ्घीयताको विरोध गर्नेमध्ये चित्रबहादुर केसी पनि यही सङ्घीय संविधान अनुसार उपप्रधानमन्त्री हुन पुगेको हामीले देख्यौँ । यसरी नै व्यक्ति प्रधानताबाट चलेका थुप्रै वामपन्थी टुकडीहरू दलीय स्वरूपमा देखिएका छन् । यसैले सबै वामशक्ति किन एक नहुने ? भन्ने सवाल उठ्नु पक्कै पनि अस्वाभाविक मान्न सकिन्न ।
नेपालको संविधानले प्रजातान्त्रिक समाजवादलाई आत्मसात् गर्ने कुरा स्पष्ट पारेको छ । त्यसो भए के संविधान अनुसार जनतालाई समाजवादप्रतिको आत्मबोध तथा आत्मानुभूति गराएका छौँ त ? आजसम्म समाजवादप्रति लक्षित त्यस्ता कार्यक्रमहरू आएका छैनन् । नेकपाको यो सरकारले ल्याउन सक्छ । किनभने यो सरकार शक्तिशाली सरकार हो । यस सरकारका विरुद्ध कसैले पनि टाङ् लडाउन सक्ने ठाउँ छैन । यस्तो अवस्थामा आफ्नै दलभित्रको आन्तरिक विवादमा परेर सरकार अलमलिनु राम्रो सङ्केत मान्न सकिन्न । यतिबेला मूल दलहरू फुटाउनतिर लाग्नुभन्दा भरसक जुटाउनतिर लाग्नुपर्छ । जातीय, क्षेत्रीय, भेगीय क्षेत्रलाई नेतृत्व गर्ने दलहरूबाट राजनीतिको स्थायी समाधान हुन सक्दैन ।
यो दलहरू फुट्ने होइन, जुट्ने बेला हो । आफ्ना दलभित्र सैद्धान्तिक मत एउटै हुँदाहुँदै पनि व्यक्तिगत महत्वाकाङ्क्षाका आन्तरिक अन्तरद्वन्द्वहरू हुन्छन् नै, यस्ता अन्तरद्वन्द्वलाई आन्तरिक रूपमै समाधान गर्न जरुरी हुन्छ । किनभने प्रजातान्त्रिक समाजवादको मूल्य र मान्यताको नजिक पुग्नका लागि धेरै चरण पार गर्न बाँकी छ । यसको गुणस्तर र परिपक्वताका लागि यसले धेरै सङ्क्रमणकालीन चरणहरू पार गर्न अझै बाँकी छ । हामीले आजको विश्वमा विद्यमान राजनीतिक प्रणालीमाथि कुनै एउटा मापन प्रणाली लागु गर्न खोज्यौँ भने हामीले चाहे जस्तो उपलब्धि हासिल गर्न नसकिएला । साथै हामीले अति छिटो रूपमा हामीले चाहेको विद्यमान व्यवस्था मासिएर वा रातारात नै तानाशाहीमा परिणत भएको पनि पाउन सक्नेछौँ । किनभने नेपालको राजनीतिमा निषेचन गर्न देशी–विदेशी शक्तिहरूले चलखेल गर्ने पुरानो रोग पनि विद्यमान छ । नेतृत्वबीचको लडाइँको कहर जनताले खेप्नुपर्ने अवस्था नआओस् ।
(लेखक नेपाली काँग्रेसका पूर्व सांसद हुनुहुन्छ ।)