काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा फेरि समस्या आएको छ । नुवाकोटको बञ्चरेडाँडास्थित ल्यान्डफिल साइट निर्माणमा ढिलाइ भएको र वर्षाका कारण सिसडोल ल्यान्डफिल साइटमा ट्रक जान नसकेकाले फोहोर उठाउन नसकिएको काठमाडौँ महानगरपालिकाको भनाइ छ । कोरोना महामारीको समयमा फोहोर घर र सडकमै थुपार्नुपर्ने अवस्थाले जनस्वास्थ्यमा समस्या आउनसक्ने चिन्ता बढेको छ ।
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन पटक पटक बल्झिरहने समस्या हो । कहिले ल्यान्डफिल साइट भरिएर त कहिले बाटो बिग्रिएर हप्तौँसम्म फोहोर व्यवस्थापन हुनसक्दैन । कहिले सरसफाइ कर्मचारीको त कहिले ल्यान्डफिल साइट रहेको स्थानका बासिन्दाको अवरोधका कारण काठमाडौँका सडकमा फोहोर थुप्रिन्छ । कारण खोज्दै जाँदा विभिन्न निस्कन सक्लान् । फोहोर थुपार्न पर्याप्त ठाउँको अभाव, सडक पूर्वाधार राम्रो नहुनु, निर्माणाधीन नयाँ ल्यान्डफिल साइटको काम समयमै सम्पन्न नहुनुजस्ता कारण देखाउन सकिन्छ । तर मूल समस्या भनेको सम्बन्धित निकायहरूले यो समस्याको छिटो र दिगो समाधान गर्नेतर्फ गम्भीरता नदेखाउनु नै हो ।
अहिले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटको ककनी, सिसडोलमा तीन वर्षका लागि भनेर फोहोर थुपार्न थालिएको हो । तर अझै निर्माण सम्पन्न भइसकेको छैन । ४६२ रोपनी क्षेत्रमा फैलिएको सिसडोल ल्यान्डफिल साइट भरिएकाको छ । सिसडोल भरिएपछि सडकमै फोहोर थुपार्नु थालिएको छ, जसको कारण वर्षा भएपछि ट्रक जान सक्दैनन् । यही कारणले अहिले काठमाडौँमा दैनिक उत्पादन हुने फोहोरमध्ये एकचौथाइ पनि सिसडोल पुग्न सकेको छैन ।
एक हजार ७९२ रोपनी क्षेत्रफलको बन्चरेडाँडा ल्यान्डफिल साइटमा ५० वर्षसम्म फोहोर थुपार्न सकिने बताइँदै आएको छ । तर उपत्यकामा जनसङ्ख्या बढेसँगै फोहोर उत्पादन पनि बढ्दै जाने भएकाले केही वर्षपछि बन्चरेडाँडाको ल्यान्डफिल साइट पनि भरिनेछ । तत्कालका लागि बन्चरेडाँडा आवश्यक भए पनि फोहोरको दिगो व्यवस्थापनका लागि अन्य उपाय अपनाइनु पर्छ ।
उपत्यकामा दैनिक एक हजारदेखि एक हजार दुई सय मेट्रिक टन फोहोर उत्पादन हुन्छ । उपत्यकावासी एक परिवारले दैनिक औसतमा पाँच–सात केजी फोहोर निकाल्छन् । फोहोर उत्पादन नै कम गर्ने हो भने व्यवस्थापनको समस्या पनि कम हुन्छ । फोहोरलाई स्रोतमै वर्गीकरण गरेर कुहिने, नकुहिने, पुनःप्रयोग गर्न सकिने, नसकिने, हानिकारक फोहोर छुट्याउने र त्यसका आधारमा मल बनाउने, बायोग्यास र बिजुली उत्पादन गर्ने वा पुनःप्रयोग गर्ने हो भने फोहोर व्यवस्थापनको समस्या कम हुन्छ । हाम्रो घरबाट निस्कने फोहोरमध्ये ६०–७० प्रतिशत कुहिने, १५–२० प्रतिशत पुनः प्रयोग र प्रशोधनयोग्य फोहोर हुने भएकाले बाँकी १५–२० प्रतिशत जति मात्रै विसर्जन गर्नुपर्ने हुन्छ । यसो गर्दा विसर्जन गर्नुपर्ने फोहोरको मात्रा घटेर त्यसलाई व्यवस्थापन गर्न लाग्ने खर्च र समय पनि बचत हुन्छ । कुहिने फोहोरबाट मल उत्पादन गरी करेसाबारी र कौसी खेती गर्न सकिन्छ । ठूलो परिमाण र व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्ने सकिने सम्भावना पनि रहन्छ ।
सहरी क्षेत्रको फोहोर व्यवस्थापन अहिलेको जटिल समस्या हो । यसको दिगो व्यवस्थापन नगर्ने हो भने भविष्यमा सहर मानिस बस्नयोग्य रहँदैनन् । त्यसैले बन्चरेडाँडामा निर्माणाधीन ल्यान्डफिल साइट यथाशीघ्र सम्पन्न गर्नेतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्छ । योसँगै फोहोर उत्पादन गर्ने घरपरिवार वा निकाय नै जिम्मेवार बन्नुपर्छ । फोहोर उत्पादन कम गर्ने, फोहोर छुट्याएर नकुहिने र पुनःप्रयोग गर्न नसकिने मात्रै घरबाहिर निकाल्ने गर्नुपर्छ । कुहिने र पुनःप्रयोग गर्न सकिने फोहोर व्यवस्थापन गर्न सबैलाई सहज नहुने भएकाले मल उत्पादन गर्न वा पुनःप्रयोग र प्रशोधन गर्न व्यावसायिक संस्था अग्रसर हुनुपर्छ । यी कार्यलाई प्रोत्साहन र प्रवद्र्धन गर्न स्थानीय सरकारको भूमिका महìवपूर्ण हुन्छ ।