रुकुमपूर्व, फागुन ९ गते । रुकुम (पूर्व) मा पनि अब केन्द्रीय प्रसारण लाइन जोडिने भएको छ । तीनवटा मात्र गाउँपालिका रहेको जिल्लाको सदरमुकाम रुकुमकोट लगायत सबै पालिकामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको छ ।
गत असोज महिना नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र स्थापना भएको हो । कार्यालयले मङ्सिरको महिनादेखि काम शुरु गरी लाइनको तार तान्ने, पोल गाड्ने, टान्सफर्मर जडान गर्नेलगायतका कामलाई तीव्र गति दिएको छ । ती काम बोलपत्र आह्वान गरी निर्माण सेवामार्फत भइरहेको केन्द्रले जनाएको छ ।
प्राधिकरणले जिल्लामा रोल्पाको थबाङ हुँदै भूमे गाउँपालिका–६ महत भएर ३३ केभीएको र रुकुमपश्चिम हुँदै सदरमुकाम रुकुमकोट भएर आउने ११ केभीएको राष्ट्रिय प्रसारण लाइन जिल्लाभरि जोड्न लागेको कार्यालय प्रमुख युवराज रावतले जानकारी दिनुभयो ।
अहिले ३३ केभीएको लाइनको लागि शशी निर्माण सेवा कम्पनीद्वारा र ११ केभीएको लाइनको लागि सिस्ने हिमाल सेवा कम्पनीद्वारा काम भइरहेको छ । जिल्लाका मुख्यमुख्य बस्तीमा केन्द्रीय प्रसारण लाइन पु¥याउको लागि खण्डखण्ड विभाजन गरेर बोलपत्र आह्वान गरी निर्माण सेवा कम्पनीमार्फत काम थालिएको छ । प्रदेश कार्यालय हुँदै जिल्ला कार्यालयसम्म विद्युतीय सामान ढुवानीको लागि शशी निर्माण सेवाले जिम्मा लिएको छ ।
अहिले सिस्ने गाउँपालिका–६ खोपीचारदेखि रानीकोट खण्डमा निर्मल निर्माण सेवा कम्पनी, सिस्ने–५ रुमालबारा हुँदै लेखसम्मको खण्डमा सुवर्ण निर्माण सेवा एण्ड सप्लायर्सले काम गरिरहेका छन् ।
यसैगरी भूमे ४ साकिमदेखि पुथाउत्तरगङ्गा गाउँपालिकाको वडा नम्बर १४ को नाखाखण्डमा राप्ती निर्माण सेवा तथा भूमे–४ र सिस्ने–५ धौला पहिरादेखि चोताबारी, झुम्कामारे खण्ड गरी यी चारखण्डमा बोलपत्र आह्वानमार्फत केही दिनपछि काम शुरु गरिने भएको छ ।
यसैगरी सातखण्डको लागि माघ २९ गते देखि १५ दिनको समय दिइएर शिलबन्दी बोलपत्र आह्वान गरिएको छ । कार्यालयका अनुसार यही महिनाको अन्तिमसम्ममा रुकुमकोट बजारमा केन्द्रीय लाइन उपभोग हुने गरी काम भइरहेको प्रमुख रावतले जानकारी दिनुभयो ।
जिल्लाको विद्युत्लाई दिगो र भरपर्दाे बनाउनका लागि जिल्लामै सदरमुकाम रुकुमकोट र भुमे गाउँपालिकाको काक्रिमा विद्युत् सवस्टेशन बनाउने तयारी भइरहेको पनि उहाँले बताउनुभयो । जिल्लामा दुई ठाउँमा सवस्टेशन निर्माण भएमा बेलाबेलामा विद्युत्् गइरहने समस्याको समाधान हुनेछ । स्थानीयस्तरमै उत्पादित लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि केन्द्रीय लाइनमा जोड्न सजिलो हुने विश्वास लिइएको छ ।