logo
२०८१ मंसिर १४ शुक्रवार



स्मार्ट सेवातर्फ नेपाल विद्युत् प्राधिकरण

विचार/दृष्टिकोण |




रमिला कोइराला दाहाल
स्मार्ट मिटर एक प्रकारको विद्युतीय उपकरण हो । यो उपकरणमा दोहोरो सञ्चार प्रणाली जडान गरिएको हुन्छ । जुन सञ्चार प्रणालीका कारण नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रणालीले नियमित रूपमा त्यस्ता स्मार्ट मिटरको मनिटरिङ गरिरहेको हुन्छ । ग्राहकले बिल तिरे, नतिरेको पनि तत्क्षण प्राधिकरणको केन्द्रीय प्रणालीमा जानकारी हुन्छ । स्मार्ट मिटरिङ डिभाइसमा जडान गरिएको प्रणालीमा नै उपभोक्ताले रिचार्ज कार्डमार्फत रिचार्ज गरेर विद्युत्को उपभोग गर्न सक्ने हुन्छ । ग्राहकले आफ्नो मोबाइलमा लिङ्क गरी विद्युत् उपभोगको विवरण हेर्न सकिन्छ । विद्युत्को प्रवाह, भोल्टेज गति, विद्युत् खपत आदिको विवरण यथासमयमा नै हेर्न सकिन्छ । यसबाट ग्राहकले आफूले प्रयोग गरिरहेको विद्युत्को यथार्थपरक विवरणको आफ्नै हातमा रहेको मोबाइलबाट जानकारी पाउन सक्छ ।
विश्वका विकसित मुलुकहरूमा पछिल्ला वर्षहरूमा स्मार्ट मिटरको प्रयोग बढिरहेको छ । स्मार्ट मिटर जडान गरिसकेपछि विद्युत् उपभोक्ता र विद्युत् बिक्रेता प्राधिकरण दुवैलाई सहज हुन्छ । स्मार्ट मिटर जडान डिस्प्लेयुक्त हुने भएकाले उपभोक्ताले खपत भइरहेको बिजुली र त्यसबापत लाग्नसक्ने रकमको जानकारीसमेत तत्क्षण थाहा पाउन सक्दछन् ।

हाल नेपालमा २०७७ साउन २५ गते उद्घाटन गरी पुराना मिटरलाई स्मार्ट मिटरमा परिवर्तन गर्ने कार्यको थालनी भइसकेको छ । पहिलो चरणमा एक लाख मिटर जडान हुने भएका छन् । यो स्मार्ट मिटर सबै खालका ग्राहकको घर, व्यावसायिक भवन, कलकारखाना लगायतका स्थानमा जोड्न सकिन्छ । सिङ्गलफेज, थ्रिफेज र थ्रिफेजका सिटी अपरेटरमा जोड्न मिल्दछ । सिङ्गलफेज र थ्रिफेज उपभोक्ताका लागि हो भने सिटी अपरेटर थ्रिफेज ट्रान्सफरमरमा प्रयोग हुन्छ । जहाँ ट्रान्सफरमरबाट कति ऊर्जा प्रवाह भइरहेको छ र मिटरमा कति ऊर्जा पुगेको छ भनेर जान्न सकिन्छ । यसै कारणले गर्दा चुहावट नियन्त्रणमा ठूलो सहयोग पुग्दछ ।
एसियाली विकास बैङ्कको सहयोगमा प्राधिकरणले हाल पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज वितरण केन्द्र र रत्नपार्क वितरण केन्द्रअन्तर्गत रहेका ग्राहकमध्ये करिब ९८ हजार ग्राहकमा स्मार्ट मिटर जडान कार्य सम्पन्न गरिसकेको छ । हालसम्म सिङ्गल फेज स्मार्ट मिटर, थ्रिफेज मिटर र सिटी मिटरका क्रमशः करिब ९० हजार, सात हजार र एक हजार ग्राहक छन् ।

स्मार्ट मिटरिङका फाइदा :
स्मार्ट मिटर जडानपश्चात् नेपाल विद्युत् प्राधिकरण र यसका उपभोक्तालाई प्रत्यक्षतः निम्नानुसारका फाइदा पुग्ने देखिन्छ :
१. पुरानै मिटर जडानको हालको अवस्थामा ग्राहकले समयमा महसुल नबुझाउँदा लाइन काटिएका ग्राहकमा स्मार्ट मिटर जडान गर्नुपर्ने हुँदा महसुल तिर्न बाध्य भएकाले महसुल सङ्कलनमा वृद्धि भएको छ ।
२. विद्युत् चुहावट नियन्त्रणमा ल्याउन मद्दत पुगेको छ ।
३. कुनै कारणवश लाइन काट्नुपर्ने अवस्था आइपरेमा सम्बन्धित ग्राहकमा नपुगी सर्भरबाट नै लाइन काट्न र जोड्न सकिने भएकाले यसका लागि लाग्ने समय, खर्च र जनशक्ति कम बचत हुन्छ ।
४. मिटर रिडरको आवश्यकता नपर्ने ।
५. ग्राहकले घरमै बसेर आफ्नो विद्युत् खपत, उठेको महसुल, मिटरको अवस्थालगायतका तथ्याङ्क र विवरण प्राप्त गर्न सक्नेछन् ।
६. स्मार्ट मिटरका तथ्याङ्क रेडियोफ्रिक्वेन्सी तथा जीपीआरएसको माध्यमबाट स्वचालित रूपमा प्राधिकरणको केन्द्रीय कार्यालयमा रहेको डाटा सेन्टरको सर्भरमा पुग्ने हुँदा सर्भरमा पुगेको जानकारीका आधारमा प्राधिकरणले तत्कालै कारबाही गर्न सक्नेछ ।
७. यसमा नेट मिटरिङको पनि सुविधा हुने र साथै ग्राहकको घरमा जडान भएको सोलार प्रणालीको ऊर्जा दिउँसोको समयमा प्राधिकरणलाई दिने र बिहान–बेलुका प्राधिकरणबाट विद्युत् लिने कामको मापन नेट मिटरिङ प्रणालीमार्फत हुनेछ । घरमा बढी भएको सोलार ऊर्जा खेर जाने समस्या हट्ने र ग्राहकको आय आर्जनमा पनि टेवा पुग्नेछ ।
८. स्मार्ट मिटर जडान भएपछि कुन उपभोक्ताले के कति महसुल तिरेका छन् भन्ने रियल टाइम ऊर्जा खपतको जानकारी पनि स्मार्ट मिटरिङ प्रणालीमा हेर्न सकिन्छ ।
९. कुनै पनि ग्राहकले विद्युत् चोरी गरेमा वा चोरी गर्ने प्रयास गरेमा प्राधिकरणको स्मार्ट डाटा सेन्टरमा रहेको सर्भरमा सूचना प्राप्त हुन्छ र तत्कालै प्राधिकरणले कारबाही अगाडि बढाउन सक्नेछ ।
१०. कुनै पनि ग्राहकले स्वीकृत क्षमताभन्दा धेरै विद्युत् खपत गर्न खोजेमा पनि प्राधिकरणको सर्भरमा सूचना आई आफैँ बन्द हुने (ब्गतयmबतष्अ तचष्उउष्लन) हुने हुनाले यसबाट पनि फाइदा पुग्नेछ ।
११. मिटर रिडिङमा खटिने जनशक्ति कटौती गर्न सकिने वा अरू काममा लगाउन सकिने छ ।
१२. अहिले कोरोनाको महामारी भएजस्तै भविष्यमा आउन सक्ने यस्तै महामारीका बेला सामाजिक तथा भौतिक दूरी कायम गरेर सेवा दिने र प्रणालीको काम जारी राख्न ठूलो सहयोग पुग्नेछ ।
१३. स्मार्ट मिटरिङ प्रणालीमा महसुल भुक्तानीका लागि प्रिपेडको पनि सुविधा रहनेछ ।
१४. प्राधिकरणले ट्रान्सफरमरको लोड यसै मिटरमार्फत थाहा पाउन सक्ने भएकाले लोड व्यवस्थापनमा सहज हुने र वितरण ट्रान्सफरमरमा जडान गरिएका स्मार्ट मिटरमार्फत ट्रान्सफरमरसम्बन्धी गुनासोलाई व्यवस्थापन गर्न छिटोछरितो हुनेछ ।
१५. कुनै वितरण प्रणालीमा समस्या आएमा तत्कालै डाटा सेन्टरमा स्वचालित प्रणालीमार्फत जानकारी आउने छ ।
१६. ग्राहकलाई बिल प्रिन्ट गरेर दिइरहनु नपर्ने भएकाले कार्बन उत्सर्जनमा कमी ल्याउन सहयोग हुनुका साथै वातावरणीय प्रदूषण नियन्त्रणमा पनि स्मार्ट मिटरले सहयोग पु-याउने छ ।

कार्यान्वयनमा जटिलता र भ्रम :
नेपालको विद्युत् व्यवस्थापनका क्षेत्रमा स्मार्ट मिटरिङले जुन उत्साह जगाएको छ, यसको कार्यान्वयनका क्रममा उत्पन्न केही शङ्काका कारण विविध चुनौती खडा भएका छन् । स्मार्ट मिटरिङको प्रयोगका सन्दर्भमा नेपाल विद्युत् प्राधिकरणका ग्राहक वर्गमा उत्पन्न भएका विविध प्रकारका शङ्का र अविश्वासको निराकरण गरी यसका फाइदा तथा सबल पक्षका बारेमा जनचेतनामूलक कार्यक्रम अभियानका रूपमा लैजानु आवश्यक हुन्छ ।
प्रारम्भिक अवस्थामा रहेको स्मार्ट मिटरिङ प्रणालीको कार्यान्वयनका क्रममा रहेकोमा उपभोक्तामा स्टक युनिटका कारणले गर्दा ग्राहकमा महसुल धेरै उठेको भन्ने भ्रम सिर्जना भएको छ । यसैगरी कतिपय ग्राहकको घरमा रहेको मिटर लामो समयदेखि प्रयोगमा नरहेको र लगत खारेजीको प्रक्रियामा समेत नगएको अवस्था भएकाले यसको व्यवस्थापनमा समस्या रहेको छ । यसैगरी स्मार्ट मिटर जडान गर्न कतिपय ग्राहककहाँ ढोका नखोलेको, सम्पर्कमा नआएको एवं केही विशिष्ट व्यक्तिको घर, अन्तर्राष्ट्रिय नियोग तथा दूतावासहरूमा सुरक्षालगायतका विविध कारणले स्मार्ट मिटर जडान गर्न नदिँदा स्मार्ट मिटर जडान गर्न छुटेको अवस्था छ ।

स्मार्ट मिटरिङ प्रणालीको प्रभावकारिता
विकसित मुलुकहरूले धेरै अघिदेखि प्रयोगमा ल्याएको स्मार्ट मिटरिङलाई नेपाल विद्युत् प्राधिकरणले प्रयोगमा ल्याउन पहिलो चरणमा काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रबाट सुरुवात भएको छ । कुनै पनि नयाँ विषय प्रयोगमा ल्याउँदा यसको विषयमा पर्याप्त जानकारी सेवा प्रदायक र सेवाग्राही दुवैलाई हुनु जरुरी हुन्छ । यस प्रकारका महìवपूर्ण योजनाहरू कार्यान्वयन गर्दा आमउपभोक्तामा यसका सबल र सकारात्मक पक्षका बारेमा जानकारी गराउन आवश्यक हुन्छ । स्मार्ट मिटरिङका बारेमा आमउपभोक्तामा जानकारी पु-याउन आमसञ्चारका माध्यमहरूमार्फत यसको महìव र उपादेयताको जानकारी गराउन आवश्यक छ ।

ग्राहकलाई यस प्रणालीमा आबद्ध गर्नका लागि सरोकारवाला निकायसँगको सहकार्य अभिवृद्धि गराउन सकिन्छ । कूटनीतिक नियोगहरूलाई समेट्न नसकिएको विषयमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र परराष्ट्र मन्त्रालयमार्फत सम्पर्क स्थापित गरी सुरक्षा चुनौती नरहेको जानकारी गराई स्मार्ट मिटरिङ जडान गर्न सकिन्छ । त्यसैगरी ग्राहक वर्गमा यसको प्रयोगबाट धेरै महसुल उठ्ने गरेको भ्रम निवारण गर्न स्मार्ट मिटरिङभन्दा पहिले प्रयोगमा रहेको मिटरमा उठेको भुक्तानी हुन बाँकी रहेको महसुल जसलाई स्टक युनिट पनि भनिन्छ, त्यसको कुरा बुझाउन सक्नुपर्दछ । लामो समयसम्म प्रयोगमा नआएका मिटरको लगत खारेजी प्रक्रिया अघि बढाउन सकिन्छ । यसका लागि स्मार्ट मिटरिङ प्रणालीको विषयमा ग्राहकको प्रत्यक्ष सम्पर्कमा आउने कर्मचारी एवं वितरण केन्द्रमा कार्यरत कर्मचारीलाई स्मार्ट मिटरिङसम्बन्धी अभिमुखीकरण तालिम, यसको प्राविधिक पक्ष र ग्राहकसँग गरिने व्यवहार एवं सञ्चार कौशलजस्ता सीप विकासका कार्यक्रम सञ्चालनसमेत गर्नु जरुरी हुन्छ ।

स्मार्ट मिटर एक इलेक्ट्रोनिक उपकरण हो, जसले सञ्चार एवं सूचना प्रविधिका माध्यमबाट विद्युतीय सूचनाजस्तै विद्युत् खपत, भोल्टेज स्तर, करेन्ट, पावर फ्याक्टर आदिको रेकर्ड गर्ने गर्दछ । विद्युत् खपतको जानकारी र अन्य महìवपूर्ण सूचनाहरू मोबाइन, इमेललगायतबाट प्राप्त गर्न सकिन्छ । यसको प्रयोगबाट सेवा प्रदायक नेपाल विद्युत् प्राधिकरण एवं उपभोक्ता दुवैलाई उल्लेख्य फाइदा पुग्न जानेछ । यस प्रकारको बहुउपयोगी स्मार्ट मिटरिङको प्रयोगलाई विस्तार गर्ने र यसबाट सबै सरोकारवालालाई लाभान्वित गराउँदै सूचना प्रविधिको युगमा आमसर्वसाधारण नागरिकमा स्मार्ट मिटरिङको विषयमा व्यापक प्रचारप्रसार गरी यसको उपभोग विस्तार गर्नु आजको आवश्यकता हो ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?