logo
२०८१ मंसिर १४ शुक्रवार



घोराहीमा तीन वर्षमा ४१ किलोमिटर सडक कालोपत्रे

प्रदेश |


घोराहीमा तीन वर्षमा ४१ किलोमिटर सडक कालोपत्रे


टीकाबहादुर बस्नेत
दाङ, साउन २८ गते । दाङको घोराही उपमहानगरपालिकामा पछिल्लो तीन वर्षमा ४१ किलोमिटर सडक कालोपत्रे भएको छ । उपमहानगरपालिकाले सञ्चालन गरेको योजनाअन्तर्गत ३४ किलोमिटर र सङ्घीय तथा प्रदेश सरकारबाट उपमहानगरमा आएको अनुदानबाट सात किलोमिटर गरेर ४१ किलोमिटर सडक कालोपत्रे भएको हो ।

आर्थिक वर्ष २०७६/०७७ मा धेरै सडक कालोपत्रे भए पनि कोरोना भाइरसका कारण भएको लकडाउनका कारण अपेक्षितरुपमा योजनाहरू सम्पन्न हुन सकेका छैनन् ।
निर्माणाधीन र अहिलेको बजेटमा विनियोजन गरिएका सडकहरू गरेर चालु आर्थिक वर्षमा थप १८ किलोमिटर सडक कालोपत्रे भइसक्ने उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । ‘यो तथ्याङ्कमा सङ्घीय र प्रदेश सरकारले बनाएका सडकहरू छैनन्,’ उहाँले भन्नुभयो, ‘पछिल्लो तीन वर्षमा सडकको क्षेत्रमा निकै ठूलो उपलब्धी हासिल भएको छ ।’

उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले पूर्वाधार क्षेत्रको विकास बिना अरु विकास सम्भव नभएकाले सडकको स्तरवृद्धि र कालोपत्रेमा विशेष ध्यान दिइएको जानकारी दिनुभयो । उपमहानगरले आम उपभोक्ताको लागत सहभागिता र नगरस्तरीय बजेटबाट सडक कालोपत्रेको काम गरिरहेको छ ।

वडास्तरीय योजना तर्जुमामा समेत सडक कालोपत्रेको माग बढी आउने गरेको चौधरीले जानकारी दिनुभयो । ‘उपमहागरपालिकाको केन्द्र घोराही बजारबाट सबै वडा कार्यालय जोड्ने सडक कालोपत्रे भइसकेको छ,’ उहाँले भन्नुभयो, ‘उपमहानगरको सबैभन्दा दुर्गम वडा मानिएको १९ नम्बरलाई पनि कालोपत्रेले छोइसकेको छ, अब केही समयभित्रै वडा कार्यालय सम्म नै कालोपत्रे भइसक्ने छ ।’

सडकको अवस्था र गुणस्तरको मापदण्डअनुसार एक किलोमिटर सडक कालोपत्रे गर्न ५० लाख रुपियाँदेखि डेढ करोडसम्म लाग्ने इञ्जिनियर रामधन श्रेष्ठले जानकारी दिनुभयो । ‘पहाडी क्षेत्रमा काम गर्न लागत स्वाभाविक रुपमा बढी नै हुन्छ,’ उहाँले भन्नुभयो, ‘उपमहानगरले विभिन्न ठूला सडकहरू धमाधम कालोपत्रे गरिरहेको छ ।’

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?