logo
२०८० चैत्र १६ शुक्रवार



सङ्क्रमण बढ्न थालेपछि झापामा सरकारी कार्यालय प्रभावित

खुला |




विष्णुप्रसाद पोखरेल
दमक, माघ ८ गते । झापामा पुनः कोरोनाको सङ्क्रमण फैलन थालेसँगै सरकारी कार्यालय पनि यसबाट प्रभावित बन्न थालेका छन् । झापाको मालपोत कार्यालय र कन्काई नगरपालिकाका कर्मचारीहरुमा कोरोना सङ्क्रमण देखिएपछि एक साताका लागि बन्द भएकाछन् । जिल्लाकै हल्दिबारी गाउँपालिकाको वडा नं. १ सिल गरिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले आंशिक रुपमा निषेधाज्ञा आदेश जारी गर्नुभएको छ । अब हाटबजार बन्द रहनेछन् । भौतिक रुपमा २५ भन्दा बढी भेला भएर गरिने सबै किसिमका कार्यक्रम माघ मसान्तसम्म नगर्नका लागि आदेश जारी भएको छ ।

भारतसँग सीमा जोडिएको झापामा कोरोना सङ्क्रमणदर उच्च बढेपछि क्वारेन्टाइन, आइसाेलेसन र अस्थाई कोभिड अस्पतालहरुलाई सुचारु अवस्थामा राख्नका लागि निर्देशन दिइएको पनि रिजालले बताउनुभएको छ । स्थानीय पालिकाहरुले स्वास्थ्य कार्यालय झापासँग समन्वय गरेर कोरोना जाँचलाई तीव्रता दिन पनि जिल्ला प्रशासन कार्यालय झापाले अनुरोध गर्दै आएको रिजालले जनाउनुभयो ।

जिल्लामा एकसाताको अवधिमा कोरोना सङ्क्रमणबाट तीनजनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । शुक्रबार दमकका एक व्यक्तिकाे बिर्तामोडको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा नै निधन भएको हो । यसभन्दा अघि जिल्लामा २ जनाको मृत्यु भएको थियो ।

जिल्लामा शुक्रबारमात्र १ सय ८५ जना नयाँ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको छ । ५३७ महिला र ६०९ पुरुष गरी ११४६ जना सक्रिय सङ्क्रमित रहेको जनाइएको छ । यसमा १५ जना विभिन्न अस्पतालमा भर्ना भएर उपचार गरिरहेको र बाँकी होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?