logo
२०८१ मंसिर १४ शुक्रवार



खोप पहुँचले घट्यो सङ्क्रमण (सम्पादकीय)

विचार/दृष्टिकोण |




डेढ महिनाअघि देशको कार्यकारी नेतृत्व सम्हाल्नुभएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको प्राथमिकतामा खोप र कोरोना महामारी नियन्त्रण रहेको स्पष्ट गर्दै आउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणको कार्ययोजना सार्वजनिक गरी कामलाई प्रभावकारी गराउँदै लगेको छ । सरकारको योजनाअनुसार कोरोनाविरुद्धको खोपलाई तीव्र गतिमा अगाडि बढाइएको छ । यिनै प्रयासले कोरोना सङ्क्रमणको दर निकै घटेको छ ।
वर्तमान सरकारले सत्ता सम्हालेको डेढ महिना भएको छ । यो अवधिमा सङ्क्रमण दर २२–२३ प्रतिशतबाट १४ प्रतिशतभन्दा तल झरेको छ । मङ्गलबार एक हजार ६६४ जना नयाँ सङ्क्रमित भटिए जुन परीक्षण गरिएकामध्ये साढे १३ प्रतिशत हो । दुई साताअघिसम्म सङ्क्रमण दर उच्च थियो । सोमबार सक्रिय सङ्क्रमितको सङ्ख्या साढे ३५ हजार छ ।
असार २९ गते गठन भएको वर्तमान सरकारले असोजभित्रै खोप लगाउन योग्य एकतिहाइ जनसङ्ख्यालाई खोप लगाउने र चैतसम्ममा सबैलाई खोप लगाइसक्ने प्रतिबद्धता जनाएको थियो । सरकारले असोज मसान्तसम्ममा एक करोड दुई लाख मात्रा र माघसम्ममा तीन करोड २३ लाख मात्रा खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सोमबार ४० लाख मोडर्ना र ६० लाख फाइजर गरी थप एक करोड खोप ल्याउन पहल भइरहेको जानकारी दिनुभयो । हालसम्म सरकार पाँच करोड मात्रा खोप व्यवस्था गर्नेतर्फ अगाडि बढेको छ । यी खोप प्राप्त हुन सके कोरोनाविरुद्धको खोपका लागि भौतारिनुपर्ने अवस्थाको अन्त्य हुनेछ ।
मङ्गलबारसम्ममा कुल ९७ लाख ९९ हजार १३ मात्रा खोप लगाइएको छ । यसमध्ये ४४ लाख ५९ हजार ७६१ जनाले पूर्ण मात्रा लगाएका छन् । असार २९ गतेसम्ममा ३७ लाख १४ हजार ९३७ मात्रा खोप लगाइएको थियो जसमा ११ लाख तीन हजार १३० जनाले पूर्ण खोप लगाएका थिए । त्यसयता पूर्ण खोप लगाउनेको सङ्ख्या २२ लाख बढेर ९७ लाख १३ हजार ८८५ मात्रा खोप दिइसकिएको छ ।
खोपमा भएको वृद्धिसँगै सङ्क्रमितको सङ्ख्यासमेत घट्दो छ । पछिल्लो समय सङ्क्रमितको दर उल्लेख्य घटेको छ । खोपको उपलब्धता बढेका कारण सङ्क्रमित दर घटेको हो । देशको ८० प्रतिशत जनसङ्ख्यामा कोभिड–१९विरुद्ध एन्टिबडी विकास भएमा सङ्क्रमण नियन्त्रण हुने विज्ञहरूको दाबी छ । पछिल्लो सिरोप्रिभलेन्स सर्वेक्षणले कोभिड–१९ विरुद्धको खोपको प्रभावकारिता राम्रो रहेको देखाएको छ । यो सर्वेक्षणमा एक मात्रा खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र दुई मात्रा खोप लगाएका ९० प्रतिशत व्यक्तिमा कोभिड–१९ विरुद्धको एन्टिबडी देखिएको छ । दोस्रो लहर चलिरहेका बेला असार २१ देखि साउन ३० सम्म गरिएको यो सर्वेक्षणले दुई तिहाइभन्दा बढीमा एन्टिबडी विकास भएको देखाएको छ । दुई करोड जनसङ्ख्यामा एन्टिबडी देखिनु सकारात्मक हो । यसले प्रतिरोधात्मक क्षमता (हर्ड इम्युनिटी) विकास भइरहेको सङ्केत गर्छ । तर केही विज्ञ भाइरसको उत्परिवर्तन भइरहेकाले ‘हर्ड इम्युनिटी’ले सङ्क्रमण नियन्त्रण गर्नसक्नेमा शङ्का व्यक्त गर्छन् । खोप लगाएका व्यक्ति पनि सङ्क्रमित हुने क्रम बढिरहेकाले कोरोना भाइरसको सम्भावित नयाँ स्वरूपको खतरा रहेसम्म ‘हर्ड इम्युनिटी’ले सङ्क्रमण रोक्न सक्नेतर्फ आशङ्का उब्जिएको हो ।
कोरोना महामारी नियन्त्रणमा आयो भनेर ढुक्क हुने अवस्था भने अझै आइसकेको छैन । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । विज्ञहरूले दोस्रो लहरपछि तेस्रो लहरको चेतावनी पनि दिइरहेका छन् । खोप अझै परीक्षणकै क्रममा छन् र यसको प्रभावकारिता यकिन भइसकेको छैन । कोरोना भाइरसका नयाँ रूप देखिने गरेकाले जोखिम बढेको छ । अर्काे अझ खतरनाक रूप आउने सम्भावनालाई नकार्न सकिँदैन । त्यसैले यथाशीघ्र सबै नागरिकलाई पूर्ण खोप लगाउनुको विकल्प छैन । तर सङ्क्रमण अन्त्यका लागि खोप मात्र पर्याप्त नहुने भएकाले स्वास्थ्य मापदण्डको प्रभावकारी परिपालना महìवपूर्ण हुन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?