प्रेम अधिकारी
पशुपतिनगर(इलाम) साउन ३२ गते । इलाका प्रहरी कार्यालय मङ्गलबारेका एक जना प्रहरीमा कोरोना पोजिटिभ पुष्टि भएपछि देउमाई नगरपालिकाको मङ्गलबारेसहित पाँच वटा वडा सिल गरिएको छ ।
इलाका प्रहरी कार्यालय, मङ्गलबारेका इन्सपेक्टरमा कोरोना पोजिटिभ पुष्टि भएपछि समुदायमा कोरोना फैलन नदिन देउमाई नगरपालिकाको कोरोना रोकथाम तथा नियन्त्रण आपतकालीन समितिको आज बसेको बैठकले ती क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।
बैठकले आज रातको १२ बजेबाट लागु हुनेगरी कन्ट्याक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गरी रिपोर्ट नआउजेलसम्मका लागि सम्भावित सङ्क्रमण फैलनसक्ने देउमाई नगरपालिकाको वडा नम्बर ३, ४, ५, ८ र ९ का क्षेत्र सिल गर्ने निर्णय गरेको छ ।
नगरले आजैबाट लागु हुनेगरी देउमाई नगरपालिका नगरकार्यापालिकाको कार्यालय तथा शाखा कार्यालय, वडा कार्यालयहरू, नगरपालिकाको क्षेत्रमा रहेका सम्पूर्ण सरकारी कार्यालय, बैङ्क वित्तीय कार्यालय सहकारी तथा सम्पूर्ण सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने अत्यावश्यक सेवाबाहेक सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको नगरपालिकाका सूचना अधिकारी गोविन्द बाँस्कोटाले जानकारी दिनुभयो ।
साथै मङ्गलबारे प्राथमिक स्वास्थ्य केन्द्रको आपतकालीन सेवाबाहेक सेवा अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । नगरले विषम परिस्थितिमा सम्पूर्ण नगरवासीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा निस्कनुपरे सुरक्षाको मापदण्ड पालना गर्नसमेत अनुरोध गरेको छ ।
देउमाई नगरपालिकाका नगर प्रमुख सूर्य पोखरेलले समुदायमा कोरोना फैलन नदिन सम्भावित जोखिममा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गरेर रिपाेर्ट नआएसम्म नगरवासीलाई सावधानी अपनाएर बस्न आग्रह गर्नुभयो ।
साउन २८ गते देउमाईमा सङ्क्रमणको सम्भावना रहेका व्यक्तिहरूको नमूना सङ्कलन गरी परीक्षण गर्न पठाइएकोमा इलाका प्रहरी कार्यालय मङ्गलबारेका एक जना सुरक्षाकर्मीमा कोरोना पोजिटिभ पुष्टि भएको थियो । प्रहरीमै कोरोना सङ्क्रमण देखिएपछि इलाका प्रहरी कार्यालयमा समेत सावधानी अपनाइएको छ । ती प्रहरी केही दिनअघि वीरगञ्जस्थित आफ्नो घर पुगेर फर्किएका थिए ।