सुदर्शन पौडेल
आजभोलि युवादेखि पाका मानिसमा ‘इन्टरमिटेन्ट फास्टिङ’ (पेट खाली राखी खाना खाने समयतालिका मिलाउने) प्रचलन बढेको छ । यसो गर्दा शरीरको तौल सन्तुलनमा राख्न, शरीरमा हुने रासायनिक प्रतिक्रिया सन्तुलनमा राख्न, निरोगी हुन र अन्ततः दीर्घ जीवन प्राप्त गने सकिने विश्वास गरिन्छ ।
हाम्रा पुर्खाले विभिन्न समयमा फरक–फरक प्रकृतिका फास्टिङ (व्रत) गर्दै आएकै हुन् । यसका पछाडि कहीँ कतै खाद्य अभाव पनि कारण थियो होला तर अधिकांश व्रतहरू धार्मिकतासँग जोडेर मनाएको पाइन्छ । धार्मिकतासँग जोड्नु तत्कालीन समाजको संरचनाका कारण बढी प्रभावकारी हुने ठानेर गरिएको पनि हुन सक्छ तर यसको मूल आसय भने स्वास्थ्यसँग गाँसिएको हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न । वर्षमा खास खास दिनमा गरिने व्रतका अलावा साप्ताहिक र पाक्षिक रूपमा (जस्तै ः एकादशी, पूर्णिमा, औँशीमा) व्रत बस्ने परम्पराकै आधुनिक रूप हुन सक्छ– इन्टरमिटेन्ट फास्टिङ । हाम्रो नयाँ पुस्ताले त्यसको पछाडिको विज्ञानको खोजी गरेन बरु पश्चिमा देशहरूले सुझाएको कुरालाई खुबै छिटो नक्कल गर्न उद्यत भयो ।
सहर–बजारतिर अहिले धेरै बेर भोकै बस्नुपर्ने बाध्यता छ्रैन, खल्तीमा पैसा छ भने रोजीरोजी खान पाइन्छ । यतिसम्म कि अहिले साधारण मध्यम तथा न्यून आय भएका मानिसले समेत बजारमा गएर रोजीरोजी संसारभरका पकवानहरूको स्वाद पाउन सक्छ । यस्तो सुविधा केही शताब्दी अघिसम्म ठूला राजा–महाराजाहरूलाई समेत सहज थिएन । जनसाधारणलाई हामीले खाद्यान्नमा धेरै सुरक्षा प्रत्याभूत गरिसक्यौँ । कहीँ त्यो उपलब्धिले अहिले मोटोपना र दीर्घरोगका रूपमा प्रतिघात गरेको त
होइन ? पराम्परागत ग्रामीण समाजमा खाद्य सुरक्षा भएका मानिसले पनि तुरुन्तै खान मिल्ने (फास्टफुड) खानाको सहज उपलब्धता थिएन । अधिकांश मानिस दिनभरि शारीरिक श्रम गर्थे र धेरैबेर भोकै रहेपछि मात्र खाना
(स्लोफुड) बनाएर खानुपर्ने हुन्थ्यो । यस हिसाबले त्यस समयको स्वाभाविक जीवनशैली नै कतै इन्टरमिटेन्ट फास्टिङसँग मिल्दोजुल्दो त थिएन ?
इन्टरमिटेन्ट फास्टिङको इतिहास
उसो त इन्टरमिटेन्ट फास्टिङ कहिलेदेखि सुरु भयो भन्ने यकिन भन्न सकिन्न किनकि हिन्दु र अन्य धर्ममा यस्ता विभिन्नखालका व्रतका परम्पराहरू परापूर्वदेखि अभ्यासमा थिए । पछिल्लो चरणमा बढी प्रचारमा आएको इन्टरमिटेन्ट फास्टिङको सुरुवात सन् २०१२ मा बीबीसीका टेलिभिजन पत्रकार डा. माइकल मोस्लेले ‘इट फास्ट, लिभ लड्ढर’ शृङ्खलाबद्ध कार्यक्रम सञ्चालन गर्नुभयो र त्यसैमा आधारित भएर पुस्तक प्रकाशन गर्नुभयो ‘द फास्ट डाइट’ । सो पुस्तक सार्वजनिक हुनुपहिले अर्का पत्रकार केट हेरिसनले त्यस्तै विषयवस्तु समेटेर ‘द ५ः२ डाइट’ पुस्तक प्रकाशनमा ल्याउनुभयो । यी प्रयासले इन्टरमिटेन्ट फास्टिङका बारेमा धेरै चर्चा पायो । यो विधिलाई मोटोपन उपचारको प्रभावकारी उपायका रूपमा समाचार र लेखहरू छापिए । यसको अनुशरण गर्नेहरू बढ्दै गए । त्यसको केही समयपछि सन् २०१६ मा डा. जासन फङले ‘दि ओबेसिटी कोड’ प्रकाशन गर्नुभयो । यो पुस्तक मोटोपनको नियन्त्रणका लागि सरल र व्यावहारिक (उपयोगी) परामर्शहरूले भरिपूर्ण थियो । यो पुस्तक तत्कालीन समयको सर्वाधिक बिक्री हुने पुस्तक बन्यो । उक्त पुस्तकले खानामा पर्याप्त फलफूल, सागसब्जी, फाइबर, प्राकृतिक प्रोटिन र चिल्लो पदार्थको सेवन गर्न र चिनी, (औद्योगिक) प्रशोधन गरेका खाना, प्रशोधित प्रोटिन र चिल्लो पदार्थको सेवन नगर्न सुझायो । उहाँले सिफारिस गरेको अर्को मुख्य पोषण सुझाव थियो– मुख्य खानाको बीचमा खाजा नखाने । उहाँले मुख्य खानाको बीचमा पर्याप्त समयको अन्तराल कायम गर्न सुझाउनुभएको थियो ।
फास्टिङको प्रारूपहरू
त्यसैलाई पछिल्लो समयमा इन्टरमिटेन्ट फास्टिङका रूपमा (विभिन्न ढाँचाका) मोडेल विकास गरियो । मायो क्लिनिकले समेत यसका सम्बन्धमा अध्ययन गरेको छ । उक्त क्लिनिकले खास दिन वा हप्तामा निश्चित समय अवधि (नियन्त्रित मात्रामा पोषण सेवन गरी वा नगरी) भोको बस्ने पोषण विधि भनेको छ । यससम्बन्धमा निकै प्रचलनमा रहेका चार विधिहरू छन् । पहिलो विधि भनेको ५ः२ फास्टिङ हो, जसमा हप्तामा दुई दिन अत्यन्त न्यून क्यालोरीको (महिलाले ५०० क्यालोरी र पुरुषले ६०० क्यालोरीभन्दा बढी नहुनेगरी पानी वा अन्य झोलिलो पदार्थ) खाना खाने, बाँकीका पाँच दिन नियमित खाना
(महिलाले २,००० क्यालोरी र पुरुषले २,४०० क्यालोरीभन्दा बढी नहुने गरी) दुई खानाको बीचमा आठ घण्टाको फरकमा खाना खान सिफारिस गरिन्छ । अर्को विधि भनेको ६ः१ फास्टिङ हो, यसमा हप्तामा छ दिन नियमित खाना खाने एक दिन (२४ घण्टा) केही पनि नखाने गरिन्छ । यसै विधिलाई परिमार्जन गरी हप्तामा दुई दिन (४८ घण्टा) केही पनि नखाने विधिसमेत प्रचलनमा छ । अर्को विधिलाई १६ः८ फास्टिङ भनिन्छ । यसअन्तर्गत हरेक दिन आठ घण्टाको अन्तरालमा नियमित खाना खाने तर दिनमा कुनै एकपटकको खाना छोड्ने (१६ घण्टाको फरक पार्ने) गरिन्छ ।
यस्तोखालको फास्टिङमा के खानेभन्दा पनि कहिले र कसरी खाने भन्ने कुरा बढी महŒवपूर्ण हुन्छ । यसकारण यो विधिलाई परम्परागत शैलीको फास्टिङभन्दा पनि खाना खाने तरिका फरक पारेको भन्नु बढी उपयुक्त हुन्छ । केही अध्ययनहरूका अनुसार निश्चित समय बिराएर गरिने फास्टिङ हाल पोषणविज्ञानमा प्रचलनमा रहेको कम क्यालोरीको खाना (तौल कम गर्ने उद्देश्यले) बराबर प्रभावकारी हुने गर्छ । त्यसका अलावा कतिपय हाडजोर्नीको समस्या, सुन्निने, दम, मुटुरोग समस्याको उपचारमा समेत यस्तो विधि उपयोगी भएको पाइएको छ । तौल घटाउँदा र शारीरिक रूपमा सक्रिय रहँदा मोटोपनासँग सम्बन्धित रोगहरू जस्तै ः मधुमेह, सुतेको बेला श्वास फेर्न नसक्नेलगायत धेरै थरीका क्यान्सरबाट बच्न मद्दत मिल्ने दाबी गरिन्छ ।
फास्टिङसम्बन्धी भ्रम
यस्तोखालको फास्टिङका फाइदा मात्र होइन, उचित ढड्ढ मिलाउन सकिएन भने लामो समयसम्म कमजोरी महसुस हुने, अनिद्रा, वाकवाक लाग्ने, टाउको दुख्ने, अनियन्त्रित भोक लाग्नेजस्ता लक्षण देखिन सक्छ । यस्तो असर केही महिनासम्म रहन सक्छ । लामो समयसम्म यस्तो विधि अपनाउँदा शरीरका कोषिकाहरू स्वस्थ रहन आवश्यक पर्ने पानीको अभाव हुन गई क्रमिक रूपमा दीर्घ समस्याको कारक बन्न सक्छ । त्यसका अलावा खास अवस्था जस्तै गर्भवती, स्तनपान गराउने महिलादेखि खास प्रकृतिका बिरामीहरू जस्तै मिर्गौला, ग्यासट्राइटिस, मधुमेह आदिका साथै पाको उमेरका मानिसले चिकित्सकहरूको परामर्शविना यस्तो विधि अपनाउँदा घातक हुन सक्छ ।
इन्टरमिटेन्ट फास्टिङलाई सबैका लागि वरदान मान्नुहुँदैन, यद्यपि तरिका मिलाएर यसको अभ्यास गर्न सक्दा फाइदा हुन सक्छ । यस्तो अभ्यास गर्दा यो सँगसँगै अन्य नियमितका शारीरिक अभ्यास गर्ने, चिनीको सेवनलाई रोक्ने वा घटाउने, प्रशस्त ताजा फलफूल, सागसब्जी, गेडागुडी, दाल, रेशादार खाना, प्राकृतिक प्रोटिन, प्राकृतिक तेल आदि खाने गर्नुपर्छ ।
शारीरिक तौल घटाउने वा तन्दुरुस्ती कायम गर्न चाहनेले त्यसका लागि जे–जस्ता विधिहरू अपनाए पनि त्यस्ता गतिविधि गर्दा शरीरमा पूर्ति गरेको र खपत गरेको क्यालोरीको अनुमान लगाउन सक्नुपर्छ । जस्तो शरीरको तौल हप्तामा सरदर आधा किलोग्रामले कम गर्नु छ भने हरेक दिन करिब पाँच सय क्यालोरी इनर्जी (अतिरिक्त) शारीरिक अभ्यासबाट हटाउनुपर्छ । अत्यन्त ध्यान दिनुपर्ने कुरा भनेको फास्टिङको अवधिमा पर्याप्त पानीका साथै सीमित मात्रामा भए पनि जुस, दूधजस्ता झोलिलो पदार्थहरूको सेवन गर्दै रहनुपर्छ । झोलिलो पदार्थका रूपमा नशाजन्य पदार्थ, सोडा, कफीको प्रयोगलाई पूर्ण निषेध गर्नुपर्छ ।
इन्टरमिटेन्ट फास्टिङलाई विभिन्न रोग वा मोटोपनाको उपचारसँग जोडेर धेरै अध्ययन हुन थालेका छन् । अमेरिकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा सन् २०२० प्रकाशित रेन्डोमाइज कन्ट्रोल ट्रायलले मोटोपना नियन्त्रणमा यस्तो विधि प्रभावकारी नभएको देखाएको छ भने अर्को अध्ययनले हप्तामा ०.२ देखि ०.८ केजी तौल घटाउन उपयोगी भएको देखाएको छ । सन् २०१५ प्रकाशित अध्ययनले एक महिनादेखि छ महिनाको निरन्तर अभ्यासले शरीरको तौल कम (२.६ देखि ८.९ प्रतिशत) गर्न‘का साथै रक्तचाप र शरीरमा चिनीको मात्रा नियन्त्रणमा राख्न मद्दत मिलेको पाइएको छ । सन् २०१६ मा प्रकाशित सिस्टमेटिक रिभ्युमा यस्तो फास्टिङ र उच्च क्यालोरी खानाको उपभोग प्रतिको सावधानी र नियन्त्रणको विधिका बीच खास अन्तर नभएको उल्लेख छ ।
हाल प्रचलनमा रहेका इन्टरमिटेन्ट फास्टिङका बारेमा पछिल्लो समयमा प्रकाशन भएका अध्ययनहरूले यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा यथेष्ट वैज्ञानिक तथ्यहरू प्रकाशमा ल्याउन सकेका छैनन् । विभिन्न स्थान र समयमा भएका अध्ययनहरूले एकैखालको नतिजा देखाएका छैनन् । यो विधि प्रचलनमा आएको पनि धेरै भएको छैन । यस परिस्थितिमा यस्तो विधिको (अल्पकालीन र दीर्घकालीन) फाइदा वा बेफाइदाका बारेमा अहिले नै यकिन गर्न सक्ने स्थिति छैन ।
(लेखक पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्नुहुन्छ ।)