logo
२०८१ मंसिर १४ शुक्रवार



निरन्तरको बाढी र पहिरोले कर्णाली राजमार्गमा सास्ती

प्रदेश |


निरन्तरको बाढी र पहिरोले कर्णाली राजमार्गमा सास्ती


नेत्र शाही
खलङ्गा, साउन १८ गते । एक सातादेखिको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्गको आवतजावत अझै सुचारु हुन सकेको छैन । निरन्तर रुपमा पहिरो जाने घटनाले यात्रुहरूलाई यात्रा गर्न निकै सास्ती र जोखम भएको छ । आवश्यकीय काम लिएर तल झरेका र जुम्ला फर्किने नागरिकहरू बाटामै अलपत्र परेका छन् ।

कर्णाली राजमार्गको कालीकोट सडक खण्डको दहीखोला, कालेखोला, जितेगाड, हुल्म, मोल्फा, पिली, सेराबाडा, चौखोला, टाकुल्ला, बालीगाड, भैँसीगौडा, टिमुरे भिड, खल्लागाड, धनडा, राँचुली भिग्मलगायत दर्जनौँ स्थानमा पहिरो गएपछि करिब एक सातादेखि राजमार्ग अवरुद्ध भएको छ । कतै खोला बढेर गाडी पार गर्न गाह्रो त कतै पहिरोले सडक अवरुद्ध भएपछि यातायात सुचारु हुन नसकेको यात्रुहरूले बताएका छन् ।

कालेखोला, दहिखोलालगायत स्थानमा डोजर लगाएर सडक खोलिसकेको, अब पिली सडकको पहिरो हटाउने काम भइरहको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय, जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले कालीकोटको टाकुल्ला खोलादेखि जुम्लासम्मको सडक खण्ड भने सुचारु भएको जानकारी दिनुभयो ।

जुम्लाका स्थानीय व्यापारी कृष्ण बुढाले एकातिर लकडाउनले थिलथिलो पारेको उद्योग व्यवसाय सडक सञ्चालन नभएपछि अवस्था झनै खराब भएको गुनासो पोख्नुभयो । उहाँले लाखौँको सामान हप्तौँदेखि सडकमै अलपत्र भएको जानकारी दिनुभयो । यातायात व्यवसायी भानु देवकोटाले 'ज्यानको जोखिम मोलेर यात्रा गर्नुपर्ने दिनबाट मुक्त गर्न कर्णालीवासीले कहिलेसम्म कुर्नुपर्ने ?' प्रश्न गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?