भागवत खनाल
म करिब पाँच/छ वर्षको थिएँ । तीज आउन एक हप्ता बाँकी थियो । बिहान सबेरै बाले बोलाउनुभयो । हामी सबै केटाकेटीहरू पिँढीमा जम्मा भयौँ । पर ढिकीको छेउमा हाम्रा बालीघरे दमाई काका बस्नुभएको रहेछ । आकर्षक व्यक्तित्वका धनी काका शानदार हुनुहुन्थ्यो । उहाँ दुईटै खुट्टा तल झुन्ड्याएर सानो लिप्टे गुन्द्रीमा बस्नुभएको थियो । हामीले पालैपालो नयाँ लुगाको नापो दियौँ । काकाले नाप्दै पिँढीको भुँइमा कपडा रगडेर चिन्हो लाउँदै गर्नुभयो । काकाले भन्नुभएको थियो, ‘पख है बाबुनानीहरू अहिले उता जानुहुँदैन ।’ सबैका नापो लिएपछि काकाले भन्नुभयो, ‘बाजे ! कपडा छेकेर सकियो । बाले हामी सबैलाई पानी छ्यापेर भन्नुभयो, ‘लौ भयो ।’ हामी ‘चोखा’ भयौन् ।
चार दिनपछि म दिदीको पछि लागेर दमाई काकाकहाँ गएको थिएँ । मैले कहिल्यै नदेखेको रेडियो बाजा किलामा झुन्ड्याएको रहेछ । बाजाले गाइरहेको थियो, ‘साइँली रिमाई चौँरी गाई झर्यो रिमाई मधुवनैमा ।’ म रोमाञ्चित भएको थिएँ । त्यस्तै बाजा मेरो घरमा आउन अरू छ/सात वर्ष लाग्यो ।
काकाको घरभित्र मकैभटमास भुट्दै थिए । मलाई आशा थियो, मैले पनि तात्तातो मकैभटमास खान पाउनेछु । काकाका मभन्दा धेरै सुन्दर र सुकिला छोराछोरी मकै चपाउँदै वरिपरि खेलिरहे तर कसैले ला भनेन । मैले दिदीलाई भनेँ, ‘दिदी हामीलाई दिएनन् त !’ दिदीले भन्नुभयो, ‘हामीले यिनीहरूले छोएको खानुहुँदैन, जात जान्छ ।’ मैले सोधेको थिएँ, ‘के हो जात भनेको ? कहाँ जान्छ ?’ दिदीले भन्नुभयो, ‘त्यो त थाहा छैन ।’ हाम्रो कुरा सुनेपछि मजस्तै उमेरको भाइले एउटा दुनामा मकै ल्याएर दियो । काकाले ‘ए–ए हुन्न !’ भन्दासम्म मैले दुई गाँस हालिसकेको थिएँ । फर्कने बेलामा दिदीले भन्नुभयो, ‘आज तेरो जात गयो ।’ धन्न दिदीले अरू कसैलाई भन्नुभएन । यसरी एक दुनो मकैभटमासमा पहिलोपल्ट जात गयो ।
मैले दुई कक्षामा पढ्दा एकजना विवाह भइसकेका सहपाठी भेट्टाएँ । उनी अत्यन्तै मेधावी थिए । अरू छात्रछात्राले पाँच एकानी पाँच घोक्न महाभारत थियो । किन्तु ती जगबहादुर दमाई दाइले ३३ एकानी ३३ मुखाग्र भनेर शिक्षकको सातो लिन्थे । केही दिनपछि प्रतिभाका पुञ्ज ती किशोर स्कुल आउन छाडे ।
उनीहरू प्रायः पढाइमा तेज हुने गर्थे । तर, एक/दुई वर्षमै स्कुल छाड्ने बाध्यता थियो । आर्थिक रूपले सबै ‘जात’का विद्यार्थी लगभग समान थिए । तर, ठूलो कक्षासम्म पढ्ने खासगरेर बाहुन र क्षेत्री हुन्थे । आर्थिक अवस्थामात्र समानताको निर्धारक होइन भन्ने थाहा पाउन मलाई अरू धेरै वर्ष कुर्नुप¥यो ।
व्यक्तिमात्र सत्तासीन हुँदैन, जातीय र लिङ्गीय चेतना पनि सत्तासीन हुन्छ । आफू नपढेको भए तापनि पढाइको गरिमा थाहा पाएको अभिभावक र पढाइ भन्ने कुनै चरो पनि यस दुनियाँमा हुन्छ भन्ने ज्ञान नपाएको अभिभावकमा हुने फरक यही हो । पुस्तौँदेखि कायम हुँदै आएको अज्ञान र वञ्चनाको मनोविज्ञान अत्यन्त गहिरो छ ।
राजा जयस्थिति मल्लको पालामा जयन्त नाम गरेका मन्त्री, कीर्तिनाथ उपाध्याय, मैथिली रघुनाथ झा, रामनाथ झा र दक्षिणी श्रीनाथ भट्ट र महिनाथ भट्ट गरी पाँचजना ‘सर्वशास्त्र ठूला बुद्धिमान हुनाले’ तिनैहरूको ठहरबमोजिम लोप भइरहेको आचार आदिको ‘थिति बाँधेको’ कुरा उल्लेख भएको पाइन्छ । जात चिन्नलाई ‘कसाई जातले बाहँकटे लुगा लाउनू, पोडेले टोपी, लबेदा, जुत्ता, सुनको गहना यति नलाउनू । पोडे, कसाई र चर्मकारले झिँगटीको छानो भएको घर नबनाउनू, नबस्नू । ...यस्ता चलन चलाई देश–देशमा कीर्ति चलाए’ भनी उल्लेख भएको छ । विभिन्नखाले अपराध गर्ने ‘कथित’ तल्लो जातको व्यक्तिलाई अपराध हेरी लिङ्ग काटेर खुवाउनेदेखि लिएर विभिन्न जघन्य सजायको व्यवस्था देख्दा हृदय नै सिरिङ्ग हुन्छ ।
सानातिना अपराध गर्नेलाई आर्थिक दण्ड तोकिएको थियो । दण्ड तिर्न सक्नेको साबिकको जात कायम हुने र नसक्नेको जात पतीत हुने व्यवस्था देख्दा आश्चर्य लाग्छ । ‘त्यो बेलाको समय नै त्यस्तै थियो । सबै कुरा युगसापेक्ष हुन्छ’ भन्ने तर्क आउन सक्ला । परन्तु समान अपराधका लागि समान सजाय नगरी चरम विभेद गरिएको देख्दा चित्त बुझाउने ठाउँ नै रहेन । काठमाडौँ उपत्यकाजस्तो ठन्डा ठाउँमा न्यानो लुगा र जुत्ताको आवश्यकता पर्ने श्रमिकवर्गलाई लामबाहुले लुगा र जुत्ताबाट वञ्चित गरिनु अविवेकको पराकाष्टा हो ।
यो नजाती प्रथालाई निरन्तरता दिनमा पृथ्वीनारायण शाहले पनि कुनै कसर राखेनन् । छुवाछूत् प्रथाका किञ्चित विरोधी मानिएका राजा रणबहादुर शाहले समेत आफूलाई मन नपरेका व्यक्तिलाई जात पतीत गर्न बाँकी राखेनन् । जङ्गबहादुर राणाले त कानुनी व्यवस्था गरेर विभेदलाई संस्थागत नै गरे । राजा त्रिभुवनले भनेका थिए, ‘प्रजातान्त्रिक मुलुकमा जातीय विभेद तथा छुवाछूत् उन्मूलन गर्ने या नगर्ने भन्ने कुरा एक÷दुई व्यक्तिले निर्णय गरेर हँुदैन । यो सम्पूर्ण जनताको समझदारीबाट निर्णय हुने कुरा हो ।’ २०२० साल भदौ १ देखि लागू भएको नयाँ मुलुकी ऐनले मात्र छुवाछूत प्रथालाई कानुनी रूपमा प्रतिबन्ध लगाउनमा प्रारम्भिक भूमिका खेलेको थियो ।
कालो फलामलाई आगोमा हाली रातो पारेर भुँइमा गाडिएको अर्को फलाममाथि राखी ठूलो सनासोले अँठ्याइएको थियो । एकजना किशोरले घन हानिरहेका थिए । हम्हम् आवाजमा ज्यानमा भएभरको बल लगाएर निरन्तर घन हान्ने ती किशोरको नाकको टुप्पाबाट झर्ने पसिनाका थोपाहरू तातो भुँइमा विलीन हुन्थे । आफैँले हुर्काएको लाम्पाते काँचो सुर्तीको पात मुखमा राखेर दुःख बिर्सने असफल प्रयास गर्दै पिच्च थुकेको थुक तातो खरानीमा झ्वाइँय गरेर हराउँथ्यो । आगोका झिल्काले हिर्काएर ठाउँ–ठाउँमा प्वाल परेको भोटो र चार हात लामो यता तान्दा उता ह्वाङ्ग हुने कछाडमा बेरिएका जवानीमै उमेर पाकेका विश्वकर्मा बूढा अरूलाई सुकिलो राख्न आफू फोहोरी बनेका महात्माजस्ता देखिन्थे । केही श्रम नगरी ध्यान र पूजा गरेर आफैँलाई भागवतभक्त मान्ने अहङ्कारी ‘धर्मात्माहरू’माथि गरिएको कठोर व्यङ्ग्यका रूपमा वर्षन्थे ती घनका निर्मम प्रहारहरू ।
घन ठोक्दा थाकेर लखतरान परेका किशोरलाई बाबुले ‘ऐले थाकिस् । जा भित्र गएर केही मागेर खा’ भन्दा उनी मुसुक्क हाँसे । उनै किशोरले कोदाको तात्तातो कालो रोटी देखाउँदै भने, ‘खान्छौं ?’ मेरो मौन स्वीकृतिमा उनले च्यातेर दिएको रोटीको टुक्रो खाएर दोस्रोपल्ट जात गएको थियो मेरो ।
प्राचीन हिन्दु समाजमा सबका सब पढाइ, पाठपूजा, युद्ध र व्यापारमा सरिक हुन थालेपछि सत्तालाई फसाद परेको थियो । समाज सुधार गरेर श्रमको महŒव र प्रतिष्ठा कायम गर्नुभन्दा श्रम गर्ने एउटा वर्ग कायम गर्न उद्यत भयो पौराणिककालको सत्ता । भनिन्छ, ‘वेदमा विभेदका कुरा छैन ।’
ब्राह्मणोऽस्य मुखमासीद्बाहू राजन्यः कृतः ।
ऊरू तदस्य यद्वैश्यः पद्भ्यां शूद्रोऽजायतः ।।
(ऋग्वेद संहिता) । यही कुरालाई मुखबाट र बाहुबाट निस्केका श्रेष्ठ हुन् भन्ने व्याख्या गरेर विभेदलाई मलजल गर्ने काम भयो । समयअनुसार परिवर्तन हुने विशेषता बोकेको हिन्दु धर्मलाई अपरिवर्तनीय भनेर व्याख्या गर्न पनि बाँकी राखिएन । कतिको भनाइ छ– मनुस्मृतिमा उल्लेख भएका विभेदकारी कुराहरू क्षेपित हुन् । त्यसो हो भने ती अवाञ्छित अंशहरू निकालेर फाल्नुप¥यो । विभेदमा परेकालाई वेदसँग होइन, सामाजिक विभेदसँग सरोकार छ । पैसाको अदम्य लालसा बोकेर हिन्दुस्तान आएका अङ्ग्रेजहरूको मूल ध्येय कमाउनुमात्र थियो । इस्ट इन्डिया कम्पनीले लगानीकर्ताहरूलाई सयकडा डेढदेखि दुई सय प्रतिशतसम्म मुनाफा बाँड्थ्यो । धन लोलुप उनीहरूले त्यही वर्गको संरक्षण गरे, जसको हातमा सम्पत्ति र शक्ति थियो । कट्टरपन्थी मानिसले भनेअनुरूपका कानुन बने । हिन्दु धर्ममा परिवर्तन र सुधार हुने प्रक्रियामा विराम लाग्यो । त्यसको बाछिटाले नेपाललाई पनि हान्नुसम्म हान्यो ।
मैले कुखुराको फुल (अण्डा) साह्रै स्वादिष्ट हुन्छ भन्ने सुनेको थिएँ । म जति ठूलो हुँदै गएँ, त्यति नै फुल चाख्ने चाहना पनि उत्कट हुँदै गयो । कुखुराको चल्ला देख्दा छोला कि भनेर पत्तातोड भाग्ने समुदायमा हुर्केको मलाई फुलले तानेको तान्यै ग¥यो । एक दिन बजारमा फुराएर राखेको पहेँलो फुल खाएपछि मेरो तेस्रोपल्ट जात गएको थियो ।
सियोमा छिराउन टुप्पो तिखारेर सोझो र दरो पार्न दमाई काकाले दुई ओठभित्र घुसारेको धागो ‘चोखा’हरूका लागि अर्को कठोर व्यङ्ग्य थियो । जुवाको सोइलो भाँचियो काम अड्क्यो, पूजा गर्दा बजाउने घण्टीको रालो झ¥यो काम अड्क्यो, हँसियाको बिँड फुस्क्यो काम अड्क्यो, मन्दिरमा प्राणप्रतिष्ठा गरेर सजाएको मूर्तिको हात भाँचियो पूजा अड्क्यो । त्यति पनि आफ्नो हातले गर्ने खुबी नभएका तर सीपको कामलाई उपहास गर्ने वर्गको हातमा थियो राज्यशक्ति । अनि कसरी प्रगति हुनु ?
बेछन्द चिलाउनेको मुढोलाई बन्चरोले तास्दै हलोको आकार दिने श्रमिकको सीपले सबैको मुखमा माड लाग्थ्यो । थकित श्रमिक त्यही मुढोमाथि बसेर एक्लै गुनगुनाउँथे गर्दथे, ‘आफ्नो काम परे रुन आउँछन् । हाम्रो काम पर्दा सात दिन धाउनुपर्छ । हाम्रो पसिनामा ज्यान पाल्ने नामर्दहरू ।’ उसबखत पनि आक्रोश थियो । अहिले रूप बदलिएकोमात्र हो ।
त्यही अन्नदाता हलोमा जोडिएको अनौ समातेमा बाहुनको जात जान्थ्यो । बाह्र/तेह्र वर्षको उमेर थियो । भर्खर पानी परेर नरम भएको धर्तीमा हलोले पारेको डोबमा एक/एक गरेर मकैका बीज झार्दै गरेको मलाई हलो जोत्न मन लाग्यो । हलो जोत्ने दाजुले हुन्नहुन्न भन्दाभन्दै एकक्षण जोतेपछि मेरो चौथोपल्ट जात गयो । अहिले समाजमा बेथिति हुन थाल्यो, परम्परा मासिन थाल्यो, जाति र समुदायबीच झैझगडा हुने अवस्था आउन थाल्यो भनेर चिन्तित हुनेहरू पनि छन् । बुझ्नु आवश्यक छ– परिवर्तन कसैले रोकेर रोकिँदैन । परिवर्तन सुनिश्चित छ तर यसलाई सम्यक तरिकाले आत्मसात् र स्वीकार गर्नु मुख्य कुरा हो ।
अहिले समाजमा धेरै परिवर्तन भइसक्यो । आज मेरो जात गएका कुनै पनि क्रियाकलाप गर्दा जात जाँदैन । संविधानले सबै प्रकारका छुवाछूतलाई दण्डनीय भनिसक्यो । तथापि, विभेद अहिले पनि जारी छ । जहिलेसम्म सत्यलाई स्वीकार गर्न सकिँदैन, तहिलेसम्म परिवर्तनको संवाहक बन्न सकिँदैन । आज पनि भिन्न तरिकाले कायमै रहेको छुवाछूत प्रथामा बाँचिरहेको हुँदा मेरो पाँचौँपल्ट किन्तु अविच्छिन्न रूपमा जात गइरहेको छ । मानव–मानवबीच विभेद गर्ने मानवको जात जानेक्रम अविरल जारी छ ।
(लेखक नेपाल सरकारका पूर्व सहसचिव हुनुहुन्छ ।)