सुष्मा तिमिल्सिना
माघ, फागुन महिनाको ठिहि-याउने चिसो कोठाभित्रैसम्म फैलिएको थियो । विद्यालयको कक्षाकोठाबाट बाहिर चियाउँदा लोभलाग्दो घाम देख्दा ‘आज चौरमा लगे पढाए नि हुने नि’ भन्ने मनमा लाग्दै थियो । जिउमा त्यति सन्चो नभएको अनुभूति थियो । हल्काहल्का पेट पनि दुखिरहेको थियो, त्यतिसम्म सम्झना छ । व्युँझदा म घरको ओछ्यानमा थिएँ । मलाई के भयो ? कसरी घरको ओछ्यानमा एकैपटक आइपुगेँ ? आश्चर्यमा परेँ । म त पहिलोपटक महिनावारी पो भएकी रहेछु ।
छिमेकमा एकजना मिल्ने दाइ हुनुहुन्थ्यो । विद्यालयमा बेहोश भएर मेरा साथीहरूले मलाई घरमा ल्याउँदै गरेको ती दाइले देख्नुभएको रहेछ । उहाँ हतार–हतार मेरो घरको आँगनमा आएर, ‘ए नानी... नानी’ भन्दै बोलाउन थाल्नुभयो । म चुपचाप बसेँ । एक मनले त ‘हजुर’ भनेर बोल्दिऊँजस्तो पनि लाग्यो । तर, मनलाई सम्हालेँ । संस्कार र संस्कृतिका नाममा पुरुषसँग बोल्न, अनुहार हेर्न र घामको न्यानो ताप्नसमेत बन्देजको उर्दी लगाइएको थियो, ममाथि ।
ढोका ढकढकाउँदै दाइले अझ जोडजोडले नानी ! नानी ! भन्दै बोलाउन थाल्नुभयो । आमा बारीतिर हुनुहुन्थ्यो, क्यारे । ‘किन बोलाएको बाबु ! नानीलाई सन्चो छैन,’ आमाले जवाफ दिनुभयो । दाइले सोध्नुभयो, ‘के बिरामी भएको आन्टी ?’
त्यो बेला म कक्षा १२ मा पढ्दै थिएँ । त्यो उमेरमा बल्ल महिनावारी सुरु नभएकोमा आमा खुसी हुनुहुन्नथ्यो । खुसीमिश्रित स्वरमा आमाले भन्नुभयो, ‘नानी त आज महिनावारी भई । अब १०/१५्र दिनयता बोलाउन नआऊ है ।’
मभित्र एकखालको नयाँ अनुभूति भइरहेको थियो । अनेकन तर्कना मनभित्र उब्जिन थाले, नदीका छालजस्तै । सधैँ हाँस्ने, खेल्ने, बोल्ने, मन नबुझ्दा झगडा गर्ने हामी दाजुबहिनीको सम्बन्ध अब यसरी नै बन्द हुने हो त ? बालसुलभ मेरा मनले अब आफ्नै घरभित्र कैदी बन्नुपर्ने हो ? म अब धक फुकाएर अरूका अघिल्तिर हाँस्न पाउँदिनँ त ? यस्तै–यस्तै तर्कवितर्कले मन भँडालियो । समय सँगसँगै मेरा आवाज लोलाए । चित्त नपरेको कुरामा मन बजाउने मेरो स्वभाव थियो । मभित्र त्यस दिनदेखि अलि फरकखालको अनुभूति र स्वभाव देखापर्न थाल्यो ।
हरेक महिनामा चार दिन बग्ने ‘रगत’ र त्यसले उब्जाएको सामाजिक मनोविज्ञानले साथीजस्तो सम्बन्ध रहेको दाइ र मेरो दूरी टाढा बनाइदियो । त्यसपछिका दिनमा आमा र साथीहरूसँग बिस्तारै–बिस्तारै घुलमिल भए पनि दाइसँग खुलेर बोल्न कहिल्यै सकिनँ । दिनप्रतिदिन दाइसँग बोल्न अप्ठ्यारो लाग्दै गयो । दाइको आँखामा हेरेर ‘म महिनावारी भएकी छु’ भनेर कहिल्यै भन्न सकिनँ । महिनावारीका विषयमा मेरी आमाले जुन संस्कार सिक्नुभएको थियो, त्यही संस्कार मलाई दिनुभयो । समाजले निर्माण गरिदिएको महिनावारीसम्बन्धी मनोविज्ञानको घेराबन्दीभित्र छोरीचेलीले बस्नुपर्ने रहेछ । त्यहीअनुरूप आमाले दिनुभएका संस्कार पछ्याउँदै गएँ ।
कक्षा ११ पढ्दै गर्दा केही समय बर्दियास्थित रेडियो टाइगर ९९.२ मेगाहर्जमा काम गर्ने अवसर पाएकी थिएँ । त्यहाँ काम गर्दा, सुदूरपश्चिम नेपालमा महिनावारी हुँदा महिलाले भोग्नुपरेका दर्दनाक कथा थाहा पाएकी थिएँ । महिनावारी हुँदा अँध्यारा, फोहोर छाउगोठमा अनिवार्य बस्नुपर्ने । छाउगोठमा बस्दा सर्पले डसेर मृत्यु भएका, बलात्कृत हुनुपरेका, निस्सासिएर ज्यान गएकाजस्ता थुप्रै घटनाका समाचार वाचन गर्दा एकतमासले मन चसक्क दुख्थ्यो । यस्तो अन्यायका विषयमा किन चुपचाप छन् ? यस्ता प्रश्न मेरासामु उठ्थे । यद्यपि, म आफैँभित्र पनि महिनावारीका बेला कठिन पर्खालभित्र निसास्सिएको अनुभूति छँदै थियो । खै त, मैले पनि बोलिनँ किन ? आफैँलाई प्रश्न गरें । के म बोल्न सक्दिनँ, आफैँलाई चिमोटेँ । अब यसरी हुन्न, सामाजिक संस्कार र संस्कृतिका नाममा महिलामाथि हुने अन्याय, भेदभाव र अत्याचारविरुद्ध बोल्नैपर्छ जस्तो लाग्यो तर एक्लै बोलेर के हुन्छ र ?
म बीबीएस प्रथम वर्षमा पढ्दै थिएँ । साथीभाइको सङ्गत र मेरा रुचिका कारण विकासप्रेमी युवा समूहमा आबद्ध भएँ । सामाजिक विषयमा बहस र छलफलमा उत्रन थालेँ । त्यसै दिनदेखि मनका कुरा निर्धक्कसँग अरूसँग साट्न सक्ने भएँ । मेरो जीवनमा समेत परिवर्तन देखिन थाले । महिनावारी हुँदा आमा र साथीसँग मात्र महिनावारीका समस्याबारे कुराकानी गर्न सक्थेँ । हिजोआज महिनावारी हुँदा ‘प्याड किनेर ल्याइदिनुहोस् न’ भनेर दाइलाई भन्न सक्ने भएकी छु । महिनावारी हुँदा छाउगोठमा सुत्ने म एक वर्षदेखि घरको कोठामा सुत्न थालेकी छु । आज आफ्नै जीवनमा देखिएका यस्ता परिवर्तन देख्दा लाग्छ, समयअनुसार चल्न सिक्नुपर्ने रहेछ । भनिन्छ– चार दिनको जीवन । खाने, बस्ने र रमाउने हो । त्यसो हो भने, महिनावारीको चार दिन रमाउन महिलालाई किन दिइएन ? किन सिकाइएन ? खासगरी महिनावारी हुनु अपवित्र त हुँदै होइन । यो त सृष्टिको शुभारम्भ हो । यदि जीवनलाई पवित्र मानिन्छ भने महिनावारी कसरी अपवित्र भयो ?
हरेक महिनाको चार दिन महिलाको शरीरबाट बग्ने रातो रगतले हाम्रो समाजलाई के बिगारेको
छ ? प्रथमपटक किशोरी महिनावारी हुँदा गर्व गर्ने यो समाजले ‘त्यो चार दिन’ महिलालाई किन खुसी राख्न सक्दैन ? यस्ता अनगिन्ती प्रश्न मेरा मनभित्र अहिले पनि उठिरहेका छन् ।
नेपाली समाजको गहिरो समस्या हो, महिला हिंसा । समाजलाई महिला हिंसा मुक्त बनाएर नै मुलुकको उन्नति र प्रगति हुन्छ । महिला हिंसामुक्त समाजको परिकल्पना संविधानले समेत गरेको छ । यद्यपि, यसका लागि व्यक्ति, घरपरिवार, समाज, गाउँ, टोल, छिमेक सबैले एकाकार भएर महिला हिंसाविरुद्ध आवाज उठाउन आवश्यक छ । त्यसको सुरुवात आफैँबाट गर्न आवश्यक छ । त्यसका लागि सबैभन्दा पहिला आफूभित्र रहेको सोँचमा परिवर्तन ल्याउनुपर्छ । आत्मविश्वास बढाउनेखालका काममा सहभागिता जनाउनुपर्छ । व्यक्तित्व विकास, सीप तालिम, पत्रकारिताजस्ता तालिमले तपाईंमा आत्मविश्वास बढाउन सहयोग पुग्छ ।
(लेखक बर्दियाकी रेडियोकर्मी हुनुहुन्छ ।)