सुष्मा तिमिल्सिना
हामी तीन दिदीबहिनी छौँ । छोरा जन्माएर छिमेकीको मुख बन्द गर्न मेरी आमाले धेरै प्रयत्न गर्नुभयो । छोराको आशमा एकपछि अर्को गर्भ लिए पनि काखमा तीन छोरी सीमित भयौँ ।
छोरा नपाउनुमा मेरी आमाको कुनै गल्ती थिएन तर समाजको आँखाले मेरी आमालाई नै दोषी देख्यो । मेलापर्म होस् या चाडपर्वमा, भेटेजतिले सोध्ने एउटै प्रश्न हुन्थ्यो, ‘छोराछोरी कति ?’ ‘तीन छोरी छन्’ भन्ने उत्तर पाएपछि प्रतिक्रियामा, ‘ए ! छोरी मात्रै ? छोरा छैनन् ?’ भन्ने आउँथ्यो ।
यस्ता प्रश्नले आमालाई कति रुवाउँथ्यो हो । यद्यपि आमाले हाम्रा अघिल्तिर आफ्नो दुःखपीडा लुकाएर खुसी मात्र देखाउनुहुन्छ । मलाई थाहा छ, आफ्नो भाग्यउपर आमा दुःखी हुनुहुन्छ तर म दुःखी छु भनेर आजसम्म कसैलाई पनि भन्नुभएन । हाम्रो खुसीका लागि आमाले सधैँ अगाडि बढ्न प्रेरणा मात्र दिनुभयो । हाम्रो खुसीका लागि रक्षाबन्धन, भाइटीकाजस्ता दाजु–बहिनीका विशेष चार्डपर्वमा पनि बाबाले हाम्रो दाजु बनी दिनुभयो । कहिल्यै पनि हामीलाई दाजुभाइको कमी अनुभव हुन दिनुभएन । सायद आमाले छोरीलाई दाजुभाइको कमी अनुभूति नहोस् भनेर बाबालाई सिकाउनुभएको पो हो कि ?
हामी दिदीबहिनी घरमा खुसी छौँ तर पनि गाउँ, छिमेक र समाजले ‘एउटा भए पनि छोरा पाउनुपर्छ’ भनेर दबाब दिन कहिल्यै छाडेनन् । यस्तो सुन्दासुन्दा त हाम्रो परिवार देखेर बरु छिमेकी पो बेखुसी छन् कि ? जस्तो लाग्छ । ‘एउटा छोरा पाउनैपर्छ’ भन्ने मनोवैज्ञानिक दबाब मेरो परिवारमाथि मात्र होइन, जताततै पाइन्छ । यो मनोविज्ञान हिजो त थियो नै, आजको २१औँ शताब्दीको सभ्यतातिर उक्लँदै गरेको समाजमा अझ झाँगिँदै छ । शिक्षित घरपरिवारमा यस्ता सोचले अझ जरा गाडेको देखिन्छ ।
एउटी छोरी, कसैकी बुहारी पनि हो । बालबालिकाका आमा, हजुरआमा पनि हो । एउटी महिलाले आफ्नो जीवनकालमा थुप्रै भूमिका र जिम्मेवारीमा उभिनुपर्छ । प्रस्ट छ, महिला सृष्टिकर्ता हुन् । हिन्दु धर्ममा शक्तिकी देवी दुर्गा, विद्याकी देवी सरस्वती र धनकी देवी लक्ष्मीका रूपमा नारीलाई पुजिन्छ । यद्यपि, व्यवहारमा देवी रूपकी छोरी मात्र जन्माउने आमाहरू समाजमा अपहेलित किन हुन्छन् ? भनिन्छ, एउटी छोरी शिक्षित भए घरपरिवार, समाज र राष्ट्र नै शिक्षित हुन्छ । नेपोलियन बोनापार्टले पनि भनेका थिए, ‘तिमी मलाई एक असल आमा देऊ, म तिमीलाई एक असल राष्ट्र दिनेछु ।’
बालबालिकाको पहिलो विद्यालय र गुरु पनि आमा हो । घरपरिवार हो । घरमा महिलाको सम्मान भए, बालबालिकाले त्यही सिक्छन् । यद्यपि केही सङ्ख्यालाई छाडेर नेपाली समाजमा महिलालाई केवल प्रजननकर्ताका रूपमा मात्र लिइने गरिएको छ । मुलुकको संविधान, ऐन–कानुनले महिला समानता, सशक्तीकरण र सहभागिताको कुरा गरे पनि धार्मिक, सामाजिक, सांस्कृतिक रूपमा महिलामाथि विभेद कायमै छन् । राजनीतिका जतिसुकै ठूला गफ हाँकिए पनि महिलालाई कोठा र कोटामा सीमित गरिएको छ ।
एक पटक हाम्रा संस्कार र संस्कृतिलाई नियालौँ । मृत्यु संस्कारमा पुरुष अगाडि सर्नुपर्छ, सारिन्छ । पितृ संस्कारमा पुरुष नै अगाडि सारिन्छ । अंशको कुरा त वंशसँगै गाँसिँदै आएको छ । यस्ता थुप्रै संस्कार र संस्कृति छन्, जो बिनापुरुष परिकल्पना नै गरिएको छैन । किन छोरी एउटा निरीह र अपूरो अस्तित्वमा मात्र हुन्छिन् ? यस्ता सामाजिक संस्कार र संस्कृति महिलामाथि भेदभाव, शोषण गर्ने हतियार बनेको छ ।
भन्न त भनिन्छ, महिला–पुरुष रथका दुई पाङ्ग्रा हुन् । यदि यस्तो हो भने रथका दुई पाङ्ग्रा ठीक तरिकाले अगाडि बढ्दा मात्रै रथले गन्तव्य भेट्न सक्छ । रथका महìवपूर्ण दुई पाङ्ग्रामध्ये एक महिलालाई समाजका हरेक क्षेत्रमा समान अधिकार, समानुपातिक प्रतिनिधित्व गराइनुपर्छ । सीप, सचेतना र सशक्तीकरणका माध्यमबाट महिलाको व्यक्तित्व विकासमा जोड दिइनुपर्छ । सम्मानपूर्वक आफ्नो हकअधिकार उपभोग गर्ने अवस्थाको सिर्जना गरिनुपर्दछ । पुरुषजत्तिकै समाज विकासको महìवपूर्ण अंशका रूपमा महिलालाई अगाडि बढाउनुपर्छ । अन्यथा बीच बाटोमै रथ अलपत्र पर्ने पनि हुनसक्छ ।
प्राकृतिक रूपमा महिला र पुरुषको शारीरिक बनावट फरक छन् । जसका कारण स्वभावजन्य अनुभूति र आवश्यकता पनि फरक हुन्छन् । समाजले महिला र पुरुषबीच फरक व्यवहार गर्छ । यसै सन्दर्भमा विवाहपछि सन्तानको चाहना पक्कै हुन्छ । त्यसमा पनि प्रायः नेपालीमा छोराको चाहना बढी देखिन्छ । हाम्रो समाजमा पहिलो सन्तान छोरा भएमा दोस्रो सन्तानको चाहना त्यति देखिँदैन । यद्यपि पहिलो सन्तान छोरी भए घरपरिवार, छिमेकी, आफन्तबाट प्रत्यक्ष, अप्रत्यक्ष वा ठट्टाकै रूपमा भए पनि छोरा चाहियो भनेर हरेक आमालाई माग आउन थाल्छ । सबैतिरको मनोवैज्ञानिक दबाबमा एउटी महिलालाई समेत के छोरा नै चाहिने हो त ? भन्ने प्रश्नमा रुमल्लिन पुग्नुपर्ने हुन्छ । त्यसो होइन, छोरीले पनि बाबुआमा पाल्न सक्छिन् ।
शिक्षा, सीप, ज्ञान र चेतनाले घरपरिवार, समाज र मुलुकका लागि योगदान गर्न सक्छिन् । जसका उदाहरण हाम्रै अघिल्तिर बग्रेल्ती छन् । लाखौँ छोरी अहिले त्यस्ता भइसकेका छन्, जसले उचित शिक्षा र अवसर पाउँदा आफूलाई अब्बल सावित गरेका छन् । आमाबाबुप्रतिको दायित्व र जिम्मेवारीसमेत निर्वाह गरेका छन् । निजामती प्रशासन, शिक्षा, व्यापार, प्राविधिक क्षेत्रका साथै राजनीतिक क्षेत्रमा समेत महिलाले नेतृत्व गरिरहेका छन् । आधी आकाश थाम्ने हातले अवसर पाउँदा पूरै आकाशसमेत थाम्न सक्छन् भन्ने उदाहरण प्रस्तुत गरिसकेका छन् । त्यसैले त भन्नुपर्ने भएको छ, ‘कोक्रो हल्लाउने हातले संसार हल्लाउन सक्छन् ।’