चाँदनी आचार्य
लम्की, जेठ २१ गते । कामका लागि भारतका विभिन्न शहर गएका र लामो लकडाउनले खाना र बासको समस्या भई अलपत्र परेका नेपाली तथा भारतीयलाई आफ्नो देश जानआउन सहजताका लागि खुल्ला गरिएका सुदूरपश्चिमका मुख्य दुई नाकाबाट बुधबार तीन हजार ५६७ जना नेपाली नागरिक नेपाल भित्रिएका छन् । एक हजार बढी भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।
सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका प्रहरी निरीक्षक जगदीश सिंह डाँगीका अनुसार मङ्गलबार साँझसम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट एक हजार ५७६ नेपाली भित्रिएका छन् भने ३७९ भारतीय नागरिक आफ्नो देश फिर्ता गएका छन् ।
त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट दुइ हजार १५९ नेपाली भित्रिएका छन् भने ६७१ भारतीय बाहिरिएका छन् । भारतबाट नेपाली आउने क्रम मङ्गलबार केही कम भए पनि भारत जानेको सङ्ख्या भने बढेको छ । योसँगै सुदूरपश्चिम प्रदेशका विभिन्न नाका भएर जेठ २ गतेयता नेपाल भित्रिने नेपालीको सङ्ख्या करिब ७५ हजार पुगेकोछ भने बाहिरिनेको सङ्ख्या दश हजार बढी पुगेको छ ।
सीमा प्रवेश गरेका नेपालीलाई विभिन्न जिल्लाका स्थानीय तहले सीमामै गाडी व्यवस्था गरी उद्धार गरी क्वारेन्टाइनमा राखेका छन् । भारतबाट दैनिक मानिस थपिँदै गएपछि स्थानीय तहले क्वारेन्टाइन व्यवस्थापनमा समस्या भएको बताएका छन् ।
गौरीगङ्गा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले क्वारेन्टाइन व्यवस्थापन को समस्यासँगै कोरोना सङ्क्रमित दैनिक देखिन थालेपछि आइसोलेसन व्यवस्थापनमा समेत समस्या आएको बताउनुभयो । सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका नौ जिल्लाका विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा ५० हजारभन्दा बढी मानिस रहेको जनाएको छ ।