कृष्ण तिवारी
रौतहट, जेठ २० गते । रौतहटमा एकैदिन ७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै रौतहटमा कोरोना भारसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३०७ पुगेको छ ।
काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा गरिएको परीक्षणमा रौतहटको राजपुर, परोहा, राजदेवी, गौर, गढिमाई नगरपालिका, दुर्गा भगवती गाउँपालिका र यमुनामाई गाउँपालिकाका व्यक्तिमा मङ्गलबार सङ्क्रमण पुष्टि भएको हो ।
राजपुर नगरपालिकाका २१ जना, राजदेवी नगपालिकाका १८, दुर्गा भगवती गाउँपालिकाका १४ जना, गौर नगरपालिकाका १३ जना, परोहा नगरपलिकाका चार जना, यमुनामाइ गाउँपालिकाका तीन जना र गढीमाइ नगरपालिकाका एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरले जानकारी दिनुभयो ।
मङ्गलबार सङ्क्रमण पुष्टि भएका सबै जना भारतका विभिन्न सहरबाट भर्खरै रौतहट आएका नेपाली हुन् ।
सङ्क्रमण पुष्टि भएका सबै जना सम्बन्धित नगरपालिकाको क्वारेन्टाइनमा रहेका छन् ।
यसअघि सोमबार मात्रै १८ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
जिल्लाको विभिन्न स्थानीय तहले हालसम्म निर्माण गरेको नाै हजार तीन सय ५२ बेडको क्वारेन्टाइनमा ३२४ महिला र सात हजार ७३५ पुरुष गरी जम्मा ८ हजार ५९ जना बसिरहेका छन् । जिल्लाको क्वारेन्टाइनबाट नेगेटिभ रिपोर्ट आएका एक हजार १८७ जनालाई घर फिर्ता गरिसकिएको जिल्ला प्रशासन कार्यालय, गौरका नायब सुब्बा राम नरेश साहले बताउनुभएको छ ।
।