नवराज कट्टेल
विराटनगर, जेठ २१ गते । बन्दाबन्दीको ७० औँ दिनपछि बिहीबारदेखि विराटनगर बजार खोल्नका लागि केही लचिलो बन्ने प्रशासनले व्यवसायीहरूका लागि आश्वासन दिइएको छ ।
महानगर क्षेत्रका होटल, सैलुन र ब्युटीपार्लरबाहेकका पसलहरू मध्याह्न १२ बजेसम्म स्वास्थ्य सतर्कता अपनाउँदै खोल्नका लागि प्रशासनले छुट दिने भएको हो ।
जिल्ला प्रशासन कार्यालय, मोरङमा बुधबार साँझ बसेको कोभिड क्राइसिस मेनेजमेन्ट बैठकले स्वास्थ्य सुरक्षा अपनाउँदै पसलहरू खोल्ने विषयमा छलफल गरेको थियो ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केसरीका अनुसार व्यवसायीहरूले पसल खोल्न पाउनुपर्ने मागलाई बारम्बार उठाउँदै आएपछि केही लचिलो हुने विषयमा छलफल गरिएको हो । कोरोना सङ्क्रमणको यथास्थितिकै अवस्थाका लागि केही खुल्ला गर्ने भन्ने विषयमा छलफल भएको छ, सहायक प्रजिअ केसरीले भन्नुभयो, 'औपचारिक निर्णय चाहिँ भएको हैन ।'
विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीका अनुसार स्वास्थ्य सतकर्ता अपनाएर पसलहरू खोल्नुपर्नेछ । यसको नियमन र अनुगमन जिल्ला प्रशासन कार्यालय मोरङले गर्नेछ । कुनै पनि समयमा सम्भावित जोखिम देखिएको अवस्थामा भने पुनः पूर्ण बन्दाबन्दीमा फर्काइने विषयमा छलफल गरिएको हो ।