चन्द्रप्रकाश शर्मा
पोखरा, जेठ २२ गते । गण्डकी प्रदेशका चार जिल्लामा १६ जना कोरोना सङ्क्रमित भएका छन् । बिहीबार पुष्टि भएका १६ जनासँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा बागलुङका १०, पर्वतका चार, म्याग्दीका एक र स्याङ्जाका एक जनामा नयाँ कोरोना सङ्क्रमित पुष्टि भएकाे हाे ।
बाग्लुङको निसीखोला गाउँपालिकाका ३३ वर्षीय महिला, २२ र २९ वर्षीय पुरुष, बडिगाड गाउँपालिकाका १२, २०, २१ र २५ वर्षीय पुरुष, गलकोट नगरपालिकाका २०, २२, २३ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको छ । योसँगै बाग्लुङमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १८ पुगेको र दूई जना निको भएर घर फर्किएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै पर्वतको बिहादी गाउँपालिकाका २४ र २८ वर्षीय पुरुष, फलेवास नगरपालिकाका २१, २१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै पर्वतमा कोरोना सङ्क्रमितको सङ्ख्या नाै पुगेको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १८ वर्षीय पुरुष र म्याग्दीको मङ्गला गाउँपालिकाका १९ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नयाँ पुष्टी भएकासँगै स्याङ्जामा कोरोना सङ्क्रमितको सङ्ख्या १३ र म्याग्दीमा दुई पुगेको छ ।
गण्डकी प्रदेशमा भारतबाट फर्कनेको सङ्ख्या बढ्दै गएपछि परीक्षणको दायरासमेत बढाउन थालिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बिहीबारसम्म तीन हजार ९६६ जनाको स्वाब नमूना सङ्कलन गरिएकोमा तीन हजार ३६८ जनामा कोरोना सङ्क्रमण नदेखिएको र ५४१ जनाको रिपोर्ट आउँन बाँकी रहेको छ ।