भागवत खनाल
सहरिया खुसीको मानक पनि सहरिया नै हुँदोरहेछ । जटिल सहरी जीवनको खुसी पनि जटिल, दुर्वोध र दुरूह । जीवनधारामा लहरिँदै केही परिबन्द र केही रहरले खुसीको लालचमा अर्ध सहरवासी भएको म । जब सहरले अपेक्षित खुसी दिन सक्दैन, जब खुसीका गाँठाहरू फुक्नुको बदला अञ्जान रुमलोमा अल्झिन थाल्छन्, अनि याद आउँछ निर्वोध बालापन र ग्रामीण परिवेश ।
उसबखतको सरल जीवन र सहज वातावरणमा खुसी हुन पाइने असङ्ख्य अवसर थिए । हाम्रो शास्त्र भन्छ– दुःखका कारण हो– अज्ञान । किन्तु त्यही निर्दोष अज्ञानभित्र छरिएको थियो खुसी । चञ्चल खुसीलाई जहाँको त्यहीँ समातेर आनन्द उठाउने क्षमता राख्थ्यो गाउँले जीवन ।
सीमित सूचनामा पहुँच भएका किसान, मजदुर र भरिया जीवनका स्वान्त सन्तुष्टिहरू । सानो तर सुगम संसारमा पालैपालो पाइने वृहदाकार खुसीहरू । सहरिया चस्काले आक्रान्त नहुँदासम्म प्राप्त भइरहने निर्वोध र निर्दोष आनन्दानुभूति । अज्ञानभित्र विराजमान
विलक्षण दिव्यज्ञान ।
सानै हुँदा मलाई मेरो नाम फिटिक्कै मन पर्दैनथ्यो । हुन त मलाई राम, लक्ष्मण, गीता, कृष्ण, भरत र सुशीलको अर्थ पनि थाहा थिएन । तर, ती नाम सुन्दर लाग्थे । किस्ने, सुसे, रामे, गीते, लच्छे र भर्तेभन्दा भाते शब्द अप्रिय र कटु नै हुन्छ । मैले हजुरआमालाई भनेको थिएँ, “के नाम राखेको यस्तो ? मलाई सबै भाते भन्दै खिसी गर्छन् ।’’ हजुरआमाले भन्नुभयो, “देउताको नाउँ हो । जसले तेरो नाउँ लिन्छ तेसको रक्खे हुन्छ, निरोगी हुन्छ ।’’ म खुसी भएँ ।
बटौलीबाट मट्टीतेल र नुनको भारी बोकेर लहरै हिँड्ने ढाक्रेहरूको शरीरबाट चुहेको पसिनाले बाटो भिज्थ्यो । समूहमा दिल्लगी गर्दै बाटो काट्न सजिलो हुन्छ । गह्रौँ भारी उचाल्दाका बखत थोरै फोहोर शब्द बोल्नुपर्छ, भारी सहजै उठ्छ । उकालोमा हुम्हुम् गर्न‘पर्छ, ओरालोमा गाउनुपर्छ, ‘‘बटौलीमा मटीतेल गनायो, कलकत्तामा हवोजात बनायो । सिङ्गो चुरट सल्काइदेऊ लाइटरले, लाउरे दाइलाई उडायो फाइटरले ।’’
चार पाथी नुन बोकेर नाङ्गा खुट्टा खुरखुर दगुर्ने १०÷१२ वर्षका केटाहरूका लागि भारीले दबेको उकालीओराली सुखद थियो । बरु भारी बोक्न बटौली जान नपाउने बालक दुःखी । दुःखको सागरभित्र खुसी खोज्न सिपालु भरियाहरू १०÷१५ जना मिलेर एउटा भैँसी किनेर काट्थे । उनीहरू मासु सकिएपछि मात्र गन्तव्यतिर लाग्थे । अविरल जीवनधारामा कसैले आघात नगरोस् बस । त्यही थियो संसार र त्यहीँ नै थियो खुसी ।
वर्षायाममा बाक्ला र गह्रुँगा धोती घुँडासम्म स्याहार्दै हस्याङफस्याङ माइततिर दगुर्ने रमणीहरूले संसारका सारा दुःख बिर्सन्थे । तीज सकेर फर्कने युवतीहरू विरह बोल्थे ‘काँ जाने कानछी ? बिरानाका देश ।’ तीजको खुसी सकिएर निन्याउरो हुन नपाउँदै हल्ला सुरु हुन्थ्यो ल है दसैँ आयो । जाँगर गर नानीबाबु हो दसैँ आयो ! प्राप्तिभन्दा प्रसङ्गले खुसी दिने दसैँ । तीजमा चिल्लो खाजा र खीर खाएका जहान छोराछोरी दसैँमा मासु र रोटा खाने कल्पनामा दङ्ग हुन्थे । खान त कति पो पाइने हो र, कल्पनाभित्रै खुसी दिने शक्ति थियो ।
पाँच रुपियाँको एक बिसौली मासुमा पाँच मुठी तेल र त्यत्ति नै घिउ मलेर ठूलो कसौँडीमा सानो आँचमा पकाउँदा कसौँडी ढाक्ने पित्तले कचौरा वाष्पको प्रहारले फुत्रुफुत्रु बजेको आवाज आहा ! खुसी दिने खानाले होइन, भोक, उत्कण्ठा र खानाको महŒवले हो । घरमा गोरस र अन्न हुनेले दिनदिनै सेल पकाएर खान सक्छ । तर, सेल पकाउन कुनै अवसर कुर्न‘पर्छ, तबै सेलको महŒव बढ्छ । अनि मात्र सेल खान पाउने र खान दिने दुवै खुसी हुन्छन् । खुसी खर्च गरेर बेमाख पार्ने वस्तु होइन, यो त मौकामा खर्च गर्नका लागि साँचेर राख्ने खजाना हो ।
माघेसङ्क्रान्तिमा गण्डकी नुहाउन र मेला भर्न जानेको अपार भीड लाग्थ्यो– रिडी बजारमा । काम्ला, माटाका भाँडा, जरीबुटी, डोका, नाम्ला, डाला, ठेकाठेकी बेच्नेहरूको कमाउने मौका हुन्थ्यो । गुँडका चाका, भेलीमा पकाएको बदामको कुइँचा, पीपलगेडी, डाल्मिया बिस्कुट र ब्याटमार चुरोट खाएर युवकयुवती प्रसन्न हुन्थे । १० पैसामा १० मिनेट हेर्न पाइने बाइस्कोपमा ‘काठमाडौँ सहर देखो, हावडेका पुल देखो’ भन्दै पैसा बटुल्ने बङ्गालीको खुसी देख्नलायक हुन्थ्यो । मेला भरेर छिप्पिँदो साँझमा उकालो लाग्ने यात्रुको खुसी सहरी जीवनको अट्टालिकामा विराजमान रइसको भन्दा उच्च कोटिको हुने गथ्र्यो ।
किसानको जीवन दुरुह थियो । किन्तु वर्षभरि खान पुगोस्, बिहान सबेरै आँगनमा खडा भएर अलख निरञ्जन पुकार्ने जोगी जङ्गमलाई एक मुठी अन्न दिन पाइयोस् । गोठमा दुधालु लैना–बकेर्ना गाईभैँसी होऊन् र यथासमयमा वर्षा होस् । ती खुसीमा तर्कको स्थान थिएन । तर्कले
खुसी बिगार्छ । भाले नबास्दै ढिकीजाँतो गर्दा गाइने सङ्गिनीगीत, वनपाखामा गाइने विरह वेदनाका आँसु झार्ने लोकगीत र फागुको मौका छोपी अन्तरकुन्तरमा गाइने अश्लील फागुगीतले दिने सन्तोष र खुसी धनदौलत र वैभवले दिने खुसीभन्दा उम्दा थिए । एउटै लयमा नाचिने गीतविनाको लाखेनाचमा के जादु थियो थाहा छैन तर छ्याङ्ग उज्यालो हुँदासम्म लाखेको नाच र ‘भुचा’को परिहास हेरेर धन्य हुन्थे ग्रामीण किशोर र युवा ।
१२÷१३ वर्षको किशोर दुलाहा ८ र १० वर्षकी दुलहीलाई कुन प्रयोजनका लागि विवाह हुँदै छ भन्ने पत्तो हुँदैनथ्यो । विवाहमा पहिलो पाइलो आएर जन्तीको सङ्ख्या बताउने भत्केरुलाई खुर्सानीको माला लगाइदिने, लुकाएर राखेको पानीको भाँडामा झम्ल्याङ्ग खसालिदिने, सिङ्गारिएको केराखुट्टे कुर्सीमा बसालेर पछार्ने र झुक्याएर खुर्सानीको धूलो चटाउने कलाबाट हुने रमाइलो अवर्णनीय हुन्थ्यो ।
जन्ती प्रस्थान गरेपछिको रात गाउँभरिका महिला जम्मा भएर आयोजना गर्ने रत्यौली समारोहमा पुरुषका लुगा पहिरेर रचिने प्रणयलीला वर्णनातीत हुने गथ्र्याे । ग्रामीण महिलाका लागि जीवनकै सर्वाधिक रमणीय हुन्थ्यो त्यो रात । सहरिया नारीजीवनले गुमाएको त्यो अवसरमा निर्मम अश्लीलताले ओतप्रोत गीत गाइन्थे । सायद अश्लीलताकै कारण रतेउली साहित्यले सार्वजनिक रूप धारण गर्न पाएन । संस्कृतिको यो पक्ष अब इतिहासको गर्भमा लोप हुने सम्भावना छ ।
जन्तेबाख्रोका लागि खेदिएको पाँच धार्नीको खसी र दुई सय मांसाहारी जन्ती । तर, कुनै गुनासो थिएन । चोक्टा खान नपाए के भयो ? जन्तेबाख्रो खाने उन्मादभित्र मात्राको सरोकार थिएन । कुरा गुणको थियो, उत्कट जन्ते अभिलाषाको थियो, रामरमाइलोमा सहभागी हुन पाइने उत्कण्ठाको थियो । दुलही लिएर अलि पर पुगेपछि दुईवटा ठूला ताउलाभरि पाक्थ्यो मासु । टपरीमा तात्तातो भात, त्यसमाथि ताप्केले सलल्ल खन्याएको झोल केही भातमाथिबाट र बाँकी टपरीको पिँधबाट भुँइमा बग्थ्यो । टुक्रुक्क बसेर बाख्रेभात खान आतुर जन्ती बगेको तात्तातो झोलले खुट्टा पोल्दा आच्छु भन्दै उठेर ‘लेफ्राइट’ गरेको दृश्य र त्यसउपर हुने उन्मुक्त हाँसोलाई अभिव्यक्ति दिने शब्द छैन ।
(लेखक नेपाल सरकारका पूर्वसहसचिव हुनुहुन्छ ।)