logo
२०८१ मंसिर १४ शुक्रवार



स्वास्थ्यकर्मीको हालत

विचार/दृष्टिकोण |




समीक्षा लामिछाने

पछिल्लो समय कोभिड सङ्क्रमितको सङ्ख्या उल्लेखनीय रुपमा बढेसँगै अग्रमोर्चाका स्वास्थ्यकर्मी झनै जोखिमतर्फ धकेलिएका छन् । विभेदका कारण पटकपटक अपहेलित हँुदै आएका चिकित्सक ÷ स्वास्थ्यकर्मी अहिले त झन् आफ्नै ज्यान जोखिममा राखेर कार्य गरेका छन् त यिनीहरूलाई नै नराम्ररी हतोत्साहित बनाएको छ समाजले ।
सङ्क्रमणको बढ्दो जोखिममा पनि बालबच्चा, घर परिवार, आफन्त र आफ्नै ज्यानको समेत पर्वाह नगरी दिनरात कार्य गरिरहेका स्वास्थ्यकर्मीमाथिको प्रहार एकदमै निन्दनीय हुन्छ । कतै अस्पताल नै तोडफोड गरिएका छन्, स्वास्थ्यकर्मीमाथि हातपात भएका छन्, वासस्थानबाट लखेटिएका छन् त कतिपय ठाउँमा घेराउ गरिएका छन् । कोरोना सङ्क्रमितदेखि यावत् रोगको उपचारमा खटिएका त तिनै चिकित्सक, नर्स, प्राविधिक लगायत स्वास्थ्यकर्मी हनु् जो आफैँमा पनि सङ्क्रमणको दर वृद्धि भएको छ । उनीहरूको मनोविज्ञान खस्कियो भने कसले बचाउँछ ?
केही हप्तायता मात्र बिरामीको उपचार र हेरचाहमा खटिएका पाँच सयभन्दा बढीको सङ्ख्यामा स्वास्थ्यकर्मी कोरोनाको सङ्क्रमणबाट ग्रसित भइसकेको तथ्याङ्क छ तर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रमित स्वास्थ्यकर्मीको सङ्ख्या योभन्दा धेरै हुनसक्ने जनाएको छ । हुन पनि धेरै अस्पतालले स्वास्थ्यकर्मी सङ्क्रमित भएको भनेर सूचना दिँदा बिरामी उपचारका लागि नआइदिने, अस्पतालमा स्वास्थ्य जनशक्ति अभाव हुने र स्वास्थ्यकर्मीलाई पनि समाजले अपहेलना गर्ला, विभेद गर्ला भन्ने डरले यकिन सङ्ख्या उपलब्ध गराएका छैनन् । अग्रपङ्क्तिमा खटिने नै सङ्क्रमित हुँदा महामारी रोकथाम र नियन्त्रण झनै असहज बन्दै गइरहेको छ । बिरामीको उपचारमा ‘फ्रन्टलाइन’मा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मी नै धमाधम सङ्क्रमित हुन थालेपछि उपत्यका र उपत्यकाबाहिरका नाम कहलिएका कतिपय स्वास्थ्य संस्थाले समेत आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्दै आएका छन् । यसले गर्दा नियमित उपचार र हेरचाहको आवश्यकता भएकाहरू, प्रसूति सेवा तथा डायलाइसिस जस्ता अत्यावश्यक सेवा लिनबाट बिरामी वञ्चित हुँँदैछन् ।
स्वास्थ्यकर्मी सङ्क्रमित हुँदै गए अवस्था भयावह हुनसक्छ । महामारी सुरु भएको यतिका समयसम्म पनि अस्पतालहरूले दिने सेवा र प्रक्रिया परिवर्तन र व्यवस्थित नहुँदा स्वास्थ्यकर्मी आफैँ सङ्क्रमित हुँदै गइरहेका छन् । अस्पतालका अन्य सेवा पनि प्रभावित भएका छन्, एउटा ‘केस’ देखिनेबित्तिकै अस्पताल नै सिल (बन्द) गरेर सबैलाई ‘आइसोलेसन’मा राख्नुपर्ने अवस्था सिर्जना भएको छ ।
विज्ञहरूले बारम्बार सुझाएको कोभिड र ‘ननकोभिड’को छुट्टाछुट्टै अस्पताल हुनुपर्ने सुझावलाई विचार नगरी जताततै सङ्क्रमित राखिँदा पनि अन्य स्वास्थ्यकर्मी सङ्क्रमणमा परिरहेका छन् । अस्पतालमा ननकोभिड सेवा दिने वार्डमा पनि कोभिड वार्डकै जस्तो अत्यावश्यक न्यूनतम सुरक्षा सामग्री उपलब्ध गराएर सेवा सञ्चालन गरेमा मात्र अन्य बिरामी र स्वास्थ्यकर्मी सुरक्षित हुनेछन् अन्यथा सम्पूर्ण सेवा नै प्रभावित हुन्छ ।
अत्यावश्यक स्वास्थ्य उपकरण र सामग्री नहुँदा दुर्गममा खटिएका स्वास्थ्यकर्मी जोखिममा परिरहेका छन् । कोरोना भाइरस रोकथामका लागि ग्रामीणक्षेत्रमा सञ्चालित हेल्थडेस्क, क्वारेन्टाइन, स्वाथ्यचौकीमा अझै पनि गुणस्तरीय र पर्याप्त मात्रामा स्वास्थ्य सुरक्षा सामग्री पु¥याउन सकिएको छैन । कतिपय अस्पतालले सतर्कता र सावधानी नअपनाउँदा व्यवस्थापकीय कमजोरीका कारण स्वास्थ्यकर्मी असुरक्षित भएका छन् । अस्पताल प्रशासनले समेत सङ्क्रमितको उचित व्यवस्थापन, सरसफाई, फोहोर व्यवस्थापन, भौतिक दूरी तथा प्रविधिको उच्चतम प्रयोग गर्न सकेको खण्डमा स्वास्थ्यकर्मीलाई सङ्क्रमणबाट जोगाउन सकिन्छ ।
नेपालमा कोरोना सङ्क्रमणको तीव्र फैलावटसँगै आईसीयु र भेन्टिलेटरमा राख्ने बिरामी बढिरहेका छन्, मृत्युदर पनि बढेको छ जसको प्रत्यक्ष जोखिम स्वास्थ्यकर्मीलाई नै हुने गर्दछ । पीपीई लगाएर लामो समयसम्मको निरन्तर कार्यबोझले उत्पन्न शारीरिक थकान, विभिन्न स्वास्थ्य समस्यासँगै मनोवैज्ञानिक असर पनि उत्तिकै हुन्छ । विगत ५–६ महिनादेखि निरन्तर खटिइरहेका छन् स्वास्थ्यकर्मीहरू । खोई तिनलाई न्यूनतम सेवा, सुविधा र प्रोत्साहन? तर खटिएकै छन् अहोरात्र तिनीहरू ।
विश्वव्यापी कोरोना महामारीविरुद्धको युद्धमा अग्रस्थानका योद्धा भनेका स्वास्थ्यकर्मीहरू नै हुन् । उनीहरूको सुरक्षालाई ध्यान नदिने, शारीरिक, मानसिक र पारिवारिक सुरक्षा नहुने हो भने महामारीविरुद्ध लड्ने आत्मबल कमजोर हुन्छ । कोरोना सङ्क्रमितका लागि खटिने सबै चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीमाथि हुने सबै प्रकारका विभेदको अन्त्य गरिनुपर्दछ । महामारीविरुद्ध लड्न र सङ्क्रमितको सुरक्षाका लागि उनीहरूलाई थप सहयोग र सद्भाव जरुरी छ । त्यसैले हो– चीनले त उनीहरूको सम्मानमा राष्ट्रिय समारोह नै ग¥यो र भन्यो– जनयुद्धका सिपाही !
देशमा ‘म्यसिभ आउटब्रेक’को जोखिम बढ्दो छ । राज्यको सम्पूर्ण स्वास्थ्यप्रणाली नै कमजोर रहेको अवस्थामा स्वास्थ्यकर्मीहरू आफैंँ थलिँदै जाने, दुव्र्यवहार र अपहेलनाको शिकार बन्नुपर्ने हो भने भोलिको अवस्था के होला मनन गर्नुपर्ने बेला भएको छ । तिनलाई सम्मान कि अवहेलना ?! मनन गरियोस्– जुनसुकै महामारीको सङ्कटमा राज्यको प्रतिनिधित्व गर्ने स्वास्थ्यकर्मी नै हुन् । 
(लेखक नर्सिङ विभाग, पाटन अस्पतालमा कार्यरत हुनुहुन्छ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?