प्रकाशचन्द्र भट्टराई
दमौली, जेठ २० गते । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ जोड्ने गरी कालीगन्डकी नदीमाथि रहेकाे पुट्टारघाटमा निर्माण गरिएको मोटरेबल पुलमा विभिन्न देशबाट रोजगारी गुमाएर गाउँ फर्केका युवालाई सरिक गराइएको छ । पुलमा यसअघि नेपालगञ्ज र बर्दियाका मजदुरले काम गरे पनि लकडाउनपछि उनीहरूलाई आफ्नै ठाउँ फर्काई गाउँकै युवालाई काममा लगाइएको पुल निर्माण समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताउनुभयो ।
दुई सय १७ मिटर लम्बाई र ११ मिटर चौडाईको उक्त पुल सङ्घीय सरकारको २५ करोड रुपियाँको लागतमा निर्माण सुरु भएको अध्यक्ष सिग्देलले बताउनुभयो । पुल निर्माणमा अहिले पुट्टारका ५५ जना युवा खटिएका छन् । उनीहरू लकडाउन सुरु भएपछि भारत तथा अन्य मुलुकबाट रोजगारी गुमाएर गाउँ फर्किएका थिए । उनीहरूलाई दैनिक ज्याला आठ सय रुपियाँ तोकिएको छ ।
बर्दिया र नेपालगञ्जका मजदुरलाई घर पठाइएपछि मजदुरविहीन भएपछि केही दिन पुल निर्माण बन्द गरिएको तर गाउँ फर्किएका युवाहरूले उक्त काममा लाग्ने बताएपछि पुनः निर्माणको काम सुरु गरिएको अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । पुल निर्माणका लागि अहिले दैनिक दुई चरणमा गरेर १६ घन्टा लगातार काम गरिएको निर्माण कम्पनी बिल्डर्स शर्मा युनाइटेड- रमन जेभी कन्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर टेकनाथ शर्माले बताउनुभयो ।
पुल तीन वर्षभत्र सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । जिल्ला प्रशासन कार्यालयले पत्र बनाइदिएपछि निर्माण समग्री पनि ढुवानी गर्न सहज भएको शर्माको भनाइ छ । हालसम्म १८ प्रतिशत काम सकिएको निर्माण कम्पनीले जनाएको छ ।