logo
२०८१ फाल्गुन १४ बुधवार

  दैलेखका क्वारेन्टाइनमा जोखिम बढ्दै  



एकै पटक धेरै आउनु, जीर्ण पूर्वाधार र कमजाेर व्यवस्थापन

प्रदेश |


एकै पटक धेरै आउनु, जीर्ण पूर्वाधार र कमजाेर व्यवस्थापन
 नारायण क्याम्पसमा क्वारेन्टाइनमा बसेका स्थानीय ।


कमलप्रसाद शर्मा
दैलेख जेठ २० गते । परिवार र बालबच्चालाई मिठो मसिनो खुवाउने सुन्दर सपना बोकेर १४ महिनाअघि भारत हानिएका दैलेखको दुल्लु नगरपालिका वडा ११ का ३५ वर्षीय युवाको कोरोना सङ्क्रमणका कारण शनिबार क्वारेनटाइनमा मृत्यु भयो । बिहान सबै सँगै बसेर चिया खाएर हाँसेका उहाँले एक घण्टापछि यो संसारबाट प्राण छाड्नुभयाे । उहाँले संसार छाडेको आठ घण्टापछि उहाँमा कोरोना सङ्क्रमण भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पुष्टि गर्यो ।

चाैध महिना भारतमा बसेर आउनुभएका उहाँ क्वारेनटाइनमा बस्नुभन्दा १० दिनअघि दैलेखको दुल्लु नगरपालिकामा आउनुभएकाे थियाे । भारत सरकारले रेल सेवा सुरु गरेपछि नेपालगन्ज आउनुभएका उहाँलाई दुल्लु नगरपालिकाले उद्धार गरेर दुल्लु नगरपालिका वडा न ७ मा निर्माण गरिएको क्वारेन्टाइन राखेको थियो । क्वारेनटाइनमा बसेको नाै दिनपछि स्वाब सङ्कलन गर्न आएको चिकित्सक टोलीलाई स्वाब दिएर रिपाेर्टकाे पर्खाइमा हुनुहुन्थ्याे । रिपाेर्ट आएपछि थप उपचार गरेर परिवारसँग बस्ने उहाँको चाहना आफ्नो रिपाेर्ट सुन्न नपाउँदै क्वारेनटाइनमै तुहियो ।

भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र रूपमा फैलिँदै गएपछि आफ्नै देशमा सुरक्षित रूपमा गएपछि बाँचिन्छ भन्ने आस बाकेर आउनुभएका उहाँले आफ्नो परिवार र छोराछोरीको मुखसमेत देख्न र सामान्य उपचारसमेत नपाएर मृत्युवरण गर्नुपर्याे ।

आर्थिक अवस्था कमजोर भएकै कारण भारतमा रोजगारीका लागि जानुभएका उहाँको निधन भएपछि अहिले परिवारमा सन्नाटासँगै सङ्कट परेको छ । उहाँका एक छोरा एक छोरी र श्रीमती हुनुहुन्छ ।
क्वारेनटाइनमा बस्दा औषधि र उपचार नपाएकै कारण आफ्ना श्रीमानले ज्यान गुमाउनुपरेको परिवारको भनाइ छ । मृतकका बुवाका अनुसार छोरालाई बिना उपचार चिसो कोठामा राखिएकाले ज्यान गएको बताउनुहुन्छ । दुल्लुका नगरप्रमुख घनश्याम भण्डारीका अनुसार भारतबाट आएर क्वारेनटाइनमा बसेकालाई आवश्यकताका आधारमा सबै कुराको व्यवस्थापन गरिएका थियाे । उनीहरूको स्वास्थ्य परीक्षण गरेर नेगेटिभ देखिएको खण्डमा होम क्वारेनटाइनमा बस्ने गरी घर पठाउने तयारी गरे पनि त्यो तयारी तयारीमै सीमित रहेको बताउनुभयो । उहाँको एक्कासी बेहोस भएर उपचार क्रममा मृत्यु भयो । दुल्लु अस्पतालका चिकित्सक डाक्टर पूजा बिसीले आफूहरूलाई त्यहाँबाट बेहोस भएर ढलेको खबर आएकाे बताउनुभयो । यो अवस्थामा त्यतिकै जान नसक्ने भएपछि पिपिई सेट लगाएर जानुपर्ने भएका कारण केही ढिला भए पनि आफूहरू त्यहाँ पुग्दा उहाँको मृत्यु भइसकेको बताउनुभयो ।

कमजोर व्यवस्थापनले निम्त्यायो मृत्यु
भारतलगायत तेस्रो मुलुकबाट आएका व्यक्तिहरूलाई कोरोना परीक्षणको रिपाेर्ट नआउँदासम्म व्यवस्थित रूपमा राख्नुपर्ने भए पनि स्थानीय सरकार र सम्बन्धित निकायको लापरबाहीका कारण व्यवस्थापन राम्रो गर्न नसक्दा उपचार नपाएर मृत्युको मुखमा पुग्नुपर्ने अवस्था आएको छ । त्यसको उदाहरण दुल्लु नगरपालिका ११ का ३५ वर्षीय एक युवक त्यसको सिकार हुनुभएकाे सर्वसाधारण बताउनँछन् ।

आफ्नो गाउँपालिका तथा नगरपालिकाबाट रोजगारीका लागि विभिन्न मुलुक गएका नागरिकको वास्तविक तथ्याङ्क सङ्कलन गरेर राख्न नसेक्ने र देखाउनका लागि निर्माण गरिएको सीमित क्वारेनटाइनले गर्दा दैलेखका कोरोना सङ्क्रमणले भयावह अवस्था समेत सिर्जना हुनेभएकोमा जिल्लावासी चिन्तामा छन् । नारायण नगरपालिका दैलेखको नारायण क्याम्पसमा निर्माण गरिएको क्वारेनटाइनमा राखेका २०५ जनामध्ये १७ जनामा अघिल्लो दिन र पछिल्लो दिन १७ जना कोरोना सङ्क्रमण हुँदासमेत सबैलाई दुई दिनसम्म एकै स्थानमा राख्दा त्यसको भयावह अवस्था सिर्जना भएको छ ।

सोमबार स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र प्रशासनबाट गएको टोलीले नारायण क्याम्पसमा क्वारेन्टाइनमा राखेकाहरूलाई ब्रिफिङ गर्न गएको टोली माथि नै क्वारेनटाइनमा बसेकाहरूले गाली गलौच गरे । सङ्क्रमित भएका व्यक्तिहरूसमेत एकै स्थानमा राखेको भन्दै उनीहरू झोला बोकेर घरतर्फ लागेपछि प्रहरीलाई भिड व्यवस्थापन गर्न समस्या भएको थियो । प्रहरीले क्वारेनटाइनमा नबसेर घर गए गोली हान्ने चेतावनी दिएपछि उनीहरू पुनः क्वारेनटाइनमा नै बस्न बाध्य भएका छन् । उनीहरूलाई फिर्ता बोलाएपछि क्याम्पसमा रहेको सङ्क्रमितलाई अन्यत्र सारिएको छ ।

पीसीआएर परीक्षण बिना नै घर पठाइयो
दैलेखको नारायण नगरपालिका वडा १ मा रहेको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा निर्माण गरेको क्वारेन्टाइनमा राखेको व्यक्तिहरूलाई आरडिटी परीक्षण गरेर घर पठाइएको छ । जिल्लामा सङ्क्रमतिको सङ्ख्या बढ्न थालेपछि उनीहरूको व्यवस्थापन गर्न समस्या भएको भन्दै आरडिटी परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएकाहरूलाई घर फिर्ता गरेपछि अहिले त्यसको चर्को आलोचना भएको छ ।  स्थानीय सरकारले सम्बन्धित निकाय नै कोरोनाको महामारी समुदायमा पुर्याउने काममा उद्धत रहेको आरोप स्थानीयले लगाएका छन् । सर्वोच्च अदालतले क्वारेनटाइनमा राखिएकाहरूको अनिवार्य पीसीअार परीक्षण गरे घर पठाउने आदेश दिए पनि स्थानीय सरकारले त्यसको कुनै पर्वाह नगरी घर पठाएका छन् ।

आरडिटी परीक्षण पोजिटिभलाई गोठमा बास
आरडिटी परीक्षणपश्चात् रिपाेर्ट पोजिटिभ आएपछि उनीहरूको स्वाब परीक्षण गर्न र तत्काल उनीहरूलाई आइसोलेसन बेडमा भर्ना गर्नुपर्ने भए पनि उनीहरूलाई   गोठमा राखिएको पाइएको छ । दैलेखको भैरवी गाउँपालिका दैलेखमा चार जनालाई भैँसी बाँध्ने गोठमा राखेको पाइएको हो । गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले स्थानीयको त्रासका कारण उनीहरूलाई गोठमा राखिएको सुन्न आएपछि आफैँ गएर उनीहरूको उपचारका लागि निर्माण गरिएका क्वारेन्टाइनमा राखिएको बताउनुभयाे ।

स्थानीय प्रशासन मौन
दैलेखमा कोरोना सङ्क्रमण दैनिक रूपमा बढ्दै जान थाले पनि त्यसको प्रत्यक्ष निगरानी गर्ने र आवश्यक परेको खण्डमा सङ्क्रमित क्षेत्रलाई सिल गर्नुपर्ने स्थानीय प्रशासन माैन बसेको छ । स्थानीय प्रशासन मौन बसेकै कारण कोरोना सङ्क्रमण बस्तीमा सम्म पुग्ने खतरा बढ्दैगएको गुनासाे सुनिन थालेकाे छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?