राजन घिमिरे
यतिबेला प्रवासमा गैरआवासीय नेपालीहरू नयाँ नेतृत्व छान्न लागिपरेका छन् । जब गैरआवासीय नेपाली सङ्घको अधिवेशन हुने समय आउँछ, तब विभिन्न पदका आकाङ्क्षीहरूको सङ्ख्या ह्वात्तै बढ्छ । हरेक दुई वर्षमा नयाँ नेतृत्व छान्ने यस्तो अधिवेशनमा उठ्ने विभिन्न आकाङ्क्षीहरूको नयाँनयाँ मुद्दा सुरु हुन्छ । कोही प्रवासी नेपालीहरूको हकहितको पक्षमा यसो गर्छु र उसो गर्छु भन्ने अभिव्यक्ति दिन्छन् भने कोही विदेशको लगानीलाई स्वदेशमा ल्याएर विकासमा लगाउने दाबीसहित उम्मेदवारी दिन्छन् । कोही विदेशी सीप र क्षमतालाई स्वदेशमा भिœयाउने कुरा गर्छन् भने कोही ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने नारा उरालेर चुनावमा होमिने गर्छन् ।
त्यसो त, प्रवासमा रहनुहुने नेपालीले नेपाल र नेपालीप्रतिको माया, चाह, सम्मान र सहभागितालाई निरन्तरता दिई नै रहनुभएको छ । प्रवासमा नेपालीहरूको शान, मान र इज्जत अनि नेपालीको शैली, उपस्थिति र वाहवाही पनि प्रवासमा रहनुभएका नेपालीकै कारण भएको कुरालाई नकार्न पनि सकिँदैन । विदेशमा नेपाल र नेपालीलाई चिनाउन भरमग्दुर प्रयास गर्ने, त्यसका लागि दिलोज्यान दिन तयार हुनेजस्ता नाराको बीचमा कसैले पनि यतिबेला मुलुक चिनाउने सशक्त, प्रभावकारी र सबैको रुचि बढ्ने अनि चासो रहने कुरा उठाएको पाइँदैन । खासगरी, विदेशमा नेपाल र नेपालीलाई सहजै चिनाउन सक्ने नेपाली चलचित्रको बारेमा कतै, कसैले बोलेको र चासो दिएको अहिलेसम्म सुन्न पाइएको छैन । न त कुनै उम्मेदवारले आफ्नो एजेण्डा र घोषणा–पत्रमा नै यस्तो कुरा समेटेको पाइन्छ ।
यसो हुनुमा या त उहाँहरूले चलचित्रको सशक्तता र प्रभावकारितालाई बुझ्नुभएको छैन, या त बुझेर पनि बुझ पचाइरहनुभएको छ । आज विश्वमा मुलुकको भाषा, साहित्य र संस्कृति चिनाउने सशक्त माध्यम भनेको चलचित्र नै हो । अब हिन्दी चलचित्रकै उदाहरण लिउँ । के हामीले कहिल्यै विद्यालयमा हिन्दी पुस्तक पढ्यौँ ? तैपनि हामी हिन्दी भाषा बुझ्छौँ र मोटामोटी बोल्न पनि आउँछ । हिन्दी नपढे पनि र अङ्ग्रेजी पढे पनि हामीलाई सामान्यतया अङ्ग्रेजीभन्दा हिन्दी सहज लाग्छ । हिन्दी भाषामा हामी किन बोल्न र लेख्न सक्ने भयौँ त ? यसको ज्वलन्त उदाहरण हो हिन्दी चलचित्रका दर्शक हौँ हामी । यो सबै हामीले हिन्दी चलचित्रबाटै थाहा पायौँ र सिक्यौँ । यसबाट चलचित्रको प्रभाव, क्षमता र छाप कत्तिको हुँदोरहेछ भन्ने स्पष्ट हुन्छ ।
चलचित्रकै माध्यमबाट आज भारतले आफ्नो भाषा विश्वभर फैलाएको छ । आज हलिउडको चलचित्र विश्वभर नचल्ला तर भारतीय चलचित्रले विश्व–बजारमा दिन–प्रतिदिन आफ्नो बजार विस्तार गरिरहेको छ । योसँगै भारतीय भाषा र भारतीय कलाकारहरूको वाहवाही पनि विश्वमाझ भइरहेको छ । हिन्दी चलचित्र विश्वका अधिकांश मुलुकमा चल्छन् भने उनीहरूका कलाकारको विदेशीमाझ पनि राम्रो ‘क्रेज’ छ । चलचित्रकै माध्यमका कारण आज भारतीय भाषा र संस्कृतिले विश्वमाझ विस्तार हुने अवसर पाएको छ । यसमा महìवपूर्ण हात या भूमिका छ, एनआरआई अर्थात्
गैरआवासीय इण्डियनको ।
उनीहरू जहाँ जान्छन्, आफ्नै चलचित्रको बारेमा कुरा गर्छन् । आफ्नै कलाकारहरूको बारेमा चर्चा–परिचर्चा गर्छन् । परिवारमा होस् या कुनै समारोह या जमघटमा ? जता होस्, आफ्ना चलचित्रको बारेमा खुलेर कुरा गर्छन् र गर्व पनि गर्छन् । यता हाम्रा एनआरएनहरूले चलचित्रको महìव, आवश्यकता र प्रभावबारे बुझ्न सकेको देखिँदैन । गैरआवासीय नेपाली सङ्घ नै हो, जसले नेपाली चलचित्रमार्फत प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको विस्तार गर्न सक्छ । जसले विदेशमा जन्मिएका र हुर्कदै गरेका दोस्रो पुस्ताका नेपालीलाई चलचित्रमार्फत नेपाली भाषा, शैली र परम्पराका बारेमा जानकारी या ज्ञान दिन सक्छ । विदेशमा नेपाली भाषा र संस्कृतिलाई चिनाउनुप¥यो भनेर जति भाषण गरे पनि चलचित्रभन्दा सशक्त र बलियो माध्यम अरू कुनै हुनै सक्दैन । आजका बालबालिकालाई हिन्दी चलचित्रले यसरी प्रभाव पारेको छ कि उनीहरूको मस्तिष्कमा सत्ययुगमा भगवान्हरू पनि साँच्चिकै हिन्दी बोल्थे कि कसो हो भन्ने भान पर्न थालेको छ । यसको मूल कारण हो, भारतीय चलचित्र । त्यसैले त बालबालिका भगवान् र राक्षसको खेल खेल्दा हिन्दी संवाद बोल्न छुटाउँदैनन् ।
गैरआवासीय नेपाली सङ्घ र यो सङ्घलाई हाँक्न तयार भएका अग्रजहरूले पनि अब आफ्नो ऐजेण्डा र घोषणापत्रमा नेपाली सिनेमाको बारेमा उल्लेख गर्नुप¥यो । प्रवासमा हुर्कंदै गरेको दोस्रो पुस्तालाई घरमा नेपाली बोल्न सिकाएर मात्र भएन, नेपाली चलचित्रप्रति उनीहरूको चाहना बढाएर प्रवासमा नेपाली सिनेमाको प्रभाव बढाउँदै अर्कोतिर यसको बजार पनि विस्तार गर्नुपर्ने भएको छ ।
व्यक्तिगत रूपमा त केही देशमा नेपाली चलचित्र कहिलेकाहीँ प्रदर्शन हुने गरेको छ, तर यो कहिलेकाहीँलाई व्यवस्थित गर्न संस्थागत रूपमा नै प्रवासमा जसरी एनआरआईले गरेको छ, त्यसरी एनआरएनएले पनि गर्न सक्छ । भाषाको पक्षमा चाँडै नै प्रभाव पार्नसक्ने नेपाली चलचित्रप्रति चासो बढाउने खालका कार्यक्रमहरू ल्याउन सकेमा स्वतः एकातिर नेपाली सिनेमाको व्यावसायिक बजार पनि विस्तार हुन्छ भने विस्तारै–विस्तारै सिनेमाको आडमा नेपाली भाषाले पनि विदेशमा रहेका दोस्रो पुस्ताको मन र मस्तिष्कमा बास गर्न सक्ने वातावरण सिर्जना हुनसक्छ । यसतर्फ पनि गैरआवासीय नेपाली सङ्घले बेलैमा केही सोच्ने हो कि ?