logo
२०८१ फाल्गुन १५ बिहीवार



दैलेखमा सङ्क्रमित बढ्दै, रोकथाममा अन्याेल

प्रदेश |


दैलेखमा सङ्क्रमित बढ्दै, रोकथाममा अन्याेल


दुल्लु, जेठ २१ गते । कोरोना रोकथामका लागि लगाइएको लकडाउनको ५६औँ दिनमा आठबीस नगरपालिका–१ का ३५ वर्षीय युवकमा कर्णाली प्रदेशकै पहिलो कोरोना पुष्टि भएको दुई हप्ता बित्न लाग्दा दैलेखमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेर गएको छ । मङ्गलबारसम्म सङ्क्रमितको सङ्ख्या ९८ पुगेको छ । एक जना सङ्क्रमितको मृत्यु पनि भएको छ ।

सङ्क्रमण र सङ्क्रमित दिनहुँ बढिरहँदा पनि रोकथाम गर्न कुनै ठोस कदम चालिएको छैन । सङ्क्रमित फेला नपर्दै तयार गरिएका निश्चित आइसोलेसन र लकडाउनको कार्यतालिकामा फेरबदल गरिएको छैन । सदरमुकाममा समय तालिका निर्धारण गरी बजार खुला गरिएको छ भने गाउँका अधिकांश पसल खुलै छन् । जिल्लाका प्रत्येक विद्यालयलाई क्वारेन्टाइन बनाइए पनि ती न मापदण्ड अनुसारका छन् न त नियमको पालना नै गरेका छन् ।

कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ थपिँदै जाँदा पनि रोकथामका उपाय अवलम्बन नगरिँदा जिल्ला नै कोरोनाको उर्वरभूमि हुन लागेको नेपाल बार एशोसियसन, दैलेखका अध्यक्ष माधव अधिकारीले चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘सङ्क्रमितको सङ्ख्या दिनहुँ बढेर सयौंँ पुग्दा पनि यसरी लापरबाही गर्नु सबै जिल्लावासीलाई कोरोना सङ्क्रमित गराउने मेसो हो, पहिलेकै जस्तै लकडाउन खुकुलो गरिनु र उपचारको व्यवस्थापन नगर्नुले झन् जटिल बन्दै गएको छ ।’’
सदरमुकाममा लकडाउन कडाइ नगर्दा क्वारेन्टाइनमा आफन्त भेटघाट गर्न घुइँचो लाग्ने गरेको र मापदण्ड विपरीत सामाजिक दूरी कायम नगरी आवाश्यकभन्दा धेरै जनालाई राख्दा क्वारेन्टाइन नै कोरोना फैलिने थलो हुन सक्ने दैलेखका पत्रकार गोविन्द केसी बताउनुहुन्छ ।

सबैले नियम पालना गरी सावधानी अपनाएमा बढ्दै गएको कोरोना न्यूनीकरण गर्न सकिने जिल्ला अस्पताल दैलेखका प्रमुख डा. निराजन पन्तले बताउनुभयो ।
जिल्लामा जम्मा ३४ आइसोलेसन कक्ष छन् । डा. पन्तले भन्नुभयो, ‘‘ क्वारेन्टाइनलाई नै आइसोलेसनमा परिणत गरी बिरामीको उपचार गरिने योजना छ, यो नगरी अरु उपाय नभएकाले गलत बुझाइ नगरे सहजै उपचार गर्न सकिने छ ।” जिल्लामा कोरोना सङ्क्रमणको सङ्ख्या बढेर गएको हुँदा लकडाउन कडा बनाइने र जिल्ला नै बन्द गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनुभयो ।

पछिल्लो समय जिल्लामा पाँच हजार ४४३ भारतबाट आएका व्यक्ति क्वारेन्टाइनमा छन् । भारतबाट जिल्लामा ४१ हजारभन्दा बढी फर्किन सक्ने अनुमान गरिएको छ । सङ्क्रमितको सङ्ख्या सय पुग्न लाग्दा पनि उपचारका लागि जिल्लामा जम्मा ३४ आइसोलेसन मात्र छन् । भारतबाट फर्केका करिब छ हजार क्वारेन्टाइनमा बसेकामध्ये एक हजार सात सय जनाको मात्र परीक्षण गरिएको छ । परीक्षणका लागि पर्याप्त किट नहुँदा कोरोना पोजेटिभ भएका र अन्य सँगै बस्न बाध्य भएको प्रजिअ कट्टेलको भनाइ छ । तीन दिनसम्म पनि पुष्टि भएकालाई नारायण क्याम्पसको क्वारेन्टाइनबाट अलग नगर्दा अन्य व्यक्ति निकै त्रासमा रहेको क्वारेन्टाइनमा बसेकाहरूको गुनासो छ ।

नारायण क्याम्पसको कोठामा राखिएकामध्ये करिब ५० व्यक्ति ढोका फोडेर प्राङ्गण बाहिर निस्केका थिए । उनीहरू भागेको खबर पाउनासाथ जिल्ला प्रहरी कार्यालय दैलेखबाट गएको प्रहरीको थप टोली पुगेर नियन्त्रणमा लिएको थियो । प्रहरीले भागेकाहरूलाई पुनः क्वारेन्टाइनमा राखेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीन दिनदेखि कोरोना पुष्टि भएका १७ जनालाई भने सोमबार साँझ आइसोलेसनमा लगिएको छ ।

रोकथाममा जनप्रतनिधि
कर्णाली प्रदेशसभामा दैलेख जिल्लाबाट प्रतिनिधित्व गर्ने अम्मरबहादुर थापा र सुशील थापाले आइसोलेसन वार्डसहितको अस्पताल निर्माण गर्ने घोषणा गर्नुभएको छ । सदस्य अम्मरबहादुरले क्षेत्र नं. १ को दैलेख सदरमुकाम र सुशीलले क्षेत्र नं २ को दुल्लुमा अस्पताल निर्माण गर्ने तयारी गर्नुभएको हो । प्रदेश सांसद विकास कोष ( क्षेत्र विकास पूर्वाधार कोष) अन्तर्गत दुवै जनाबाट ७०/७० लाख रुपियाँ विनियोजन गरी अस्पताल निर्माण गर्न लागिएको हो । प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले एक हप्ताभित्र पीसीआर मेसिन जडान गरिने आश्वासन दिनुभएको छ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?