logo
२०८१ मंसिर १४ शुक्रवार



अमर साहित्य साधक माधव घिमिरे

एउटै कविता किन नलेखियोस्, युग जित्ने रचना भयो भने धेरै लेख्न पर्दैन ।

विचार/दृष्टिकोण |


अमर साहित्य साधक माधव घिमिरे


डा. नारायण चालिसे
नेपाली साहित्यका अमर साधक माधव घिमिरे (१९७६–२०७७) को प्रथम वार्षिकीमा छौँ हामी । एक जना महान् साधक भौतिक शरीरले बिदा लिएको समय र उहाँले दिएको योगदानलाई सँगै राखेर क्षतिपूर्तिको प्रयत्नमा यी केही श्रद्धाञ्जलिका शब्द कोरिरहँदा केही दार्शनिक विचारहरू मनमा उब्जिएका छन् । गतसाल भदौ २ गते एक सय एक वर्ष पुरानो, पाको, विशाल वृक्ष ढल्दा नेपाली साहित्यले अपूरणीय क्षति बेहोर्नु परिरहेको छ ।

जीवन कालको उर्वर अवधि नेपाली साहित्यको श्रीवृद्धिमा समर्पण गर्नुभएका घिमिरेले पाञ्चभौतिक देह बिसाउँदा सिर्जनात्मक जीवन निष्क्रिय रहेको धेरै भइसकेको थियो । उहाँ आफैँले निर्माण गरेको इतिहासमा बाँचिरहनुभएको थियो पनि शारीरिक सक्रियता भने उहाँको कायमै थियो । हामी उहाँले प्रदान गर्ने भनिएको ‘ऋतम्भरा’ महाकाव्यको प्रतीक्षामा थियौँ । यद्यपि, समयले हामीलाई त्यो अवसर दिएन । त्यति महान् काव्यशिल्पीबाट बाहिर ल्याउन खोजिएको महाकाव्य अद्वितीय नै हुने थियो भन्ने हाम्रो अपेक्षा थियो । जेहोस्, एउटै कविता किन नलेखियोस् युग जित्ने रचना भयो भने धेरै लेख्न पर्दैन । त्यसमाथि घिमिरेले त नेपाली साहित्यको एउटा युग नै एकछत्र लिएर लामो समय हिँड्नुभएको थियो । शास्त्रीय छन्द, लय र स्वच्छन्द भावचेतनामा देशको विविधतामय शब्दचित्र उतार्नुभएका उहाँका कृतिहरू प्रत्येकले मनमुटुलाई स्पर्श गर्ने सामथ्र्य राख्छन् । ‘गौरी’ शोककाव्यबाट सुरु भएको उहाँको पाठकीय मन जित्ने लेखन ‘अस्वत्थामा’ सम्म नै कायम रह्यो ।

कालजयी बनेर आएका उहाँका कविता, खण्डकाव्य, गीति नाटक अनि राष्ट्रवादी गीतमा जीवित घिमिरे अमर स्रष्टा हुनुहुन्छ । देवकोटा, रिमाल, घिमिरे आदि स्रष्टाको अवसान नेपाली साहित्यको निम्ति ठूलो धक्का हो । अनि हामी भन्छौँ देवकोटा, सम, रिमाल वा घिमिरे फेरि जन्मिदिए पनि हुने । हामीले चाहेजस्तो देवकोटाहरू पुनः जन्मिने भए उनीहरू नै जाने थिएनन् । अर्थात् एक युगमा एक दिन एक पटक मात्र आउँदोरहेछ । आउने दिन पनि र जाने दिन पनि यसरी नै अविस्मरणीय रहनु निश्चय पनि स्रष्टाको निम्ति सुखद समय हो । घिमिरेका सिर्जनाले राष्ट्रिय गौरवगान गरेका छन् ।

नेपाली माटो र मुटुको सम्बन्धलाई यति आत्मीय किसिमले थोरै मात्र स्रष्टाले अभिव्यक्ति दिएका छन् । उहाँ लोकले स्वीकारेका र मन–मस्तिष्कमा गढेको कवि हुनुभएकोले नै राष्ट्रकविको रूपमा स्थापित हुनुभएको हो । राष्ट्रिय अखण्डता, स्वाभिमान र नागरिकसँगको भावनात्मक सम्बन्धको गहिराइमा भिजेर विवेचना गर्ने सामथ्र्य जो कोहीमा हुँदैन । घिमिरेले नेपाली माटो र मुटुको स्पन्दन लेखेर नेपाली साहित्यको स्तरलाई तीन बित्ता माथि उठाउनुभएको छ । उहाँ देशभक्त, कलाप्रेमी, साहित्यसाधक हो र यही नै उहाँको वाद वा जीवन दर्शनको सार पनि हो ।

समयलाई आफ्नो पोल्टामा खन्याएर सुवासित तुल्याउने सामथ्र्यले गर्दा नै हामीले घिमिरेलाई महान् स्रष्टा मानेका हौँ । जानेहरूले यसरी नै केही दिएर गएका छन् । केही सिकाएर गएका छन् । उहाँहरूका पदचापलाई पछ्याउन सकेको खण्डमा वा उहाँहरूका मनका ध्वनिलाई सुनेका छौँ भने मात्र पनि धेरै ठूलो कुरा हुन्छ पछिल्लो पुस्ताको निम्ति । केही वर्ष यसरी नै सम्झिएपछि हामीले पनि उहाँहरूप्रतिको कर्तव्य पूरा भएको ठानौँला कुनै दिन । अथवा हुन सक्छ, साहित्यको धार परिवर्तन हुँदै जाँदा हिजोका अन्य तमाम मान्यताजस्तै घिमिरेहरू पनि ओझेलमा पर्दै जालान् । यो नौलो कुरा पनि होइन, नयाँले पुरानालाई ओझेलमा पार्दै जानेक्रम नियमित प्रक्रियाजस्तै हुन जान्छ । तर सयौँ वर्ष बाँचेर पनि कहिल्यै पुरानो नहुने विचार र दर्शनले स्रष्टालाई अमर बनाउने रहेछ । समाजमा कसले के कस्तो योगदान गरिरहेको छ, त्यसको सही मूल्याङ्कन गरेर समाज चल्ने हो भने अहिले हामीले जसलाई असल र उच्च भनिरहेका छौँ, तीभन्दा फरक व्यक्ति अगाडि आउने रहेछन् । जसको योगदानको गुन गाएर हामी थाकिरहेका छैनौँ, तिनीहरूप्रतिको हाम्रो धारणा फेर्नुपर्ने अवस्था पनि आउँदोरहेछ । हाम्रो ज्ञानको परिवेश र सीमाले हामीलाई विकल्पको बाटोमा हिँड्न त्यति उत्साह जगाउँदैन । त्यसैले सधैँजसो एउटै धारणामा हिँडिरहनु हाम्रो कमजोरी हो । जबसम्म हामी स–सम्मान आफ्ना पूर्वजका विचार र दर्शनको पुनर्पाठ एवं पुनर्लेखन गर्ने सामथ्र्य राख्दैनौँ, तबसम्म नयाँ संसारको ढोका उघारिँदैन ।

प्लेटोले गुरु सुकरातका दर्शनमा पुनर्विचार राखे, अरस्तुले गुरु प्लेटोका विचार र दर्शनको स–सम्मान खण्डन गरे । तर सुकरात, प्लेटो र अरस्तुको गुरुशिष्य परम्परा पाश्चात्य साहित्य र दर्शनको सबैभन्दा श्रेष्ठ परम्परा मानिन्छ । हाम्रोतिर त्यस्तो परम्पराको थालनी नै भएन । या त हामी कसैका अन्धभक्त भइरह्यौँ वा कसैका आलोचक मात्र बन्न जान्यौँ । अनगिन्ती शक्ति र सीमा लिएर आएको मानिस नै पूर्ण मानिस हो भन्ने नबुझेर मानिसलाई देवता बनाउने बित्था प्रयत्नमा वा मानवलाई दानव बनाउने पूर्वाग्रहमा हाम्रो सिर्जनात्मक समय खेर फाल्ने हाम्रो परम्पराले साहित्य वा दर्शनमा नयाँ मार्ग प्रशस्त हुन सकेन । मानवीय गुणदोष लिएरै आएका घिमिरेबाट नेपाली साहित्यमा असाधारण योगदान भएको छ । हामीले त्यसको सम्मान गरौँ र अनुसरण गरौँ । हामीसँग मानिसजन्य तमाम आग्रह र पूर्वाग्रहहरू पनि छन् । घिमिरेका बारेमा केही आग्रह थिए र तीभन्दा धेरै अग्लो उहाँको योगदान थियो ।
चौध वर्षको उमेरमा ‘ज्ञानपुष्प’ नामको कविता गोरखापत्रमा प्रकाशित गरेर साहित्ययात्राको औपचारिक थालनी गरेका घिमिरेले पुगनपुग नब्बे वर्ष अनवरत रूपले नेपाली साहित्यका काव्य र नाटक विधामा पु¥याएको योगदान चानेचुने आकलनले पुग्दैन । नवमञ्जरी, गौरी, मालती मङ्गले, शकुन्तला, हिमालवारि हिमालपारि, राजेश्वरी, पापिनी आमा, इन्द्र्रकुमारी, किन्नर किन्नरी, राष्ट्रनिर्माता, चारुचर्चा, अस्वत्थामा, आफ्नो बाँसुरी आफ्नै गीतलगायतका चर्चित रचनाका स्रष्टा घिमिरेका हरेक कृति उत्तिकै लोकप्रिय रहेका छन् । विचारमा स्वच्छन्दतावादी र प्रगतिशील चेतनाका पृष्ठपोषक अनि शिल्पमा परिष्कारवादी घिमिरे, रस अलङ्कार, विचार र दर्शन प्रयोगका पनि अद्भुत साधक हुनुहुन्थ्यो । एकातिर साहित्य सिर्जना र अर्कोतिर विभिन्न सङ्घ–संस्थाको संलग्नता दुवै दृष्टिले घिमिरे आफ्नो जीवनकालभरि लोकप्रिय एवं चर्चित रहनुभयो ।

अब कसैप्रतिको अतिशय आशक्ति वा अनाशक्तिको पनि खास अर्थ छैन । मानिसको अनुपस्थिति वास्तवमा उसको गुन र गरिमाको मूल्य बुझ्ने समय हो । जीवित रहुन्जेलसम्म त मानिसको बाटो छेक्ने नै धेरै हुन्छन् । ऊभन्दा अग्लो दरिन, दाँजिन आउने नै बढी हुन्छन् । तँछाड र मछाडको यो स्वार्थी संसारमा निष्पक्ष आँखाले हेर्ने समय नै कतिखेर मिल्छ र ? जब अस्ताउँछ कुनै व्यक्तिको भौतिक शरीर अनि उसको आत्मिक अस्तित्व झरिलो भएर आउँछ । त्यसपछि खुट्टा तान्न सायद त्यति पर्दैन । माधव घिमिरे त्यस्तै स–साना मुखले प्रशंसा गरेर पनि नपुग्ने व्यक्तित्वको नाम हो भने निन्दा गर्न त झन् धेरै परको सामथ्र्य चाहिन्छ । त्यसो त निन्दा गर्न योग्यता चाहिँदैन । अयोग्यता नै सबैभन्दा ठूलो योग्यता हो । तापनि गुणदोष पहिचानको सामथ्र्य नभएकाहरूले निन्दाको पनि आँट गर्न हुँदैन । अरूतिर पनि कुरा त्यस्तै होलान्, त्यसमाथि साहित्यको हकमा कुनै स्रष्टा जनताको मन–मस्तिष्कमा बास बस्न पुगेपछि उसको विशिष्टता मापनका निम्ति अरू आधार चाहिँदैन । हामी त भन्छौँ एउटै कृतिले स्रष्टालाई अमर बनाउँछ । भानुभक्तको रामायण, देवकोटाको मुनामदन, रिमालको आमाको सपना, भूपिको घुम्ने मेचमाथि अन्धो मान्छे, लीलबहादुरको बसाइँ, पारिजातको शिरीषको फूल, बीपीको तीन घुम्ती, यस्तै यस्तै अनगिन्ती दृष्टान्त छन्, जसले स्रष्टालाई अमर बनाएका छन् । त्यसैले घिमिरे गौरीले नै अमर बन्नुभएको छ भने त्यसमाथि उहाँका हरेक कृति अमर छन् ।

श्रेष्ठताको मापन देश, काल सापेक्ष पनि हुन्छ । अबको पुस्तालाई एउटै मुनामदन वा गौरी लेखेर मात्र मानवीय समवेदना समात्न नपुग्ला । त्योभन्दा कठोर समय र परिस्थितिले घाइते बनेको मानव संवेदनालाई पगाल्न हदैसम्मको नयाँ शैली चाहिएला । त्यो भिन्दै कुरा हो तर समयले पनि स्रष्टालाई साथ दिनुपर्छ । यद्यपि, गौरी घिमिरेले आफ्नी पत्नीको वियोगमा उनैलाई विषय बनाएर लेखिएको शोक रचना हो । कुनै व्यक्तिको व्यक्तिगत जीवनले सबैको निम्ति उही प्रकारको शोक अनुभूति गराएकैले गौरी चर्चित रह्यो । अर्थात् साहित्यमा आत्मानुभूतिलाई सार्वजनिक विषय बनाउन सकिने अनौठो सामथ्र्य हुन्छ ।

माधव घिमिरेका शब्दमा प्राप्त हुने परिष्कारपूर्ण लालित्य र शैलीमा पाइने जादूमय चमत्कारले गर्दा उहाँका प्रत्येक कृतिले विचार र भावको नयाँ संसार सिर्जना गरेका छन् । कविता लेख्नु र कवितामा जीवनको सौन्दर्य लेख्नु एउटै कुरा होइन । घिमिरेले निर्माण गरेको कविताको संसार ज्यादै सुन्दर, रमणीय अनि भावमय रहेको पाइन्छ । व्यवहारमा खास आध्यात्मिकभन्दा अलि बढी भौतिकवादी लाग्ने घिमिरे विचारमा पनि त्यति रुढ हुनुहुन्नथ्यो । उहाँ संस्कार चेतनाले आध्यात्मिक हुनुहुन्थ्यो । कृति र परिस्थिति दुवैको संयोजनमा समकालीन पुस्तामा आफ्नो कवित्वको गहिरो छाप छोड्न सफल घिमिरे समय चिनेर हिँड्न जानेको स्रष्टा हुनुहुन्छ । जतिखेर घिमिरेले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै हुनुहुन्थ्यो वा विभिन्न संस्थाको नेतृत्व गर्दै हुनुहुन्थ्यो, ठीक त्यही बेलाको व्यवस्थाको विरोधमा पनि अनगिन्ती साहित्यकार सरिक भएर जेलनेल भोगिरहेका थिए । एकथरिले निकम्मा सरकार भनिरहँदा अर्काथरिले त्यही सत्ताको गुणगान गाएर पुरस्कार थापिरहेका थिए । त्यो भिन्दै कुरा पनि हो । यसरी सत्ताको साहित्य र प्रतिपक्षको साहित्यबीचको अन्तराल झाङ्गिदो छ र त्यो निरन्तर चलिरहँदोरहेछ । हिजो थियो, आज छ र भोलि पनि रहन्छ ।

स्रष्टा राष्ट्रको साझा सम्पत्ति हो । उसले देखेको सुन्दर संसारमा कुनै भेदभाव छैन । प्रकृतिले सबैलाई समान अवसर दिएकी छन् । नदी, खोलानाला वा आकाशको जून सबै धर्तीमा समान किसिमले पुगेको छ । एक जना प्रकृतिप्रेमी स्रष्टा यस्तैमा सम्पूर्णता देख्छ । एक जना राष्ट्रप्रेमी स्रष्टालाई राष्ट्रको माया गर्नुभन्दा ठूलो कुरा अर्को नहुन सक्छ । विषय, विधा वा विचारको पनि आफ्नो छनोट हुन्छ । कसैलाई औधि राम्रो लागेको कुरा कसैलाई कत्ति मन नपर्नु मानवीय स्वभाव हो ।
तमाम सीमाबीच पनि असाधारण सफलता हात लाग्छ मानिसको जीवनमा । समयलाई उछिनेर योगदानको शिखर ठड्याउन सकियो भने मात्र जीवन सार्थक भएको मानिन्छ । राष्ट्रकवि घिमिरे त्यसरी नै अग्लिएको स्रष्टा हो । उहाँले लेखेको साहित्य देशको साहित्य हो । राष्ट्रको गौरव हो । घिमिरेको साहित्यका विविध विषयलाई आधार बनाएर नेपाली साहित्यमा थुप्रै विद्यावारिधि सम्पन्न भइसकेका छन् र यो क्रम अहिले पनि जारी छ । यति विशिष्ट स्रष्टाका विषयमा थोरैमा केही भन्न खोज्नु केवल आस्थाको प्रकटीकरण मात्र हो । अन्त्यमा, उहाँकै कालजयी विचारका चार हरफसहित भावपूर्ण शब्दश्रद्धा !
विच्छिन्न विच्छिन्न हुने प्रवृत्ति,
सहन्न भाइ म त एक रत्ति ।
विशाल नेपाल म रच्छु रच्छु,
कहाँ छ मृत्युञ्जयलाई मृत्यु ।। (राष्ट्रनिर्माता) !



यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?