सिराज खान
नेपालगञ्ज, साउन ३२ गते । कोहलपुरमा समुदायस्तरमा थप कोरोना सङ्क्रमण राेक्न आइतबारदेखि छ दिन कोहलपुरलाई पूर्ण रुपमा बन्द गरिएको छ ।
समुदायस्तरमा कोरोना फैलिन थालेकाे सङ्क्रमण नियन्त्रणका लागि कोहलपुरलाई बन्द गर्ने निर्णय शनिबार नगर प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको कोहलपुर नगरपालिकाकाे सर्वपक्षीय बैठकले गरेको हाे ।
बन्द गर्ने निर्णयका कारण आइतबार बिहानदेखि नै कोहलपुर सुनसान रहेको छ । अधिकांश पसल व्यवसाय र यातायात बन्द रहेका छन् । प्रहरीसँगै नगरप्रमुख रावत आफैँ सडकमा निस्केर बन्द नगरेकाहरूसँग बन्द गर्न आग्रह गरिरहनुभएको छ ।
कोहलपुर नगरपालिकाका प्रवक्ता माधवप्रसाद रिजालले बैठकमा सहभागी सबैले सङ्क्रमण रोक्नका लागि कोहलपुरलाई बन्द गर्नुको विकल्प नरहेको सुझाव दिएपछि नगरपालिकाले याे निर्णय गरेको बताउनुभयो ।
कोहलपुर नगरपालिकाद्वारा जारी गरिएको सूचनामा कोहलपुरको नगरपालिका कार्यालय, नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालयहरू, वडा कार्यालय, बैङ्क तथा वित्तीय संस्था, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, होटल व्यवसाय, अन्य व्यापार व्यवसाय, उद्योग कलकारखाना, हाटबजार तथा यातायात आइतबारदेखि भदौ ५ गते शुक्रबार राति १२ बजेसम्म पुर्णरुपमा बन्द गर्ने जानकारी गराइएको छ ।
यसअघि कोरोना सङ्क्रमणको दर उच्च देखिएपछि जिल्ला प्रशासन कार्यालय, बाँकेले जिल्लाभर दुई साता लामो निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा शनिबारदेखि हटाइए पनि कोहलपुर नगरपालिकाले भने कोहलपुर नगर क्षेत्रलाई आइतबारदेखि छ दिन बन्द गर्ने निर्णय गरेको हाे ।