logo
२०८० चैत्र १६ शुक्रवार



लमजुङ प्रशासनको सेवा प्रवाह आलोपालो

राजनीति |


लमजुङ प्रशासनको सेवा प्रवाह आलोपालो
जिल्ला प्रशासन कार्यालय लमजुङ । तस्बिरः बेलिना थापा


बेलिना थापा
लमजुङ, माघ ११ गते । ओमिक्रोन संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय लमजुङले सेवा प्रवाह आलोपालो गर्ने भएको छ । लमजुङमा दिन प्रतिदिन तीब्र रुपमा संक्रमण बढ्दो रहेकाले बुधबारबाट स्थानीय तहका नागरिकलाई आलोपालो सेवा दिने भएको हो। प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार साताको ६ दिन जिल्लाका ८ वटा स्थानीय तहका नागरिकलाई पालैपालो सेवा प्रवाह गरिने छ ।

साताको पहिलो दिन आइतबार दूधपोखरी र मस्र्याङदी गाउँपालिकाका नागरिकलाई सेवा प्रवाह गरिने छ । सोमबार क्व्होलासोथर र दोर्दी गाउँपालिकाका नागरिकलाई सेवा प्रदान गरिने छ । मंगलबार मध्यनेपाल नगरपालिकाका नागरिकलाई, बुधबार सुन्दर बजार नगरपालिका, बिहीबार राइनास नगरपालिका र शुक्रबारका दिन बेंसीशहर नगरपालिकाका नागरिकलाई मात्र सेवा प्रवाह गरिने छ । प्रशासनले मंगलबार सूचना जारी गर्दैै कार्यालयको तालिका अनुसार स्थानीय तहले व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

प्रशासनले तोकेको बारको ख्याल गरेर तोकिएको स्थानीय तहले व्यवस्था मिलाउनुपर्ने प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङमा कार्यरत केही कर्मचारी कोभिड संक्रमित भएर होम आइसोलेसनमा रहेकाले प्रशासनले सेवा प्रवाह आलोपालो गर्ने भएको हो।

उक्त व्यवस्था बुधबारबाट नै लागु हुने गरी अर्को सूचना नआएसम्मका लागि दैनिक रुपमा आलोपालो सेवा प्रवाह हुने जनाएको छ । प्रशासनले संक्रमण दर बढ्दो अवस्थामा रहेकाले थप सतर्क रहन अनुरोध गरेको छ । अनिवार्य मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन, स्यानीटाइजर प्रयोग, भौतिक दूरी कायम गर्न अनुरोध गरेको छ । कोभिडसँग मिल्दाजुल्दा लक्षण देखिए जाँच गर्न अनुरोध गरेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?