शिवकुमार काशी
हेटौँडा, साउन ३२ गते । मकवानपुरको मनहरी गाउँपालिकाले वडा कार्यालय हटाएर आइसोलेसन वार्ड सञ्चालनको तयारी पूरा गरेको छ ।
पूर्वपश्चिम राजमार्गको छेवैमा रहेको ८ नं वडा कार्यालयलाई आवश्यक पूर्वाधारहरूको जोहो गरी आइसोलेसन वार्डमा परिणत गरिएको मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । चारवटा ठूला हल र चारवटा कार्यालय सञ्चालन गर्न सकिने कोठा रहेको एउटा भवन र सँगै रहेको तत्कालीन सहकारी भवनलाई समेत उपयोग गर्नेगरी आइसोलेसन वार्ड सञ्चालनको व्यवस्था गरिएको हो ।
सञ्चालनमा आइरहेको ८ नं वडा कार्यालयलाई भने अर्काे व्यवस्था नभएसम्मका लागि नजिकै रहेको महेन्द्रकिरण माध्यमिक विद्यालय स्रोत केन्द्र भवनमा सारिएको ८ नं वडाध्यक्ष दिलबहादुर स्याङ्तानले बताउनुभयो । “पहिलो कुरा मानव जीवनको रक्षा हो”, वडाध्यक्ष स्याङ्तानले भन्नुभयो, “कोरोनाको जोखिम घट्यो भने फेरि वडा कार्यालयलाई व्यवस्थित गर्दै गरौँला ।”
साविक मनहरी गाउँ विकास समितिअन्तर्गत रहेको ८ नं वडा कार्यालय परिसरमा स्थानीय निर्वाचनअघि मनहरी गाउँपालिकाले प्रशासनिक भवनको रुपमा प्रयोग गरेको थियो । कम्पाउण्ड व्यवस्थासहितका व्यवस्थित भवन आइसोलेसनका लागि उपयुक्त भएकाले गाउँपालिकाको निर्णय बमोजिम आइसोलेसन निर्माण गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । आइसोलेसन व्यवस्थित गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समितिलगायत निकायहरूबाट सहयोग प्राप्त भएको छ । हाल २० बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइने तयारी छ ।
पछिल्लो समय आइसोलेसन वार्ड नहुँदा हेटौँडाका कोरोना संक्रमितहरु घरमै बस्न बाध्य भइरहेका छन् । मनहरी गाउँपालिकामा पीसीआर परिक्षण बृद्धि हुँदै गइरहेको अबस्थामा अब थप हुने संक्रमितहरुलाई मनहरीकै आइसोलेसनमा राखेर सेवा दिने तयारी भएको गाउँपालिका उपाध्यक्ष मनिला बिष्टले बताउनुभयो ।
यसअघि गाउँपालिकाले ३ स्थानमा क्वारेन्टाइन निर्माण गरी पीसीआर जाँचपछि मात्रै विदेशबाट आएका नागरिकहरुलाई घर पठाउने गरिरहेको छ । गाउँपालिकाले कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता तथा गाडी सुविधा समेत दिएको छ ।