logo
२०८१ फाल्गुन १५ बिहीवार



आरडिटी नेगेटिभ देखिएको युवामा पीसीआरमा कोरोना सङ्क्रमणको पुष्टी

प्रदेश |


आरडिटी नेगेटिभ देखिएको युवामा पीसीआरमा कोरोना सङ्क्रमणको पुष्टी


शैलेन्द्र रोकाया
बझाङ, जेठ २३ गते । बझाङमा आरडिटी नेगेटिभ देखिएको एक जना युवामा कोराना सङ्क्रमणको पुष्टि भएको छ । जेठको दोस्रो साता भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बसिरहेका बित्थडचिर गाउँपालिका – ७ का एक २६ वर्षका युवकमा कोराना सङ्क्रमण पुष्टि भएको हो ।
भारतको दिल्लीबाट जेठ १५ मा नेपाल आउनुभएका उहाँ हाल सुनकुडा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बस्नुभएको छ । मङ्गलबार आरडिटी परिक्षण गर्दा नेगेटिभ देखिएका उहाँको बिहीबार प्रादेशिक प्रयोगशाला, धनगढीमा गरिएको पीसीआर परीक्षणमा रिपोर्ट पोजिटिभ देखिएको जिल्ला अस्पताल बझाङका प्रमुख सन्दीप ओखेडाले जानकारी दिनुभयो । उहाँसँगै भारतबाट आएका उहाँकी श्रीमती र छोरामा आरडिटी पोजिटिभ देखिएपछि उहाँ, उहाँकी श्रीमती र छोराको स्वाब सङ्कलन गरी प्रादेशिक प्रयोगशाला, धनगढी पठाइएको थियो । उहाँकी श्रीमती र छोराको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ ।
सङ्क्रमित पुरुष बिरामी छोराको उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा रहेको बित्थडचिर गाउँपालिकाका अध्यक्ष प्रेम बोहराले बताउनुभयो । कोरोना पुष्टि भएका युवकमा अहिले कुनै पनि लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको समेत प्रमुख डा. ओखेडाले जानकारी दिनुभयो । आरडिटी र पीसीआर रिपोर्ट गलत आउन थालेपछि जिल्लामा कोरोना भाइरसको जोखिम उच्च देखिएको छ । बझाङमा पीसीआर परीक्षण गर्ने जनशक्तिसमेत रहेकाले पीसीआर परीक्षण गर्ने मेसिन ल्याउनुपर्नेमा सबैले ध्यान दिनुपर्ने डाक्टर ओखेडाले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?