logo
२०८१ मंसिर १४ शुक्रवार



सुनिश्चित बन्दै महाधिवेशन (सम्पादकीय)

विचार/दृष्टिकोण |




नेपाली काँगे्रसको क्रियाशील सदस्यता विवाद समाधान गर्ने सहमति बनेको छ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई सोमबार क्रियाशील सदस्यता छानबिनको अन्तिम किनारा लगाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित समितिले विवाद समाधान सुझाव प्रतिवेदन बुझाएको छ । कार्यदलले धेरै विवादित क्षेत्रको समस्या स्थगन गर्ने सहमति गरेको छ । यसअघि पनि नेताहरूले सदस्य विवाद सहमतिमै समाधान गर्ने वा सहमति हुन नसके स्थगन गर्ने समझदारी गरिसकेका थिए । सोहीबमोजिम कार्यदलले १७० वडाको विवाद स्थगन गरेको बताइएको छ ।

नेपाली काँग्रेसभित्र क्रियाशील सदस्यता विवाद पटक पटक दोहोरिने समस्या हो । विगतका महाधिवेशनमा पनि क्रियाशील सदस्य विवाद नरहेको होइन । यस पटक भने यो विवादले महाधिवेशनको मिति नै परिवर्तन गर्नुपर्ने अवस्था आयो । दुई वर्षअघि पहिलो पटक १४औँ महाधिवेशन कार्यतालिका बनाउँदा २०७७ जेठ मसान्तभित्र क्रियाशील सदस्य टुङ्गो लगाइसक्ने योजना थियो । साउन ३० गते गठन भएको यो कार्यदलको प्रतिवेदन कार्यान्वयन भए पछिल्लो पटक तय भएको मितिमा अधिवेशन हुने सुनिश्चितता बढेको छ । नयाँ कार्यातालिका अनुसार, सबभन्दा तल्लो तहका रूपमा रहेको वडा अधिवेशन भदौ १८ गते हुनेछ भने मङ्सिर ९ देखि १३ सम्म पार्टीको १४औँ महाधिवेशन काठमाडौँमा हुनेछ । यही बीचमा गाउँ र नगर अधिवेशन, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन हुनेछ । काँग्रेसले आठ लाख ५२ हजार क्रियाशील सदस्य बनाइसकेको छ । विवाद समाधानपछि क्रियाशील सदस्य करिब नौ लाखको हाराहारीमा पुग्नेछ ।

नेपाली काँग्रेसभित्र क्रियाशील सदस्य बन्ने प्रक्रियालाई महìवपूर्ण मानिन्छ । यो नेतृत्व विकासको सुरुआत पनि हो । विभिन्न तहका समितिका पदाधिकारी र महासमिति सदस्य बन्न क्रियाशील सदस्यता बन्नुपर्ने भएपछि सदस्यता वितरणमा धेरैको चासो रहने गरेको छ । वडा समितिदेखि प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिसम्म विभिन्न तहबाट सिफारिस, छानबिन र राय सुझावका आधारमा क्रियाशील सदस्यता दिने व्यवस्था भए पनि सधँैजसो विवादित बन्ने गरेको छ । पार्टीप्रति प्रतिबद्ध र क्षमतावान् व्यक्तिलाई क्रियाशील सदस्यता दिनुभन्दा आफू अनुकूलका व्यक्तिलाई सदस्यता दिएर आफ्नो प्रभाव बढी देखाउने प्रचलन काँग्रेसभित्र ‘साइड इफेक्ट’का रूपमा देखापरेको हो । यसैले यो दीर्घरोगका रूपमा विकास भएको छ । नेतृत्वले क्रियाशील सदस्यताको समस्या समाधानतर्फ ध्यान नदिने हो भने यो प्रत्येक महाधिवेशनमा बल्झिरहनेछ । सिटौला कार्यदलको प्रतिवेदन कार्यान्वयन भए आगामी महाधिवशेन सम्पन्न गर्न सहज हुनेछ । तर आगामी दिनमा पनि यो समस्यालाई सहज रूपमा समाधान गर्न क्रियाशील सदस्यता वितरणमा निष्पक्ष, पारदर्शी र वैज्ञानिक बनाउन आवश्यक छ । नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण प्रत्येक वर्ष गर्नसके महाधिवेशन अगाडि आउने यस्तो समस्या फेरि दोहोरिने छैन ।

प्रजातन्त्रको स्थापना र सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको नेपाली काँग्रेसको आन्तरिक लोकतान्त्रिक अभ्यास र विधिमा आधारित सञ्चालन निकै महत्त्वपूर्ण हुन्छ । विभिन्न तहमा बन्ने नेतृत्वले तत्तत् तहमा नेतृत्वदायी भूमिका निवाह गर्ने भएकाले आमनागरिकले सबल र सक्षम नेतृत्व आओस् भन्ने चाहना राखेका हुन्छन् । नेपाली काँग्रेस सङ्घीय संरचनामा गइसकेको, समावेशी सङ्गठन निर्माण गरेको र क्रियाशील सदस्यको सूचीमा युवाको सङ्ख्या बढ्दै गएकाले आगामी दिन नेपाली काँग्रेस जनताको भावना सम्बोधन गर्न सक्षम हुने अपेक्षा छ । नेपाली काँग्रेसका कार्यकर्ताको लामो त्याग, तपस्या र बलिदानपूर्ण देशभक्तिको लामो परम्परालाई निरन्तरता दिन पनि नेपाली काँग्रेसका विभिन्न तहको नेतृत्व सक्षम र योग्य हुनुपर्छ । क्षमतावान् नेतृत्वले मात्रै पार्टी र मुलुकलाई नयाँ दिशा दिनसक्छ । महाधिवेशन, अधिवेशनबाटै पार्टी र मुलुकले चाहेको नेतृत्व ल्याउन सकिन्छ । यसका लागि सबै किसिमका विवाद र आन्तरिक मतभेद अन्त्य गर्दै तोकिएको समयमा महाधिवेशन सम्पन्न हुन आवश्यक छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?