logo
२०८१ मंसिर १४ शुक्रवार



धरानमा नौ जनामा कोरोना, सुनसरीमा सङ्क्रमितको सङ्ख्या २०१ पुग्यो

प्रदेश |


धरानमा नौ जनामा कोरोना, सुनसरीमा सङ्क्रमितको सङ्ख्या २०१ पुग्यो
सांकेतिक तस्बिर


जयकृष्ण यादव
इनरुवा, साउन २६ गते । सुनसरीको धरानमा सोमबार नाै जनामा कोरोना सङ्क्रमण पुष्ट भएको छ । कोरोना सङ्क्रमितहरूमा धरान १० का दुई जना महिला १६ र २० वर्षीय युवती, धरान ६ का २७ वर्षका दुइ जना पुरुष, धरान १३ का ३४ र ४३ वर्षीय दुइ जना पुरुष, धरान १५ का २९ वर्षीय पुरुष, धरान १६ का २७ वर्षीय पुरुष र धरान १९ का ४० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिनुभयो ।
तीमध्ये चार जना भारतीय सेनामा रहेकोले उनीहरू एन्फा क्वारेन्टाइनमा बसेका छन् । उपमहानगरपालिकाले हालसम्म एक हजार नाै सय जनाको पीसीआर टेष्ट गरेकाे छ । तीमध्ये ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख मेहेताले जानकारी दिनुभयो ।
उता सुनसरीको इटहरीमा थप एक जना कोरोना सङ्क्रमित थपिएका छन । गत २० गते पीसीआर परीक्षण गरेकोमध्ये थप एक जनामा कोरोना सङ्क्रमण देखिएको हो । इलाका प्रहरी कार्यालयका एक प्रहरी जवानमा कोरोना पोजिटिभ देखिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारीले बताउनुभयो । यसैबीच सुनसरीमा सोमबारसम्म कुल कोरोना सङ्क्रमित सङ्ख्या २०१ पुगेको छ ।

बीजी अस्पतालमा आइसोलेसन कक्ष बनाउने तयारी
सुनसरीमा समुदायस्तरमा कोरोना भाइरस फैलिएपछि जिल्ला प्रशासन कार्यालयले यहाँको एक निजी अस्पताललाई आइसोलेसन बनाउने निर्णय गरेको छ । सुनसरीको हरिनगर गाउँपालिका-१ को बीजी अस्पतालमा आइसोलेसन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो ।

यहाँ कोरोना सङ्क्रमितलाई अस्पतालमा राख्न बेड अभाव भएपछि स्थानीय तहले छुट्टै पहल थाल्नुपर्ने आवाज उठ्न थालेपछि हरिनगर गाउँपालिका स्थित रहेको भुटाहा जेनरल हस्पिटल (बीजी अस्पताल) लाई आइसोलेसन कक्ष सञ्चालनमा ल्याउने तयारी गरेको छ । बेड अभावका कारण हरिनगर गाउँपालिकाले भुटाहा जेनरल हस्पिटललाई आइसोलेसन कक्ष बनाउनका लागि तयारी थालनी गरेको हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताउनुभयो ।

अस्पतालमा बेड अभावका कारण कोरोना पोजिटिभ पाइएका व्यक्तिहरू होम आइसोलेसनमा बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना हुँदै गर्दा स्थानीय तह बीच समन्वयको खाँचो औँल्याउन थालिएको छ । सुनसरीमा पछिल्ला केही दिनयता कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दो क्रममा छ ।

पर्याप्त कोठा र बस्तीभन्दा अलग्गै रहेकाले समेत कोभिड–१९ को मापदण्डअनुसार व्यवस्थापन मिलाएर उक्त भवनलाई आइसोलेसन वार्डका रूपमा परिणत गर्ने भएको छ । उता सुनसरी हरिनगर–१ स्थित वि.जेनेरल अस्पतालमा ५०, वराहक्षेत्रस्थित कृष्णदास आश्रममा १०० शय्याको आइसोलेसन स्थापना गर्ने प्रदेश सरकारले पनि निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनुभयो । बैठकले यसअघि स्थापना भएका क्वारेण्टिनको सङ्ख्या घटाउने र सुनसरीको सि–म्याक्स फुड प्रालिको भवनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको जनाएको छ ।

सुनसरीमा ३२ गतेसम्म निषेधित क्षेत्र घोषणा
जिल्ला प्रशासन कार्यालय सुनसरीले साउन ३२ गतेसम्मका लागि जिल्लाका सबै क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । सुनसरीमा तोकिएको निषेधित क्षेत्रको समय सोमबार सकिएसँगै सो अवधिमा थप छ दिनलाई बढाइएको छ । पहिलो पटक २१ गते जारी निषेधित क्षेत्रको समयावधि सोमबार राति सकिने भएकाले पुनः लागु हुने गरी अब ३२ गतेसम्म कायम रहने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई साउन ३२ गते रातिसम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको हो । स्थानीय तहहरूमा स्वाब सङ्कलनको दायरा बढाउँदै जाँदा सङ्क्रमितको सङ्ख्यासमेत थपिँदै गएकाले जिल्लामा लागु गरिएको निषेधित क्षेत्र थप छ दिन कायम राख्ने प्रशासनले निर्णय गरेको छ । भीड नियन्त्रणसँगै कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्नका लागि निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताउनुभयो ।

निषेधित क्षेत्रको मितिसम्म अत्यावश्यकबाहेक अन्य सबै सवारी साधन पनि पूर्णरुपमा बन्द गरिने जनाएको छ । यसैगरी बैठकले किसानहरूलाई मल, बीउ, कृषि उपज, औषधि आदिको प्रभावकारी वितरण र अन्य व्यवस्थापनका लागि प्रदेश सरकारका प्रमुख सचिवलाई जिम्मा दिने निर्णय भएको छ ।

बैठकले नेपाल–भारत सीमामा थप कडाइ गर्ने र आवतजावत नियन्त्रण गर्ने निर्णय पनि गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको नियम उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानुनबमोजिम सजाय हुनेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?