logo
२०८० चैत्र १६ शुक्रवार



सरकारसँग अपेक्षा (सम्पादकीय)

विचार/दृष्टिकोण |




प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको कार्यकारी जिम्मेवारी सम्हाल्नुभएको एक साता भएको छ । यो अवधिमा सरकारले ठूलै परिवर्तन गर्छ भनेर अपेक्षा गर्न सकिँदैन । तर पनि सरकारले के गर्छ र कसरी काम सुरु गर्छ भन्ने कुरामा सबैको चासो रहन्छ । जनताका समस्या र चाहनाको पहिचान गरेको सन्देश दिनु नयाँ सरकारको दायित्व हो ।
प्रधानमन्त्री देउवाले आइतबार नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको एक समूहसहितको विश्वासको मत प्राप्त गर्नुभयो । प्रधानमन्त्रीले संसद्मै सरकारको पहिलो प्राथमिकता खोप हुने बताउनुभएको छ । आगामी चैत मसान्तभित्र सबै नागरिकलाई खोप लगाउने निर्णय सरकारले गरिसकेको छ । कोभिड–१९ नियन्त्रण र उपचारका लागि हालसम्म भएका खर्च सार्वजनिक गर्ने प्रतिबद्धता पनि सरकारले औपचारिक रूपमै सार्वजनिक गरेको छ । शान्ति सुव्यवस्था, आर्थिक समृद्धि, अर्थतन्त्रको शीघ्र पुनरूत्थान, विकास निर्माण कार्यमा तीव्रता, सार्वजनिक सेवाको प्रभावकारी वितरण, विपत्को प्राथमिकतासाथ व्यवस्थापन र स्थानीय निर्वाचन सरकारका प्राथमिकताका विषय रहेका छन् । शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने र सरकारी, सार्वजनिक निकायमा स्रेस्ता प्रणालीमा आधारित कार्ययोजना बनाई कार्यान्वयनमा ल्याइने भएको छ ।
कोरोना महामारी नियन्त्रण, खोप र औषधोपचार अहिलेको प्रमुख चुनौती हो । करिब ३० लाखले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् भने थप खोपको व्यवस्था पनि भएको छ । तर, यतिले मात्रै सबैलाई खोप पुग्ने अवस्था छैन । आवश्यक पर्ने र लगाउन चाहने सबैलाई खोप उपलब्ध गराउन हाल उपलब्ध हुने अपेक्षा गरिएको खोप जति नै थप खोप ल्याउनुपर्ने हुन्छ । यो काम त्यति सहज छैन । खोप अभियानलाई व्यवस्थित बनाउनुपर्ने आवश्यक देखिएको छ । कोरोना महामारीका कारण आर्थिक क्षेत्र अप्ठेरो स्थितिमा छ । धेरैले आफ्नो व्यवसाय, रोजगारी र आयआर्जनको बाटो गुमाएका छन् । सिन्धुपाल्चोकलगायतका विभिन्न क्षेत्रमा प्राकृतिक विपत्ले मानिस घरबारविहीन बनेका छन् । उनीहरू सरकारको सहयोगको आसमा छन् । आमसर्वसाधारणको दैनिक जीवनलाई असहज बनाइरहेका यी समस्या समाधान तत्काल होस् भन्ने अपेक्षा छ । विकास निर्माण र आर्थिक समृद्धिको सपना पूरा हुन समय लाग्न सक्छ तर यसको सुरुवात हुनुपर्छ । स्थिर हुने अपेक्षा गरिएको र समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएको अघिल्लो सरकारले पनि जनता सन्तुष्ट र विश्वस्त हुने दीर्घकालीन, मध्यकालीन र अल्पकालीन व्यावहारिक कार्यक्रम बनाउन असफल भयो । जनता नारा, भाषण र आश्वासनभन्दा तत्काल परिणाम चाहन्छन् । भ्रष्टाचार नियन्त्रण, सुशासन र पारदर्शितासँगै विकास निर्माणमा गति दिँदा जनतामा गुमेको विश्वास फेरि आर्जन गर्न सकिन्छ ।
प्रतिनिधिसभामा ६३ सदस्य रहेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा यो गठनबन्धन सरकार बनेको छ । प्रधानमन्त्री देउवाले पाएको विश्वासको मतको आधाभन्दा बढी अरू पार्टीको छ । त्यसैले सत्ता साझेदारबीच समन्वय र सहकार्य अपरिहार्य छ । यो सरकार बढीमा डेढ वर्ष चल्न सक्छ । त्यतिन्जेलमा अर्काे निर्वाचन भइसक्नुपर्छ । मुलुक निर्वाचनतर्फ लाग्नुअघि मुलुकका समसामयिक समस्या समाधानको प्रयास हुनुपर्छ । जनताका अपेक्षा धेरै ठूला छैनन् । बरु राजनीतिक दल र सरकारले नै ठुल्ठूला सपना देखाउने गर्छन् । ठूलो सपना देखाएर होइन, दैनिक भोग्नुपर्ने समस्या समाधान गरेर प्राप्त जनविश्वास आर्जन गर्न सकिन्छ । कोरोना महामारीबाट मुक्ति पाउन खोप र औषधोपचारको सहज व्यवस्था पहिलो प्राथमिकतामा हुनुपर्छ । यसले सरकारको मूल्याङ्कन हुनेछ । महामारीका कारण आफ्नो व्यवसाय, रोजगारी र आम्दानी गुमाएका जनतालाई सरकारको सहयोग चाहिएको छ । प्राकृतिक विपत्बाट धेरै मानिस प्रभावित भएका छन्, तिनलाई राहत, सुरक्षित बसोवास व्यवस्थाको अपेक्षा छ । राजनीतिक स्थिरता, पारदर्शिता, सुशासन र सरकारको इमानदारी लामो समयदेखि नेपाली जनताले खोजेको कुरा हो । यी सबैमा सरकार कति इमानदारी र जिम्मेवारपूर्ण तरिकाले प्रस्तुत हुन्छ भन्ने कुरामा निर्भर हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?