logo
२०८१ मंसिर १४ शुक्रवार



सुगौलीको सङ्घात

विचार/दृष्टिकोण |




भागवत खनाल

विक्रमको उन्नाइसौँ शताब्दीमा गोर्खाली शक्तिले वरिपरिका स–साना राज्यलाई नेपाल अधिराज्यमा गाभी एउटा बलिष्ठ राज्य निर्माण गर्दै थियो । दक्षिणमा इस्ट इन्डिया कम्पनीले दपेटिरहेको थियो । विश्वको सबैभन्दा प्रभावशाली शक्ति र भर्खरै अभ्युदय हुँदै गरेको अदम्य र महŒवाकाङ्क्षी नेपाली शक्ति ‘आमनेसामने’ हुनु अवश्यम्भावी थियो ।
घटनाहरूले युद्धको सङ्केत गरिरहेका थिए । किन्तु नेपालको तयारी कच्चा थियो । सन् १८१४ को नोभेम्बर १ तारिख (कसैकसैले नोभेम्बर २ पनि लेखेको पाइन्छ) अर्थात् ठीक दुई सय छ वर्षअघि ब्रिटिस इस्ट इन्डिया कम्पनीका गभर्नर जनरल वारेन हेस्टिङ्सले नेपालविरुद्ध युद्धको घोषणा गरे ।
भिडन्तको विकल्प थिएन तर नेपाल स्तब्ध थियो । अनिवार्य युद्धका लागि नेपालको पूर्वतयारी किन कमजोर भयो ? यो युद्धलाई तत्काललाई टारेर समुचित तयारी किन गरिएन ? नाबालिग राजा सत्तामा रहेको त्यस समयमा शक्तिको केन्द्रमा रहेका व्यक्तिबाट के–कस्तो चुक हुन गयो ? सम्भावित युद्धबारे जानकार भारदारबीचमा यस्तो महŒवपूर्ण विषयमा किन सम्यक तरिकाले निर्णय र समन्वय हुन सकेन ? यी प्रश्न
पछिसम्म गरिनेछन् ।
यो युद्धभन्दा करिब २२ वर्षअघि नेपालले चीनसँग निर्णायक युद्ध गरेको थियो । तत्कालीन मुख्तियार बहादुर शाहले चीनसँग युद्ध हुने अनुमान गरेरै इस्ट इन्डिया कम्पनीसँग वाणिज्य सन्धि गरेका थिए । बहादुर शाहको भित्री आशा थियो– मैत्री सन्धिको फलस्वरूप चीनसँगको युद्धमा कम्पनीले नेपाललाई सहयोग गर्ला तर चीनको ठूलो फौज नेपालभित्र प्रवेश गरेर काठमाडौँबाट एक दिनको दूरीमा आइपुग्दा पनि कम्पनीले सहयोगको हात बढाएन । काठमाडौँमा ‘अफरातफरी’ मच्चियो । मुलुकको खजाना मकवानपुर सार्नुपर्ने हो कि भन्ने अवस्थामा पुग्यो नेपाल ।
बलात् गरिएको बेत्रावतीको सन्धिमा चीन पिताका रूपमा र नेपाल एवम् तिब्बत दुई भाइका रूपमा रहने व्यहोरासम्म उल्लेख हुन गयो । सन्धिको एउटा धारामा कुनै विदेशी शक्तिले नेपालमाथि चढाइ गरेमा चीनले नेपाललाई सहयोग गर्ने व्यहोरा उल्लेख भएको थियो । चीनसँग झुक्न बाध्य हुनुपरे तापनि विस्तारवादी ब्रिटिस शक्तिसँग जोगिन सकिने आशामा थिए– बहादुर शाह । चीनले आफूलाई ‘बाबु’को दर्जामा राखे पनि हिमालवारिसम्म कब्जा गर्न आउने इरादा राख्दैन भन्ने कुरामा नेपाल निश्चिन्त भयो ।
कम्पनीको आक्रमणको समयमा राजा गीर्वाणयुद्धविक्रम शाह १७ वर्षका थिए । राजाको मुख्तियारी सम्हालेर बसेकी माता महारानी ललितत्रिपुरा सुन्दरी (भीमसेन थापाकी भतिजी) लगभग २० वर्षकी । दुवै भीमसेन थापाको अनुग्रहको भारीले थिचिएका थिए । समस्त राज्यशक्ति भीमसेन थापाको हातमा थियो ।
भीमसेन थापामा युद्धमैदानको अनुभव थिएन । उनी सोच्थे– अङ्ग्रेजहरू नेपोलियसँगको थकाइबाट मुक्त भइसकेका छैनन् । उनमा ‘गोर्खाली शक्ति’उपर भावुक किसिमको भरोसा थियो । युद्धकै विषयमा सल्लाह गर्न बसेको भारदारीसभामा पाका मानिस युद्धलाई टार्ने पक्षमा देखिए भने भीमसेनले नेतृत्व गरेको भावुक युवा समूह युद्धको पक्षमा थियो ।
भीमसेन थापाले सोही सभामा किशोर राजालाई सम्बोधन गर्दै भनेका थिए, ‘महाराजको सौभाग्य र प्रतापले आक्रमण गर्न आएका चिनियाँहरू त सन्धि गरेर फर्के भने यी फिरङ्गीहरू कसरी हाम्रा पहाडमाथि चढाइ गर्न सफल होलान् ? भगवान्बाट निर्मित हाम्रा पर्वतहरू अजेय छन् ।’ ‘योद्धा’ हुनुपर्ने बखतमा प्रधानमन्त्रीमा ‘कवि मन’ उर्लेर आयो ! बडाकाजी अमरसिंह थापा अत्यन्त अनुभवी बयोवृद्ध सेनापति थिए । उनलाई हिन्दुस्थानका सबै राज्य र राजाबारे यावत् कुरा थाहा थियो । बडाकाजीकै सल्लाहबमोजिम विभिन्न हिन्दुस्थानी राज्यमा ब्रिटिस शक्तिका विरुद्ध एक हुन आह्वान गर्दै दूतसमेत पठाइएका थिए । उनी जसरी पनि युद्ध टार्ने पक्षमा थिए । बूढा काजीले धैर्य ! धैर्य ! भनेको सुनेर युवा समूह हाँस्यो । ‘भावुक राष्ट्रवाद’बाट प्रेरित नभई, परिपक्व कूटनीतिक प्रवीणता देखाउन सफल भएको भए भीमसेन थापाको नाम अझै सुन्दर अक्षरले लेखिने थियो ।
बडाकाजीले यतिसम्म आरोप लगाएका थिए कि भीमसेन थापाका बाबु (सानो काजी अमरसिंह थापा, जो पाल्पाको तैनाथीमा थिए)ले विवादित जमिनको आम्दानीको लोभले छोरालाई युद्धका लागि उक्साइरहेका छन् (रमाकान्त, इन्डो नेपाल रिलेसन) ।
जुनसुकै राष्ट्रमा युद्धपक्ष र शान्तिपक्षबीच वादविवाद हुँदा युद्धपक्ष नै हाबी हुन्छ । यस्तोमा शान्तिका पक्षपाती र भरसक युद्ध टार्न प्रयत्न गर्नेहरूलाई पलायनवादी या ‘अराष्ट्रिय’को आरोप लाग्ने सम्भावना हुन्छ । नेपालको भारदारी बैठक युद्धको पक्षमै गयो । तथापि जुन तरिका र गतिमा तयारी हुनुपथ्र्यो त्यो हुन सकेन ।
नेपालले खटाएका चार मोर्चामा विजयपुरतर्फ भीमसेन थापाका भाइ बख्तावरसिंह थापा, मकवानपुरमा रणवीरसिंह थापा, पाल्पा–बुटवलमा भतिजा उजिरसिंह थापा र सुदूरपश्चिमको मोर्चामा बडाकाजी अमरसिंह थापाको नायकत्वमा बलभद्र कुँवर, बम शाह, रणजोरसिंह थापा र भक्ति थापा आदि सेनापतिहरू थिए ।
पूर्वका सबै मोर्चामा नेपाली सेना सफल भयो । बुटवलतर्फको युद्धमा १९ वर्षका किशोर सेना नायक उजिरसिंह थापाको सौर्यले गर्दा कम्पनीको सेना गोरखपुरतपÞर्m भाग्न बाध्य भएको थियो । मकवानपुरमा पनि फिरङ्गीको केही चलेन । कालीपश्चिम कब्जा गर्ने मनसायले कम्पनीले सुदूरपश्चिमी मोर्चामै ठूलो शक्ति खर्च गरेको थियो ।
युद्ध सुरु नहुँदै सन्धिको मस्यौदा तयार गरेर राखेका गभर्नर जनरल हेस्टिङ्सको भित्री उद्देश्य नेपाललाई महाकालीवारि धकेल्ने रहेछ भन्ने कुरा त तबमात्र थाहा भयो, जब उनले बडाकाजी अमरसिंह थापालाई महाकालीपारिको जमिन खाली गर्न विवश पारे । झगडाको बीउ थियो– बुटवल र गण्डकीवरिपरिको क्षेत्र । परिणाममा ती विवादित क्षेत्र नेपालमै रहे भने कालीपश्चिम र मेचीपूर्वको जमिन उता गयो ।
युद्धकै समयमा र सन्धिपछि समेत नेपालले चीनको सहयोगका लागि निरन्तर प्रयास गरेको थियो तर अङ्ग्रेजले चीनलाई फस्याङफुसुङ पारिसकेको थियो । तत्काल नेपालले गरेको सहायताको अनुरोध सम्बन्धमा ल्हासास्थित चिनियाँ राजदूतले पठाएका प्रत्युत्तरहरू अत्यन्तै अपमानजनक थिए । सहायताको कुरा त परै, उल्टै ‘अर्जी सौगात नपठाए तिमीलाई मारिदिउँला, ...तिमी फिरङ्गीसँग त लड्न नसक्नेले हामीसँग के सकौला ...तिमी नेपाली राजा केही नजान्ने बालक भएको हुँदा मात्र हामीले बादशाहकहाँ जाहेरी नगरेको हो, नत्र ... पछि यस्तो अर्घेलो नगर्नू ...’ (नेपाल –भारत र चीन सन्धि, समीक्षात्मक विवेचना) । यसरी चीनको तर्फबाट सारा आशा मरेको थियो ।
सानो देशलाई ठूला देश मिले पनि हैरान, लडे पनि हैरान भनेर बुझ्नुपर्ने ऐतिहासिक पाठ हो यो ।
पश्चिमको मोर्चा विफल रहनुका धेरै आयाम छन् । महाकालीपारिका प्रजा नेपालसँग रत्तिन सकेका थिएनन् । नेपाली सेनापतिहरूको व्यवहार पनि उनीहरूप्रति राम्रो थिएन । बम शाह र भक्ति थापाजस्ता सेना नायकले त्यताका मानिसलाई दण्ड दिई दास बनाएका थिए (डा. बमबहादुर भण्डारी) । युद्धकै समयमा नेपाली सेनाबाट भागेका युवकहरूलाई कम्पनीले आफ्नो सेवामा लिएको थियो । जनरल अक्टरलोनीले ‘गोर्खा पल्टन’ गठन गरेका थिए ।
पश्चिमी मोर्चाका सेनापतिहरूमाझ वैमनस्य थियो । बम शाह र अमरसिंहबीचको सम्बन्ध राम्रो थिएन । तिनै बम शाहले आत्मसमर्पण गरेको थाहा पाएपछि अमरसिंह पूर्णतः निराश भएका थिए । पुराना रजौटालाई कम्पनीले फकाएर आफ्नो पक्षमा पारेको थियो । अवधका बजीरले कम्पनीलाई ठूलो आर्थिक सहायता गर्नु नेपालका लागि घातकसिद्ध भयो । पूरक सन्धिमा राप्ती पश्चिमको तराई फिर्ता नहुनुका कारण
यही थियो ।
यताका हरेक कुराको सूचनामा कम्पनीको सहज पहुँच थियो भने नेपाली सेनापतिहरूलाई अर्को मोर्चामा के भइरहेको छ भन्नेसम्म थाहा थिएन । उनीहरू कम्पनीका सिपाहीले फैलाएका अफवाहलाई पत्याउन बाध्य थिए । नालापानी छाडेर हिंडेका बलभद्र (अमरसिंहका छोरीतर्फका नाति) मारिए भन्ने हल्ला चलाइयो । केन्द्रबाट गएको थप झिनो शक्तिले केही गर्न सकेन । उता ७३ वर्षका वीर सेनापति भक्ति थापा सहिद भए । केही सीप नलागेपछि अमरसिंह थापा कालीपारिको जमिन खाली गर्न बाध्य
भएका थिए ।
चीनले दिएको निराशापछि भीमसेन थापाले फेरि एकपल्ट सबै मिलेर फिरङ्गी लखेट्ने योजनासाथ चीनलगायत ग्वालियर, लाहोर आदि राज्यमा गोप्य पत्रसाथ दूत पठाएका थिए तर ग्वालियर पठाइएका दूतलाई अङ्ग्रेजले समात्यो । दूत पदमपाणिबाट बरामद भएका कागजपत्रहरू ब्रिटिस रेजिडेन्टमार्फत भीमसेन थापाकै हातमा आइपुगेका थिए । नोभेम्बर १८१७ मा कम्पनी र दौलतराव सिन्धियाबीच र १८१८ मा होल्करको हारपछि त सारा किस्सा नै खत्तम भयो । होल्करमाथिको जितमा नेपालले कम्पनीलाई खुसी पार्न बधाइ नै पठाएको थियो (रमाकान्त) ।
सबै ढोका बन्द भएपछि भीमसेन थापाले ब्रिटिस भारतसँग उनीहरूको शब्दमा ‘पिनप्रिक्स पोलिसी’बाट समेत बिदा लिए । पछिल्लो समयमा कम्पनी सरकारसँग उनको सम्बन्ध सुमधुर नभए तापनि शान्तिपूर्ण रह्यो । उनी कुनै उपायले सुगौली सन्धिलाई खारेज गरेर नयाँ सन्धि गरी ऐतिहासिक कलङ्कबाट मुक्त हुन चाहन्थे । किन्तु सोही सन्धिको माध्यमबाट नेपाली शक्तिको मानमर्दनमात्र होइन, सदाका लागि ठेगान लगाउने प्रण गरेको ब्रिटिस शक्ति पूरक सन्धिमात्र गर्न मन्जुर भयो । मूल सन्धिमा गुमेको तराई फिर्ता गर्न सफल भएपछि भीमसेन थापाले लामो सास फेरेका थिए ।
यही आघातले नेपालको व्यक्तित्वमा मात्र धक्का लागेन, युद्धप्रेमी युवाशक्ति कम्पनी सरकारको सैनिकमा परिणत भयो । यसैको परिणामस्वरूप देश छाडेर विदेश जानेको इज्जत बढ्ने संस्कृतिको विकास भयो । देशका खानी र उद्योग बन्द भए । लाहुरेको धेरैजसो कमाइ चुरोट, मखमल, अत्तर र झिलिमिलीमा उतै खर्च भयो । त्यही प्रभावले गर्दा अझै पनि नेपाली युवामा खेतबारी बाँझो राखेर बिदेसिने प्रवृत्ति
जीवितै छ ।
ब्रिटिस शक्तिले आर्जन गरी छाडेको एकीकृत जमिनमा राज गरिरहेको हिन्दुस्थान सरकारले उसैले कायम गरेर गएको सिमाना मिच्न किञ्चित लाज नमानेको देख्दा आश्चर्य लाग्छ ।
(लेखक नेपाल सरकारका पूर्वसहसचिव हुनुहुन्छ ।)

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?