मोहनकृष्ण सापकोटा
कोभिड–१९ को महामारीले विश्वमा लाखौँ मानिसको ज्यान लिइसकेको छ भने नेपालमा पनि दस हजारभन्दा बढीको मृत्यु भइसकेको छ । मानव इतिहासमा नै यो महामारीको असर अति भयानक छ र मृत्युको दर अकल्पनीय बनिरहेको छ । त्यसैले यसलाई महाविपत्ति पनि भनिएको हो । केही देशलाई छाडेर धेरै देश र अझ अल्पविकसित देशको आर्थिक अवस्थालाई शून्य वा ऋणात्मक बनाई मन्दीको अवस्थाको नजिक पु¥याएको छ । नेपालको सामाजिक व्यवस्था, आर्थिक अवस्था र स्वास्थ्य पूर्वाधारको उपलब्धताको स्तरअनुसार अन्य देशको भन्दा केही फरक स्थिति भए तापनि हाम्रो आर्थिक गतिविधि शिथिल बनेको छ । रोजगारी खुम्चिएको छ, आर्थिक वृद्धिमा सङ्कुचन भएको र गरिबीको स्तर घटाउँदै लैजानुपर्नेमा झन् बढ्दै गएको छ । आर्थिक पुनरोत्थानका कार्यक्रम सञ्चालन गर्न कठिन परिरहेको छ । कोभिडको असर सबैलाई समान रूपमा नभई फरक–फरक रूपमा पर्नु, जनचेतनाको अभावले नागरिक संवेदनशील नहुनु, गत वर्ष कोभिड नियन्त्रण व्यवस्थापनका लागि सुरुमा नीतिगत अन्योल र औषधिलगायत स्वास्थ्य सामग्री खरिद प्रक्रियामा प्रश्न उठ्ने स्थिति उत्पन्न हुनु, समग्र कोभिड व्यवस्थापनमा सबै तहका सरकारको सक्रिय भूमिका हुन नसक्नु, खुला सीमाले गर्दा अपेक्षित निरोधात्मक र नियमनका काम प्रभावकारी नहुनु, व्यावसायिक घरानाको भूमिका न्यून हुनु, गैरसरकारी संस्थाहरूको न्यून प्रभावकारिताजस्ता कारणले गर्दा महामारी नियन्त्रण आज पनि चुनौतीपूर्ण अवस्थामा छ ।
कोभिड रोग नयाँ, रूप परिवर्तन भइरहने, उपचारको टुङ्गो नलागिसकेको महामारी भएकाले यसको नियन्त्रण गर्न सरकारी क्षेत्र, गैरसरकारी क्षेत्र, नागरिक समाज, घरपरिवार एवं व्यक्तिगत अग्रसरताको ठूलो महìव रहन्छ । सबै क्षेत्रको सक्रियता, सहयोग र सहभागितामा महामारी नियन्त्रणको अवस्था निर्भर हुन्छ । मास्क लगाउनु, भौतिक दूरी कायम गर्नु र पटक–पटक हात धुनु वा सेनिटाइजर प्रयोग गरी हात सफा गर्नुजस्ता क्रियाकलापले रोगको सङ्क्रमण नियन्त्रण, रोकथाम र न्यूनीकरणमा प्रभावकारी नतिजा दिन सक्छ भने खोप लगाउने, यथासमयमा गुणस्तरीय उपचार सेवा सुरु गर्ने भरपर्दो प्रणालीबाट यसमा जित हासिल गर्न सकिन्छ । हाम्रो विशिष्ट भूगोल र सामाजिक अवस्था, पूर्वाधारको अभाव, नागरिक चेतनाको स्तर र शासकीय ढाँचासमेतलाई विचार गर्दा सबै तहका सरकार, गैरसरकारी क्षेत्र, निजी क्षेत्र, घरपरिवार तथा व्यक्तिगत सावधानी, सहयोग, अनुशासनबद्ध दैनिकी एवं क्रियाकलापले सामूहिक रूपमा कार्य गरे मात्र यस महामारीउपर विजय हासिल गर्न सकिन्छ ।
सरकारले ढिलै भए पनि खोप व्यवस्थापन गर्न उच्च तत्परता देखाएको छ । नागरिकमा सक्रिय चेतना देखा पर्न थालेको छ र मास्क लगाउँ, खोप लगाउँ जस्ता अभियानको थालनी भएको छ । यस स्थितिमा महामारीको तेस्रो लहर आउन नदिई, अर्थतन्त्रलाई थप धराशयी हुन नदिन र नागरिकको अमूल्य जीवन जोगाउन रोकथाम र नियन्त्रणका अभियानहरू चलाउनु, त्यसमा सबैले साथ दिनु, मास्क लगाउनेसमेतका उपाय गर्ने, पोषणयुक्त खानेकुराको उपयोग, गुणस्तरीय उपचार व्यवस्था, समयमै अस्पताल वा स्वास्थ्यकर्मीसँग उपचार गराउने बानी, रोगग्रस्त बिरामीलाई सामाजिक सहयोग र सावधानीजस्ता कुरामा ध्यान दिनु अति जरुरी छ । यो सबैको सामूहिक जिम्मेवारीको क्षेत्र भएकाले केही महìवपूर्ण कुरामा थप स्पष्ट हुन आवश्यक छ ।
व्यक्तिगत व्यवहार
आफू सुरक्षित रहनु र अरूलाई पनि सुरक्षित राख्न व्यक्तिगत व्यवहार सबैभन्दा महìवपूर्ण हुन्छ । मास्क राम्रोसँग नलगाउने, नाक देखाएर मास्क लगाउने, चिउडोमा मास्क झुन्डाएर हिँड्ने, मास्कको वास्ता नै नगर्ने वा हातमा लिएर चुरोट वा खैनी खाँदै हिँड्ने, जथाभावी थुक्ने, भौतिक दूरी कायम नगर्ने, हात नधुने वा सेनिटाइजर प्रयोग नगर्ने, अङ्कमाल गर्ने वा हात मिलाउने जस्ता व्यवहारमा परिवर्तन हुन जरुरी छ । हाम्रो सांस्कृतिक परम्पराअनुसार जुत्ताचप्पल घरबाहिरै राख्ने, हातखुट्टा धोएर मात्र घरभित्र प्रवेश गर्ने, टाढैबाट अभिवादन गर्ने, नुहाएर मात्र खाना खाने, हाच्छ्यु गर्नु परेमा हातको कुहिनामा पर्ने गरी गर्ने आदिलाई झनै प्रभावकारी बनाउनुपर्छ । व्यक्तिगत सजगताले रोग न्यूनीकरणमा ठूलो सहयोग पुग्दछ ।
सामूहिक व्यवहार
धेरै मानिस जम्मा हुने स्थानको व्यवस्थापन जनस्वास्थ्यको मापदण्डअनुरूप गरिनुपर्छ । मानिस भेला हुने कार्य केही समयलाई स्थगित गरिनुपर्छ । कथंकदाचित गर्नु नै पर्ने भएमा भौतिक दूरी कायम गरेर मात्र गराउनुपर्छ । पूजा आयोजक, अतिथि, पुरोहित आदि सबैले मास्क, दूरी र सरसफाइका मापदण्ड पालना गर्नुपर्छ । राजनीतिक दलहरूबाट गरिने कार्यक्रम नगर्ने वा एकदमै कम गर्नुपर्छ । समाजमा हुने मानवीय गतिविधि र शासकीय कामकाजलाई अविराम जारी राख्नका लागि सूचना प्रविधिको प्रयोग गरी कार्यक्रमहरू गर्ने कामलाई व्यवस्थित गर्दै जानुपर्छ ।
कोष व्यवस्थापन
महामारीविरुद्ध लड्नका लागि आवश्यक रकम प्रबन्ध गर्न सरकारी संयन्त्रभित्रै खर्च गर्ने सरल कार्यविधिसहितको कोषको प्रबन्ध गर्नुपर्छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तर, गैरसरकारी, निजी र अन्य विभिन्न क्षेत्रबाट प्राप्त हुने साधन र स्रोत समेटिनु उपयुक्त हुन्छ ।
समन्वय संयन्त्र
सबै तहका सरकार, निजी एवं गैरसरकारी क्षेत्रलाई समेटेर समन्वय गर्ने गरी उत्कृष्ट आचरण र उदाहरणीय कार्य गरेका स्वास्थ्य क्षेत्रका व्यक्तित्वको संयोजनमा समन्वय संयन्त्र बनाउनुपर्छ । सङ्घीय सरकारको प्रमुख जिम्मेवारी महामारी नियन्त्रण भएकाले खोप, औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्थापन प्राथमिकतासाथ गर्नुपर्छ । प्रदेश सरकार र स्थानीय तहले थप व्यवस्थापकीय कार्यमा सहयोग, आफ्ना मातहतमा रहेका स्वास्थ्य सुविधाको परिचालन र समन्वय गर्नुपर्दछ । खासगरी स्थानीय पालिकाहरूले नागरिक सचेतना बढाउने, मास्क वितरण गर्ने, हात धुने ठाउँको व्यवस्था गर्ने, सार्वजनिक स्थानमा मानिसको घुइँचो र भीडभाड हुन नदिई भौतिक दूरी कायम गर्न लगाउने, आइसोलेसन सेल्टरहरू बनाउने, रोगका लक्षण देखा परेका स्थानको चौघेरा तोकी आवतजावत नियन्त्रण गर्ने, स्वास्थ्यकेन्द्रमा बिरामीलाई पु¥याउन सघाउने, बाटोको बायाँतर्फ मात्र दूरी कायम गरी हिँड्न विद्यालयसमेतको सहयोगमा प्रणाली बसाउने र स्वास्थ्य उपचारका लागि आवश्यक अन्य कार्यमा समन्वय गरी सहयोग गर्नेसमेतका कार्य गर्नुपर्छ ।
सीमा नाकाहरूमा हुने आवतजावत नियन्त्रण र नियमन गरी सङ्क्रमण फैलन नदिनका लागि आवागमन मिलाउन स्थानीय तह, स्थानीय प्रशासन, सुरक्षाकर्मी, गैरसरकारी संस्था र नागरिक समाजले सहकार्य गर्नुपर्छ । समाजमा परिवर्तनका संवाहकका रूपमा रहेका शिक्षित वर्ग, कर्मचारी, शिक्षक, प्रहरी, सैनिकलगायतका सुरक्षाकर्मी र स्काउट, रेडक्रस आदिले पदीय कर्तव्यका साथै महामारी नियन्त्रणमा आइपर्ने अतिरिक्त कार्यमा सहयोग गर्नुपर्छ । उद्योगी, व्यवसायी तथा व्यापारीहरूले आ–आफ्नो व्यवसाय जनस्वास्थको मापदण्ड पालना गरी सञ्चालन गर्नुपर्दछ । व्यापारीले मालसामानको सुपथ आपूर्तिमा सघाउ पु¥याउनुपर्दछ ।
खोप अभियान
खोप लगाउने कार्यलाई व्यापक अभियानका रूपमा चलाउन आवश्यक छ । आवश्यकताअनुसार प्राथमिकीकरण गरी आर्थिक क्रियाकलाप, शैक्षिक गतिविधि, सामाजिक कार्य र सेवाप्रवाहलाई निर्वाध सञ्चालन गर्न उच्च प्राथमिकता दिनुपर्दछ । मानिसको सबैभन्दा ठूलो अधिकार बाँच्न पाउने अधिकार भएकाले जीवन रक्षार्थ सरकारले खोपलगायत आवश्यक स्वास्थ सामग्रीको व्यवस्थापन, तत्काल र दीर्घकाललाई आवश्यक पर्ने भौतिक पूर्वाधार, यन्त्र उपकरण आदिको खरिदका लागि नीतिगत र व्यवस्थापकीय सुधार गरी विश्वसनीय व्यवस्था मिलाउनुपर्दछ । निजी क्षेत्रलगायत विभिन्न क्षेत्रका सङ्गठित उद्योग व्यवसाय र व्यापारिक घरानाबाट भइरहेको सहयोगलाई व्यवस्थित गरी स्वास्थ्य क्षेत्रमा परिचालन गर्नु अर्को महìवपूर्ण पक्ष हो । निजीक्षेत्रका ठूला प्रतिष्ठानहरूलाई आफ्ना कर्मचारी तथा कामदारलाई सुरक्षित राख्ने, उपचार गर्ने र पीडितका परिवारलाई सहयोग एवं सहायता दिन लगाउनुपर्दछ । कोभिड नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मी, नर्स, डाक्टर आदिलाई भत्तालगायत प्रोत्साहन र मासिक रूपमा सबैभन्दा राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने प्रणालीको थालनी गर्नुपर्दछ ।
युवा जनशक्ति परिचालन
युवा जनशक्तिलाई प्राथमिकतासाथ खोप लगाई शैक्षिक, आर्थिक र सामाजिक काममा सक्रिय रूपमा परिचालन गर्ने र शैक्षिक गतिविधि प्रभावित हुन नदिनेतर्फ सरकारले प्राथमिकतासाथ सोच्न आवश्यक छ । कोभिड रोग विश्वकै महाविपत्ति हो र यो महामारीले मानव सभ्यतामै ठूलो चुनौती र सङ्कट खडा गरेको छ । हामी सबैको सक्रिय सहकार्यबाट मात्रै सबैै नागरिकको जीवन रक्षा हुन्छ । पूर्वसतर्कताका साथ रोकथामका उपायहरू गर्ने, निःशुल्क परीक्षण गर्ने, खोप उपचारको प्रबन्ध गर्ने, प्रभावित व्यक्ति एवं परिवारलाई सान्त्वना, राहत र सहयोग प्रदान गर्ने उच्च प्राथमिकताका विषय हुन् । आर्थिक क्षेत्रलाई चलायमान बनाइराख्न आर्थिक गतिविधि सुचारु राख्ने, श्रमको सक्रिय उपयोग गर्न रोजगारी सुनिश्चित गर्ने, कृषि र औद्योगिक उत्पादन एवं आवास, खाद्यान्न, शिक्षा र सीपमूलक प्रशिक्षणको व्यवस्था गर्ने, ठूलासाना पूर्वाधार र विकास निर्माणका कार्य अघि बढाउनेलगायतका विषय पनि उत्तिकै महìवपूर्ण छन् । यसमा तीनै तहका सरकार, निजी क्षेत्र, नागरिक समाजलगायत सबैको सक्रिय सहयोग, समन्वय र योगदानको आवश्यकता पहिलेभन्दा अझ बढी आवश्यक भएको छ ।