नेपाली काँग्रेसको १४औँ महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म हुने भएको छ । शनिबार सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले सर्वसम्मत् रूपमा महाधिवेशनको नयाँ मिति तोक्ने निर्णय गरेको हो । यसअघि निर्धारण गरिएको महाधिवेशनको मिति भदौ १६ देखि १९ गतेसम्ममा हुन नसक्ने देखिएपछि महाधिवेशनको नयाँ मिति तोकिएको हो ।
नेपाली काँग्रेस पार्टीको सङ्गठन संरचनाअनुसार सात वटा तहको अधिवेशन हुनुपर्छ । सबभन्दा तल्लो तह वडा कार्यसमिति हो । वडा अधिवेशन भदौ १८ गते गर्ने कार्यक्रम छ । त्यसैले नेपाली काँग्रेसको महाधिवेशन प्रक्रिया भदौ १८ गतेदेखि सुरु भएर मङ्सिर १३ मा केन्द्रीय महाधिवेशन सम्पन्न भएपछि पूरा हुनेछ । यसबीचमा गाउँ÷नगर, प्रदेश सभा क्षेत्रीय, प्रतिनिधि सभा क्षेत्र, जिल्ला र प्रदेश अधिवेशन हुनेछन् । क्रियाशील सदस्यको विवाद टुङ्ग्याएर अन्तिम नामावली भदौ ४ गते सार्वजनिक गर्ने निर्णय भएको छ । अझै सप्तरी, बारालगायत केही जिल्लाको क्रियाशील सदस्यको टुङ्गो लागिनसकेको अवस्थामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल र रमेश लेखकलाई विवाद समाधान गर्ने जिम्मेवारी दिइएको छ । काँग्रेसले आठ लाख ५२ हजार क्रियाशील बनाइसकेको छ । क्रियाशील सदस्यता विवाद हल गरेपछि र विदेशस्थित जनसम्पर्क समितिबाट क्रियाशील विवरण आउनेछ । यो समेत जोड्दा क्रियाशील सदस्य करिब नौ लाख पुग्नेछ ।
२०७२ साल फागुन २०–२३ मा भएको १३औँ अधिवेशनबाट निर्वाचित सभापतिमा शेरबहादुर देउवा र अन्य पदाधिकारी हाल बहाल छन् । नेपाली काँग्रेसको विधान, २०१७ (नवौँ संशोधनसहित) को धारा १७ को उपधारा (१) मा पार्टीको महाधिवेशन प्रत्येक चार वर्षमा हुने व्यवस्था छ । विधानमा महाधिवेशन थप एक वर्षभित्रमा सम्पन्न गर्न सकिने प्रावधान छ । यो अवधि पार भइसकेको छ । तर नेपालको संविधानको धारा २६९(४) मा राजनीतिक दलले कम्तीमा पाँच वर्षमा एक पटक सङ्घीय र प्रदेश तहका पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ । विशेष परिस्थितिमा तोकिएको अवधिमा निर्वाचन सम्पन्न नभए थप छ महिनामा निर्वाचन गर्न सकिने व्यवस्था छ । संविधानको यही प्रावधानबमोजिम नेपाली काँग्रेसको वर्तमान कार्यसमिति भदौ २३ गतेसम्म कानुनसम्मत हुनेछ । यसअघि नेपाली काँग्रेसले पटक पटक महाधिवेशनको मिति घोषणा गरे पनि कोरोना महामारी, प्रतिनिधि सभा विघटनजस्ता समस्याले सम्भव हुन सकेन । यही समयमा क्रियाशील सदस्यता वितरणसम्बन्धी समस्याबाट पनि पार्टी गुज्रनुप¥यो । विविध कारण समयमा महाधिवेशन हुन नसक्दा पार्टीको वैधानिकतामै प्रश्नचिह्न उठ्ने अवस्था आइरहेको अवस्थामा भदौ २३ गतेअघि नै महाधिवेशनको प्रक्रिया सुरु भइसक्ने भएपछि वैधानिकताको प्रश्न पनि समाधान भएको छ ।
मुलुकको सबभन्दा जेठो दल, सात दशकभन्दा लामो समयदेखि मुलुकको हरेक प्रजातान्त्रिक आन्दोलनमा नेतृत्व गरेको र मुलुकलाई अगाडि बढाउन महìवपूर्ण जिम्मेवारी भएको नेपाली काँग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्यासले राष्ट्रिय महìव राख्छ । त्यसैले पार्टीले विभिन्न बाधा अड्चन सहेर पनि महाधिवेशन सम्पन्न गरी व्यवहारमै लोकतन्त्र आत्मसात् गर्ने दलका रूपमा आफूलाई स्थापित गर्नुपर्छ । पार्टीको जगका रूपमा रहेका भातृ सङ्गठनको अधिवेशन लामो समयदेखि हुन नसक्दा नेतृत्व विकासमा बाधा पुगेको छ । महाधिवेशनपछि भातृ सङ्गठनको सक्रियतामा पनि जोड दिन आवश्यक छ । नेपाली काँग्रेसले सङ्घीय संरचनालाई आत्मसात् गरिसकेको छ । सङ्घीय संरचनाबमोजिमको सङ्गठन र समावेशी नेतृत्वको खाका तयार भइसकेको छ । यो खाका कार्यान्वयनको जिम्मेवारी १४औँ महाधिवेशनबाट आउने नेतृत्वमा छ । यो नेतृत्वका अगाडि पार्टीको मात्रै नभई देश निर्माणको नेतृत्व लिने अवसर छ । अब स्थानीय, प्रदेश र सङ्घीय संसद्को निर्वाचन हुँदैछ । आगामी निर्वाचनमा ती तहमा नेतृत्व गर्ने नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको भूमिका गहन हुनेछ । नेपाली काँग्रेस जनताको रोजाइको पार्टी बन्नुपर्छ, विकल्पको होइन । यसका लागि महाधिवेशन आवश्यक छ र महाधिवेशनबाट आउने नीतिगत मार्गदर्शन र त्यसलाई कार्यान्वयन गर्ने सबल नेतृत्व चाहिन्छ । यो महाधिवेशनबाट मात्रै सम्भव छ ।