logo
२०८१ मंसिर १५ शनिवार



सीमा सम्बन्ध र विकल्पहरू

विचार/दृष्टिकोण |




रविनारायण खनाल

लङ्काका राजा रावणको महाप्रस्थानको समय थियो, यस्तोबेला दूत पठाउँदा कूटनीतिक शिष्टाचार जनिने र अन्तिम समयको सूचना र सुझाव महत्वपूर्ण हुने देखेर रामले दूतलाई दरबारमा पठाए । दूतले रावणलाई भेटी शिष्टाचार पोखे । दूतका सामु रावणका अभिव्यक्ति यसरी पश्चात्तापले भरिएको थियो – रामको भन्दा मेरो सेना कुशल थियो , सुवर्ण धन र दौलतमा म अगाडि, राज्यलाई स्वर्ग बनाउने सपनाहरू थिए तर पनि पराजय भोग्नुप¥यो । दूतले सहानुभूतिपूर्वक जिज्ञासा राखे– यत्रो आधार र समृद्धि हुँदा पनि हजुरलाई सफलता हात लागेन नि ? उत्तर आयो, मसँग सिवाय एक सबथोक थियो, रामसँग भाइ थियो, मसँग थिएन ।
नेपालसँगको विवादलाई भारतले पन्छाइरहँदा उसले रावणका शव्दहरू मनन गर्नुपर्दछ । आकार, जनसङ्ख्या, धन र शक्तिका हिसाबले हामी कमजोर तर संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा जान चाहेको, विश्वमञ्चमा मूर्त भूमिका खोजेको छिमेकीले विज्ञ व्यक्तिहरूको प्रतिवेदन –आईपीजी) लाई लत्याएर उम्कन खोज्दाको परिणाम आज देखिँदैछ । रातारात युद्धस्तरमा गर्नुपर्ने वार्तालाई लकडाउनपछि भनेर पन्छाइएका कारण नियतमाथि नै आशङ्का पलाएको छ । नाकावन्दीताकाको अमिलो व्यवहार फेरि एकपटक भारतले पुनरावृत्त गरेको छ ।
हाम्रो मुलुकको सुरक्षा सुनिश्चित गर्न र सीमा विवाद सुल्झाउन इमानदार बन्नसके दक्षिणको छिमेकी भारतलाई पनि अघि बढाउन नसकिने छैन । विश्व शक्ति संरचनालाई सन्तुिलत गर्न असंलग्न राष्ट्र आन्दोलनको सहयात्री भारतलाई सहयोग गर्नुपर्दछ, जसरी चीनलाई राष्ट्रसङ्घमा प्रवेश गराउन नेपालको गौरवशाली भूमिका छ । तर यस प्रकृतिका विषयहरूलाई भारतले सहयात्री समकक्षीको रूपमा नभएर ‘बडाभाइ’को रूपमा प्रस्तुत हुनु अशोभनीय छ । एक्काइसौँ शताब्दीको कूटनीति औपनिवेशिक चरित्रभन्दा फरक छ ।
यहाँ प्रधानमन्त्री हुन उतै आशीर्वाद थाप्न जानुपर्दथ्यो । आयाराम गयाराम सरकारहरूले ‘इष्टदेव’ सामु विवाद राख्ने औकात हँुदैनथ्यो । आज ७० वर्षपछि गठन भएको दह्रो सरकार, नागरिकको जागरुकता र सीमा सम्बन्धमा राष्ट्रिय सहमति खडा भएकै कारण हाम्रा आँखा खुलेका हुन् । महाकालीको उद्गमस्थल टुङ्गो छैन, लिम्पियाधुरा, लिपुसहितको नक्सा र संविधानको अनुसूची सच्याउन सरकारहरू चुकेका हुन् । तिरो बुझाएको रसिद, मतदाता नजामावली, श्री ३ चन्द्र शम्सेरलाई ११६ वर्ष पुरानो मुखियाविरुद्धको दुनियाँदारको पत्र, जनमत सङ्ग्रहको नामावली र भारतीय पाँचवटा नक्साले लिम्पियाधुरा कालापानी क्षेत्र नेपालकै पुष्टि गरेको छ । आज उठेको विषयलाई सीमा सन्धिको रूपमा परिभाषित गरी विवादको कूटनीतिक समाधान गरिनुको विकल्प देखिँदैन ।
सगरमाथा विवाद शान्तिपूर्ण तवरले टुङ्ग्याई उत्तर छिमेकीले नेपालीहरूको मन जितेको छ, मन मनमा शान्त कूटनीतिको छाप भरेको छ । लिपुलेकबारे नेपालले चासो लिँदा चीन सरकारले अघिल्लो वर्ष संयुक्त सर्भेयर टिम पठाई वैज्ञानिक नक्सा उतार्नसम्म सहमत भएको सुनिएको थियो तर चिनियाँ राष्ट्रपति सि चिन फिङ नेपालको भ्रमणमा रहँदा लिपुलेकको प्रसङ्ग उठाउनुपर्ने थियो, त्यो अवसर हामीले उपयोग गर्न सकेनौँ । आज पनि चीनले आफ्नो भूभागतिर बाटो बनाइसकेको नहँुदा सच्याउने सुधार्ने ठाउँ बाँकी छ र बरु चिनियाँ पक्षले नेपाललाई यस विषयमा भारतसँग मिलेर जान सुझाएको छ, तथापि भारत विवादको पृष्ठभूमिमा चीनको उक्साहट देख्छ, उसमा रतन्धोकोे समस्या छ ।
नेपालको इतिहासमा मनमोहन अधिकारी नै पहिलो प्रधानमन्त्री हुनुहुन्छ जसले भारतको भ्रमणमा रहँदा १९५० को सन्धि नवीकरणको एजेन्डा प्रस्तुत गर्नुभएको थियो । एकपटक टेबुल भइसकेको एजेन्डालाई पछिल्ला सरकारहरूले गम्भीरतासाथ ग्रहण गर्न नसक्दा पनि समस्या चुलिन पुगेका हुन् । आज केपी ओली सरकारको पालामा विषय उठेको छ, साथमा राष्ट्रिय सहमति छ र नागरिकहरू जाग्रत भइरहेको अवस्था छ । स्वयं भारतीय प्रधानमन्त्री मोदीको भाषामा दुईदेशबीच सीमा समस्या ९८ प्रतिशत सुल्झेको र दुई प्रतिशत बाँकी भन्ने थियो । अब यो सुल्टाउनुपर्दछ । आज पनि हाम्रा २३ जिल्लाका ७१ स्थानमा विवाद बाँकी छ । छिमेकीसँग विवाद थाती राखेर होइन, खुलेर वार्ताको टेबुलमा अभिव्यक्त हुनुपर्दछ । मैत्रीपूर्ण वातावरण सिर्जना गरी जान बल भारतीय पक्षको कोर्टमा देखिन्छ । भारतले यस विषयमा समयमै अर्थपूर्ण सक्रियता देखाएन भने हामीले फेरि केही वर्ष कष्टकर जीवन भोग्नुपर्ला तर उसले धेरै गुमाउनेछ । अठार घन्टाको लोडसेडिङ, भुइँचालोको पीडामा नाकाबन्दी पचाइसकेको नेपाली जनतामा स्वाभिमानको निम्ति सहन सक्ने ताकत विकास भएको छ । सीमा अतिक्रमणको यो प्रश्नमा नेपालीमाथि थोपरिएका पुराना घाउ बिर्साउने गरी ऊ लोकतान्त्रिक भारतको रूपमा प्रस्तुत होस् ।
यसबेला भारत भद्रसाथ अघि बढ्न सकेन भने नेपालबाट भारतीय पक्षबाट आउने निमन्त्रणा र सहयोगलाई सरकारीस्तरमा अस्वीकार गर्न सक्नुपर्दछ । नाकाबन्दीमा प्रधानमन्त्री र राष्ट्रपतिलाई भारतीय निमन्त्रणा अस्वीकार गरिएको कारण नै नेपालको अडान लौहा सावित भएको थियो । भारतले बहाना झिकिरहँदा विषय राष्ट्रसङ्घ महासभामा सार्वजनिक हुनेछ । कोभिडको आरम्भमै चिकित्सकीय सहयोगका लागि इरानलाई अमेरिकाले प्रस्ताव राख्दा अमेरिकी सहयोग नस्वीकारेको इरानी घटना ताजै छ । तथापि विषयलाई समस्यामात्र होइन, महान् अवसरका रूपमा देख्नुपर्दछ र असल अभ्यासको प्रस्थानबिन्दु पनि हुनसक्छ ।
नागरिक समाजले पनि सिक्नुपर्ने विषय छ, यहाँ विदेशनीतिमा ज्यादा राजनीतिकरण हुने गर्दछ । कम्तीमा विदेशनीतिमा सहमत हुने संस्कार बसाल्नु छ । भारतीय विदेशनीतिलाई अक्षुण्ण र अभेद्य बनाउनमा जवाहरलाल नेहरूको योगदान छ । भारतीय पक्षबाट हामीले सिक्नुपर्ने विषय यही हो । १९६२ को भारत चीन युद्धमा त्यहाँका कम्युनिस्ट दलहरू समेत मौन थिए । नेपालका वामहरू धेरै हन्डरपछि व्यावहारिक र प्रयोजनवादी देखिएका छन् । अतीतमा हमेसा अराष्ट्रवादी तत्वको आरोप खेपेका कम्युनिस्टहरू आज जनमतबाटै राष्ट्रवादी सिद्ध हुँदै लोकतन्त्रमा आधारित समाजवाद, कानुनी राज्य र संविधानवादको समृद्धिमा जुटेर विश्वमा उदाहरण बनेका छन् । नाकाबन्दीको समयमा नाकाबन्दीको नामकरण गर्न नसक्दाको परिणाम आज नेपाली काँगे्रस र मधेसी दलले भोग्नुपरेको छ । राष्ट्रियताको विषय हो, कसैले खेलवाड नगरौँ ।
‘छिमेकी पहिला’ को नारासहित उदाउनुभएका प्रधानमन्त्री मोदीको शपथ ग्रहणले सार्क राष्ट्रमा शक्ति सञ्चार गरेको थियो तर दुईवर्ष बित्न नपाउँदै छिमेकमाथिको अतिक्रमणका कारण भारतले छिमेकी र विश्व समुदायमा छवि बिगारेको छ । भारतीय पक्षले समाधानका सूत्र पहिल्याउन नचाहँदा आज सडकमा गुन्जिएका गे्रटर नेपालका सपनाहरू झाङ्गिँदै जान सक्छ । कतिपयले भारत रिसाएमा नेपालीहरू नुनबाट समेत वञ्चित हुनुपर्ने सोच पनि नपालेका होइनन् तर नियतिले मानवमाथि ओइरिएको महामारीको सामना गर्न आज मानव समुदाय एकजुट हुनुपर्ने बेला सीमाको पर्खाल आरम्भ गर्नुपर्नेसम्मका विषय जनमानसमा छन् । महामारीले राष्ट्रहरू सीमा किल्लालाई सुरक्षित गर्नेतर्फ छन्, सबै संरक्षणवादको दिशामा । हिजो ‘ग्लोबलाइज्ड वल्र्ड’ थियो अब ‘लोकलाइज्ड वल्र्ड’ मा जानुपर्ने अवस्था छ । नेपाल सरकार समस्या समाधानार्थ वार्ताको प्रतीक्षामा छ, पछिल्लोपटक भारतीय रक्षामन्त्रीले पनि वार्ताबाटै समस्या समाधान हुन्छ भन्ने अभिव्यक्ति सञ्चारमाध्यममा दिनुभएको छ । वार्ता अघि बढेमा सीमा नियमनको विषयले प्राथमिकता पाउनुपर्दछ । एकातिर महामारीका विरुद्ध लड्न जुट्नुपर्ने अर्कोतिर कङ्क्रिटको पर्खाल निर्माण गरेर सीमाको रक्षा गर्नुपर्ने देखिएको छ । भारत संवेदनशील हुनसके चाँडै समाधानमा पुगिनेछ अन्यथा लिम्पियाधुरासहितको निशान छाप र नक्सा लोकगीत, भजन, प्रार्थना र विद्यालयका कोर्समा गुञ्जनेछन् । नेपालीहरूको नसामा भारत विरोधीभाव भरिँदै जाने खतरा रोक्न भारतीय पक्ष अगाडि बढोस् ।
(लेखक वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?